इन्स्पेक्टरबाटै कुटिए अख्तियारका कर्मचारी

इलाका प्रहरी कार्यालय इटहरीका एक इन्स्पेक्टरले प्रहरी कार्यालय परिसरमै बिहीबार साँझ अख्तियारका एक कर्मचारीलार्इ निर्घात कुटपिट गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीका कर्मचारी सुरेश मोक्तानलाई कुटपिट गर्ने इलका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर कुन्दन देबलार्इ घटना लगत्तै प्रहरीले पक्राउ गरेको छ ।

उनलाई पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको टोलीले पक्राउ गरी हिरासतमा लिएको हो । बिहीबार साँझ इलाका प्रहरी कार्यालयको गोलघरमा बसेर आफन्त पर्खिरहेका मोक्तानलाई इन्स्पेक्टर देवले गुण्डाको शैलीमा कुटपिट गरी घाइते बनाएका थिए ।
आफन्त कुरिरहेका बेला इन्स्पेक्टर देवले ‘तँ प्रहरी कार्यालय अगाडि बस्ने को होस्’ भन्दै गालीगलौज गरेर कुटपिट गरेका थिए । मोक्तानले आाफू अख्तियारको कर्मचारी भएको बताएपछि एक्कसी कुटपिट गरेको बताए ।
इन्स्पेक्टर कुटपिटबाट मोक्तानको मुख, र घाँटीमा गम्भीर चोट लागेको अख्तियारका क्षेत्रिय प्रमुख डुल्लुराज बस्नेतले बताए । घटनापछि मोक्तानले देवविरुद्ध क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा उजुरी दिएका छन् ।
मोक्तानको उजुरीपछि इन्स्पेक्टर देवलाई पक्राउ गरी हिरासतमा लिइएको छ ।