आफ्नो सन्तानको भावना ‘किन’ र ‘कसरी’ बुझ्नुपर्छ ?

मेरो छोरी तीन वर्षकी छँदा एक दिन एक्लै कोठामा बसेर कसैसँग कुरा गरिरहेकी थिइन् । म अफिसबाट फर्केको थिएँ र चुपचाप उनको कुरा सुन्न थालें । उनी आफ्नो दुईवटा काल्पनिक साथीसँग खेलिरहेकी थिइन् । यो मेरो लागि आश्चर्यजनक कुरो थियो । उनले यसरी खेल्ने कसरी सोचिहोलिन् ?
यस्तो आफ्नै छोरीसँग मात्र नभई प्राय: सबै केटाकेटीहरूसँग हुने गर्दछ । केटाकेटीहरूको अन्तर्मन धेरै कोमल र विचित्र हुन्छ । केटाकेटीहरू विद्यालय पुगेर आफ्ना साथीहरूबारे के सोच्छन् ? आफ्नो शिक्षकलाई हेर्ने उनीहरूको दृष्टिकोण कस्तो हुन्छ ? हामीले हप्काउँदा त्यसको असर उनीहरूमाथि कस्तो र कति बेरसम्म रहन्छ ? केटाकेटीहरूको यस्ता भावना हामीलाई थाहा भए कति राम्रो हुने थियो ?
parentingप्रत्येक अभिभावक मनोचिकित्सक वा मनोविज्ञानको ज्ञाता होस्, सम्भव छैन । यहाँनिर के प्रश्न उठ्छ भने हामीले आफ्नो सन्तानको भावना ‘किन’ र ‘कसरी’ बुझ्नुपर्छ ? पहिलो प्रश्न हो ‘किन’ बुझ्नुपर्छ ? यस प्रश्नको जवाफमा म के भन्न चाहन्छु भने जसरी हरेक केटाकेटीको शारीरिक बनोट फरक छ, त्यस्तै उनीहरूको भावना पनि एक अर्कासँग फरक हुन्छ र त्यसलाई उसको आमाबुवाभन्दा बढी राम्ररी अरू कसैले बुझ्न सक्दैन । यस कारण जसैजसै तपाईं आफ्नो सन्तानको भावना बुझ्दै जानुहुन्छ उनीहरूको पालनपोषण तपाईंका लागि सरल हुँदै जान्छ । यो न कुनै प्राविधिक विषय हो, न बढी समय व्यतीत हुने जटिल काम ।
अब दोस्रो प्रश्न छ ‘कसरी’ बुझ्ने ? यस सम्बन्धमा भएको एक शोधले के देखाएको छ भने केटाकेटीहरू अपरिचित व्यक्तिभन्दा परिचित व्यक्तितर्फ बढी आकर्षित हुन्छन् । ६ महिनाभन्दा बढी उमेरका केटाकेटीहरू आफ्नो हातमा रहेको कुनै पनि वस्तुलाई भुईंमा खसाल्न बढी रुचाउँछन् । धेरै माथिबाट कुनै वस्तु खसाल्दा झन् खुशी हुन्छन् । वास्तवमा उसले यसरी आफ्नो शक्ति प्रदर्शन गर्न खोजेको हुन्छ ।
केटाकेटीहरूको भावना बुझ्न शान्तचित्त भएर उनीहरूको गतिविधि र उनीहरूले गर्ने कुराकानीको अवलोकन गर्नुपर्छ । यसका लागि तपाईंले गरिराख्नु भएको काम केही बेरका लागि बन्द गर्नुपर्छ । यसरी अवलोकन गर्दा तपाईंले के भेट्टाउनु हुन्छ भने तपाईंको सन्तानमा खोजी गर्ने अनन्त सम्भावना लुकेको छ । उसले कसरी एउटा सादा कागजमा उसको मस्तिष्कमा उठिरहेको कल्पनाको तस्वीर कोर्छ, ऊ कसरी त्यसबाट विभिन्नथरीको खेल खेल्छ, उसले कहिल्यै त्यस कागजलाई चँगा बनाएर उडाउँछ त कहिल्यै त्यसलाई टिकट बनाएर कुनै किताबमा टाँस्छ । यही हो उसको भित्री संसार जसलाई उसले मात्र आफ्नो लागि प्रयोग गर्दछ ।
कहिल्यै तपाईंले उसलाई अरूसँग कुरा गरिरहेको ध्यानसँग सुन्नुहोस् । यसबाट तपाईंलाई उनीहरूको सोचबारे थाहा हुन्छ । यहाँ ध्यान दिनुपर्ने कुरो के हो भने यही कुरा अभिभावकहरूले त्यस बेला गर्छन् जुनबेला उनीहरूको सन्तान उनीहरूको भावनाविपरीत काम गर्न थाल्छ । यदि तपाई सानै उमेरदेखि उनीहरूको मन बुझ्न थाल्नुहुन्छ भने उनीहरूले तपाईंसँग कुरा लुकाउने कुरै आउँदैन । यस प्रकारको अवलोकनमा किचकिच गर्ने सम्भावना नै हुँदैन, किनभने तपाईं श्रोता वा दर्शक मात्र हुनुहुन्छ ।
चार वर्षको दिवाकर भन्ने केटोले एक दिन आफ्नो कलरको खाली बट्टालाई कम्प्युटर स्क्रीन बनायो र एउटा लामो बट्टालाई की–बोर्ड र आफ्नो साबुनको सानो बट्टा माउस बनाएर आफ्नो काल्पनिक कम्प्युटरसँग खेल्न थाल्यो र साथीहरूलाई पनि खेलायो । यो हाम्रो लागि बेकारको कुरो हुन सक्छ तर त्यस केटोको लागि त्यो पूर्ण कम्प्युटर थियो । त्यसलाई बेकारको कुरो भनेर उसको भावनालाई नकार्न सकिन्न ।
बालमनलाई बुझ्ने अर्को तरिका हो, ऊसँग कुरा गर्ने तर यहाँ ध्यान के राख्नुपर्छ भने यो कुरा एउटा ठूलो मानिस, आमाबुवा वा शिक्षककोजस्तो हुनुहुँदैन, किनभने तपाईं ऊभित्रको संसारलाई हेर्ने कोशिश गरिराख्नुभएको छ । यसको लागि स्वयं आफूलाई पनि सानो केटा वा केटी बनाएर मात्र हेर्न सकिन्छ । यद्यपि यो भन्न जति सजिलो छ, गर्न त्यतिकै गार्‍हो, तर असम्भव छैन । यसको सबैभन्दा सजिलो तरिका केटाकेटीको कुरा ध्यान दिएर सुन्नु र उसको भावना स्वीकार गर्नु हो ।
पाँच वर्षको उल्लासले आफ्नो मम्मीलाई साँझ साढे सात बजे भन्यो– “मम्मी, मलाई निद्रा आइरहेको छ ।” मम्मीले भनिन्–“तिमीलाई निद्रा कसरी आउँछ, तिमी दिउँसो त सुतेका थियौ ।” उल्लासले जवाफ फर्कायो–“मलाई बेस्सरी निद्रा लागेको छ ।” मम्मीले भनिन्–“होइन, तिमीले बहाना बनाइरहेका छौ ।” उल्लासले कराए भन्यो–“मलाई सुत्नुछ ।” मम्मीले पनि कराएरै भनिन्–“पर्दैन ।”
१० वर्षको प्रतीक र उसको मम्मीबीच भएको संवादको एउटा अर्को उदाहरण हेरौं । “प्रतीक, आऊ, खाना खाऊ ।” प्रतीक भन्छ–“अहिले भोक लागेको छैन ।” मम्मीले सोधिन्–“तिमीले के खाएका छौ र ? अलिकति दूध त खाएका थियौ ।” प्रतीकले भन्यो–“पेट भरेको छ ।” मम्मीले जिद्दी गरिन्–“खाना त खानैपर्छ ।”
केटाकेटीहरूको भावना नबुझी त्यसलाई अस्वीकार गरेर हामीले उनीहरूलाई झस्काउने वा जिस्काउने काम मात्र गर्छौ । यसरी हामी उनीहरूलाई आफ्नो भावनामाथि अविश्वास गर्न पनि सिकाउँछौं । “अहिले त यी केटाकेटी हुन् । यिनीहरूलाई के थाहा, कहिले खानुछ र कहिले सुत्नुछ” । हाम्रो सोचले उनीहरूलाई परिपक्व बन्ने मौका नै दिंदैन । हामीले प्रत्येक दिन उनीहरूको भावनालाई कुनै न कुनै रूपमा अस्वीकार गर्ने गरेका छौं तर यसलाई हामीले महसुस गर्दैनौं । हामी के गल्ती गरिरहेका छौं भन्ने कुरालाई पनि बुझ्ने प्रयास गर्दैनौं, किनभने केटाकेटीहरूलाई हामी आफ्नो सम्पत्ति ठान्छौंं । हामी के बुझ्छौं भने हाम्रै जस्तै भावना केटाकेटीहरूमा पनि हुनुपर्छ ।
केटाकटीहरूको भावना अस्वीकार गर्नुसाटो हामी “ठीक छ, तिमीलाई निद्रा आइरहेको छ वा बेटा, के तिमी सुत्न चाहन्छौं ? अथवा तिम्रो पेट भरेको छ भने पछि खानू ।” यस प्रकारको जवाफ दिएर हामी केटाकेटीहरूको विश्वास जित्न सक्छौं । साथै उत्पन्न हुने विवादबाट पनि उनीहरूलाई जोगाउन सक्छांै ।
यसको लागि अभ्यास आवश्यक छ । योगासन वा पढाइलेखाइको अभ्यास हैन, मात्र केटाकेटीहरूको कुरा केही बेर मौन बसेर सुन्ने अभ्यासको खाँचो छ । प्राय: के देखिएको छ भने जुन केटाकेटीको भावनाको कदर गरिन्छ उनीहरू अरूको भावना बुझ्ने र आदर गर्ने गर्दछन् । कहिलेकाहीं केटाकेटीहरू यस्तो भावना व्यक्त गर्दछन्, जसलाई सुनेर रिसमाथि नियन्त्रण गर्न कठिन हुन्छ । जस्तै,“हजुरआमा, तपाईं हाम्रो घरबाट अहिल्यै निस्कनुस् ।” पाँच वर्षको सुकुमारले भन्यो । “मेरो टीचर त डायन हो”–७ वर्षकी रूमाले भनिन् ।
यस्ता कुरालाई सुनेर तपाईं आफ्नो अभ्यास बिर्सेर उनीहरूलाई हप्काउन शुरु गर्नुहुन्छ, तर यही कुरा त्यस केटा वा केटीले अरूलाई हैन पटक–पटक आफ्नो मनमा भनिरहन्छन् र यो नै उसको बानी बन्न जान्छ । यस समस्याको समाधान केटाकेटीहरूको अन्तर्मनलाई बुझ्ने प्रयासले मात्र सम्भव छ । “ठीक छ” जस्तो शब्द प्रयोगले उनीहरूको कुरा सुनिरहेको अनुभूति दिएर यसो भन्नु पछाडिको कारण खोज गरी सम्झाउँदा बेस हुनेछ । यदि केटाकेटीहरू ठूला छन् र यस्तो समस्या देखा पर्दछ भने हामीले आफ्नो व्यवहारमा पनि केही परिवर्तन ल्याउनु पर्नेहुन्छ ।
केटाकेटीहरूको भावना उमेर र कक्षासँगै परिवर्तन पनि हुने गर्छ । कहिलेकाहीं परिस्थिति पनि यसको लागि जिम्मेवार हुन्छ । विनोद पोखरेलको पोखराबाट वीरगंज सरुवा हुँदा उनको छोरा रविको एडमिशन मेरो विद्यालयमा भयो । ऊ एक दिनमा धेरैपटक रुने गर्दथ्यो । कारण के थियो भने आफ्ना पुराना साथी, विद्यालय र घर बिर्सन सकेको थिएन । सरुवाको तनाव, नयाँ अफिस, नयाँ शहर र त्यसमाथि छोरोको व्यवहारलाई लिएर विनोद र विनोदकी पत्नी धेरै दिक्दार थिए । एकदुईपटक त रविले कुटाइ पनि खायो । कुटाइ खाएपछि उसले बोल्न र खान छोडयो । उसको बुवाले उसलाई मनोचिकित्सक कहाँ लिएर गए । मनोचिकित्सकबाट विनोदले यस समस्याको कारण ठाउँ परिवर्तन रहेको थाहा पाए । विनोद र विनोदकी पत्नीले रविसँग पुरानो विद्यालय, उसका साथी र घरको कुरा गर्न शुरु गरेपछि रवि पनि आमाबुवासँग खुल्न थाल्यो । मैलै पनि टिफिनको बेला वा छुट्टीको बेला ऊसँग कुरा गर्न थालें र उसलाई साथी बनाउन मदत गरें । यसरी विस्तारै रवि ठीक हुन थाल्या र सोही वर्षदेखि उसले परीक्षामा पनि राम्रो अड्ढ ल्याउन थाल्यो ।
आमाबुवाले सबैभन्दा पहिले सन्तानको स्वभाव र व्यक्तित्व बुझ्ने प्रयास गर्नुपर्छ । स्वयं बुझ्न नसकेपछि कुनै काउन्सिलर वा मनोचिकित्सकको सहायता लिनुपर्छ । अभिभावकहरूले के ध्यान दिनुपर्छ भने सन्तानलाई उनीहरूको व्यक्तित्व अनुरूप नै विकसित हुने वातावरण प्रदान गर्नुपर्छ, आफ्नो रोलमोडेल अनुरूप होइन । अझ ध्यान के राख्नुपर्छ भने उनीहरूमा देखा परेको समस्याको वास्तविक छानबीन गरी समाधान खोज्नुपर्छ किनभने कुनैकुनै केटाकेटी माग पूर्तिका लागि मात्र रुने नाटक गर्छन् ।
मेरा एकजना मित्रले भने म आफ्नी छोरीलाई गल्ती गर्नासाथ हप्काउँछु । मैले उनलाई सम्झाएँ– छोरीलाई सबैको अगाडि हप्काउँदा झन् रिसाउँछिन्, एक्लै कुरा बुझ्छिन् । मेरा मित्र यस तर्कबाट सहमत भए । केटाकेटी भएका कारण प्राय: हामीहरू उनीहरूको भावनामाथि धेरै ध्यान दिंदैनौं । उनीहरूका लागि गरिने निर्णयमा उनीहरूलाई सामेल गराउँदैनौं । उनीहरूले के अनुभव गर्लान् भन्ने कुराको बेवास्ता गर्छौं ।
पहिलेको तुलनामा आज हाम्रो सामाजिक–पारिवारिक परिवेशमा धेरै परिवर्तन भएको छ । यस परिवर्तनले गर्दा केटाकेटीहरू पनि भूतको तुलनामा कैयौं गुणा बढी मेधावी भएका छन् । आज अभिभावकहरू पनि जागरुक छन् तर पनि तीव्र गतिले विकसित भइरहेको मानसिक स्तर अभिभावकहरूका लागि चुनौतीको विषय बन्दै गएको छ । हामीले ‘चिल्लर पार्टी’ र ‘तारे जमीं पर’ जस्ता हिन्दी फिल्मको गीत ‘बहला दो–फुसला दो, बालोंको सहला दो, हम चुप हो जायेंगें’ वा ‘न जाने क्यूूँ सबको लगता है यही कि बच्चों का दर्द कोई दर्द ही नहीं’ वा ‘मैं कभी बतलाता नहीं, पर अंधेरे से डरता हूँ मैं माँ ।”लाई यदि आफ्नो सन्तानको मनसँग जोडेर हेर्ने हो भने उनीहरूको मन र उत्पन्न हुने समस्याको उपचार कसरी गर्ने भन्ने कुरा सजिलै थाहा हुन्छ ।
– अनन्तकुमार लाल दास