आप्रवासीको योगदानले राष्ट्र विकसित हुन्छ भन्ने कुरा मेरो पार्टीले बुझेको छ- बेल्जियन निर्वाचनमा नेपाली महिला उम्मेदवार लीला शर्मा मानन्धर

Lila Sharma Manandharबेल्जियमको फ्लेमिश पार्टको दोश्रो ठूलो राजनैतिक दल क्रिश्चियन डिमोक्रेटिक पार्टी (CD&V) बाट आसन्न संसदीय निर्वाचनमा फ्लेमिश संसदमा उम्मेदवारी दिनु भएकी नेपाली मूलकी महिला उम्मेदवार श्रीमती लीला शर्मा मानन्धर बेल्जियमको अन्त्वेर्पेंन निर्वाचन क्षेत्रबाट निर्वाचन लड्दै हुनुहुन्छ| नेपालको डडेल्धुरा घर भई बिगत ८ बर्षदेखि बेल्जियममा बसोवास गर्दै आउनु भएकी मानन्धर बेल्जियमको राजनीतिमा चर्चित हुनुहुन्छ| उहाँ गत स्थानीय निर्वाचनमा समेत दुई ठाउँबाट निर्वाचनमा भाग लिई सम्मानित मत प्राप्त गरी पराजित हुनु भएको थियो| नेपाल ट्रेड  युनियन काँग्रेसको निर्वाचित केन्द्रिय सदस्यका साथै बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संगठनमा काम गरी थुप्रै अनुभव समेत बटुल्नु भएकी मानन्धर  Belgium Asia Forum(BAF), Athena International Open Leer Centrum Antwerpen को उपाध्यक्ष समेत हुनुहुन्छ| एनआरएनका हरेक क्रियाकलापमा संलग्न हुँदै सामाजिक रुपमा पनि उत्तिकै परिचित मानन्धर बेल्जियमको संसदीय निर्वाचन लड्ने पहिलो नेपाली महिला हुनुहुन्छ| निर्वाचनको साथै समसामयिक सन्दर्भमा पत्रकार दीपकज्योति पौडेल  सँग गरीएको कुराकानी:

– चुनाब जित्नु भयो भने नेपाली समुदायका लागि के गर्नु हुन्छ?

-चुनाव जितेँ भने सबभन्दा पहिले नेपाली नै धन्यबादका पात्र हुने छन्, साथै यसले नयाँ इतिहास कायम गर्ने छ  ।  सर्वप्रथम म  नेपालीका डाटा संकलन गर्नेछु , नेपालीहरू बेल्जियममा कुन स्थितिमा बस्दै आएका छन् र  तिनले भोगेको समस्याका सम्बन्धमा, नयाँ पिँढीको शिक्षाका सम्बन्धमा, रोजगारीका सम्बन्धमा, स्थाई बसोवासवाट बन्चित नेपालीका तथ्य डाटा संकलन तथा त्यसबाट बन्चित भएकाहरुका लागी कानुनी प्रकृयाको अध्ययन गरी मेरो क्षमताले भ्याएसम्म समस्या समाधानका लागी प्रयास गर्नेछु । तर यसको लागि म कुनै पनि कानूनी मर्यादा बाहिर रहेर कसैलाई पनि झुटो र भ्रमपूर्ण आश्वासन दिन चाहन्न| सबैका समस्यालाई सम्बन्धित निकायमा पुर्याउँदै नियमसंगत तरिकाले न्याय दिलाउनको लागि सधैँ अगाडि बढ्ने छु ।

नेपाली बोलेकै आधारमा नेपाल फिर्ता पठाउने भन्ने जुन कुरा सुन्नमा आएको छ यसको खोजि गरी साचो भएमा सम्वन्धित निकायमा कुरा राखी यसको अन्त गर्ने प्रयास गर्नेछु | साथै पारिवारिक मिलनको लागि रहेको हालको प्रक्रियालाई सकेसम्म छिटो छरितो र सरलीकरण गर्ने तर्फ पनि आफ्ना कुराहरु राख्नेछु |

Lila Sharma Manandhar candidate

 – चुनाबको प्रचारप्रसार कसरी गर्नु भएको छ?

– चुनाबी प्रचारका सम्बन्धमा मैले बिषेश गरि  विभिन्न आप्रबासी हितका लागि खडा भएका संघ-सँस्थाहरुसंघ भेटघाट र  अन्तरक्रिया अगाडि बढाएकी छु । साथ साथै बेल्जियमस्थित नेपाली संघ-सस्थाहरुसंग  पनि यसका सम्बन्धमा समन्वयन गर्दै आएकी छु l साथै पार्टीले चुनावका लागि तयार गरेको किर्याकलापमा सक्रिय सहभागिता जनाउँदै आएकी छु l पार्टीले बिभिन्न पर्चाहरु बनाई प्रचारप्रसार गरीरहेको छ भने बेल्जियमका बिभिन्न संचारमाध्यमले पनि हामीलाई राम्रो स्थान दिएका छन् |

-क्रिस्चियन डेमोक्रेटिक कस्तो राजनैतिक दल हो?

यो प्रजातन्त्रमा आस्था राख्ने ठूलो संसदिय दल हो l यसमा सबैलाई समान रुपले हेर्ने दृस्टीकोण छ र यो पार्टी  विभाजनको राजनीति भन्दा समायोजनका लागि प्रयासरत रहने पार्टीका रुपमा चिनिदै आएको छ l यस पार्टीले सधैँ दीर्घकालिन योजनामा प्राथमिकता दिएको बुझिन्छ l

” हाम्रो लागी प्रत्येक नागरिक उत्तिकै महत्वपूर्ण छ l प्रत्येक ब्यक्ति अद्वितीय छ र समाजमा आफ्नो अपूरणीय योगदान  प्रदान गर्दछ l  प्रत्येक व्यक्तिमा आफ्नो प्रतिभा र आफ्नै सीमितता छ। प्रत्येक मानव जाति सम्मानपूर्वक जिवनयापन गर्ने आधारभूत अधिकार राख्दछ l सोको रक्षा गर्न, जहाँ आवश्यक छ,  जहाँ सम्भव छ , मानबिय गरिमालाई उच्च राख्न्नु हाम्रो लक्ष्य हो l” यो नै पार्टीको मुख्य आदर्श हो|

– यो राजनैतिक दलको भविष्य कस्तो रहेको छ?

– कुनै एक क्षेत्रको लागि राजनीतिक गर्ने अतिवादी चरित्र नभएको पार्टी र  सबै किसिमका मानिस यस पार्टीमा अटाउन सक्ने भएकोले यस पार्टीको भबिश्य म राम्रो देख्दछु l

– आप्रवासीप्रति तपाइँको पार्टीको धारणा कस्तो छ?

– आप्रबासी बन्नु चाहना नभई बाध्यता हो , आफ्नो जाति, समुदाय , घर परिवार सबै छोडी अन्य मुलुकमा बस्दा अर्कै प्रकारको पिडा भोग्नु पर्ने बाध्यता हुन्छ तर आप्रवासी कुनै दोस्रो दर्जाका नागरिक होइनन् । उनीहरु पनि समाज विकास र देश बिकाशकालागि योगदान बराबर दिन सक्छन भन्ने पार्टीको धारणा रहेको छ | हामी बिच संसारमा धेरै यस्ता राष्ट्रहरु छन् जुन आज आप्रवासीका योगदानले गर्दा पूर्ण बिकसित राष्ट्रका रुपमा चिनिन्छन भन्ने कुरालाई पार्टीले बुझेको छ|

पार्टीले यस नीतिलाई अनुशरण गर्दै सबै क्षेत्र,  भाषा, धर्म र समुदायको  प्रतिनिधित्वलाई उच्च कदर गर्दै सो को लागी अवसर प्रदान गर्ने गरेको छ | बर्तमान संसदिय चुनावमा यस पार्टीबाट ठुलो संख्यामा आप्रबाशीहरुलाई उम्मेदवारीका लागी चयन गरिएको छ l यसले पनि यस पार्टीको आप्रवासी प्रतिको सम्मानलाई प्रष्ट पार्दछ|यस पार्टीले सधैँ आप्रवासीप्रति नरम नीति राख्दै बेला-बेलामा नयाँ नीति तर्जुमा गरेको सर्वबिधित छ l

– नेपालीहरुप्रति  यस पार्टीको मूल्याकंन  कस्तो छ ?

-नेपालीहरु थोरै संख्यामा भए पनि  संगठित छन् र आफ्नो अधिकारका साथै राजनीतिमा  पनि सचेत छन्  । यसका साथ साथै इमान्दार र लगनशिल नागरिकका रुपमा रहेको पार्टीमा मुल्यांकन रहेको छ l

– स्थानीय निर्वाचनमा पराजित भएपछि पनि पुन संसदीय चुनाबमा आशा राख्नु भयो?कतै महत्वाकांक्षी बन्नु भएको त होईन?

-बेल्जियममा बसोवास गरेको सात बर्षको अबधिमा करिब दुई वर्षदेखि म यस राजनैतिक दल निकट रहेर कार्य गर्ने मौका पाएँ| दुई बर्षको राजनैतिक अवधिमा पार्टीले मलाई गत स्थानीय निर्वाचनमा दुई /दुई ठाउँबाट उम्मेदवार बनायो | यो पार्टीभित्र मेरो योगदान र क्षमताका आधारमा नै संभव भए जस्तो लाग्छ| सम्मानित किसिमले पराजित हुनु परे पनि भोटका आधारमा  पार्टीमा ११ औँ स्थानमा थिएँ l यसको साथै  मेरो अन्य संघ-सस्थाहरुसंगको  संलग्नता र  मेरो नेतृत्वमा गठन भएको एसियालीहरुको  महासंघ लगायतका अन्य क्रियाकलापहरुको मूल्याकंनको आधारमा मलाई पुनः भ्लाम्स (प्रान्तीय) पार्लियामेन्टको सदस्यको रुपमा चयन गर्यो| यो नेपालीहरुप्रतिको सम्मान र गौरबको बिषय पनि हो|

फ्लेमिश प्रान्तीय सरकारका प्रधानमन्त्री क्रिस पेतर्ससँग लीला शर्मा । फ्लेमिश सँसदमा पेतर्स पार्टीको नायक उमेदवार हुन् ।
फ्लेमिश प्रान्तीय सरकारका प्रधानमन्त्री क्रिस पेतर्ससँग लीला शर्मा । फ्लेमिश सँसदमा पेतर्स पार्टीको नायक उमेदवार हुन् ।

– टिकट पाउन कत्तिको गाह्रो छ?

सर्व प्रथम त म आफूलाई राजनीतिज्ञ भन्दा सामाजिक कार्यकर्ता भन्न रुचाउँछु l चुनावका लागी टिकट पाउने सन्दर्भमा, मेरो अनुभवमा बेल्जियमको राष्ट्रिय पार्टीहरुका कुरा गर्दा हामीमा भएको योग्यता, दक्षता, नेतृत्व गर्ने क्षमताका साथै यहाँको समाजमा घुलमिल भै निस्वार्थ भावानाले सेवा गर्नेहरुलाई प्राथमिकता दिने गरेको मैले पाएँ| यदी कुनै ब्यक्तिसंग यी गुणहरु छन् भने हाम्रो मुलुकमा जस्तो नेताको घर र पार्टी कार्यालय धाउनु पर्दैन l

– स्थानीय चुनाबमा नेपालीहरुमा विभाजन देखिएको थियो नि?

-खै, तपाईलाई त्यस्तो लाग्यो होला तर  मैले त्यो महसुस गरिन,  किनभने मेरो दुइ क्षेत्रको उमेद्वारी मध्ये केवल अन्त्वेर्पेन प्रोभिंन्सीका लागि मात्र  प्राथमिकता दिएकी थिएँ l सो सम्बन्धमा हाम्रो  अर्को नेपाली उमेद्वारसंग अघोषित  समझदारी पनि थियो l

– अहिले पनि कतिपय नेपालीहरुले नेपालको राजनीतिसँग जोडेर हेर्ने गरेको देखिन्छ नि ।

हामी बेल्जियममा बस्छौँ । नेपालको राजनीतिक पार्टीको यहाको पार्टीसंग  कुनै सम्बन्ध छ जस्तो मलाई लाग्दैन l त्यसैले यहाँको राजनीतिलाई  नेपालको राजनीति संग जोडेर हेर्नु त्यति उपयुक्त होला जस्तो लाग्दैन । बरु हामीले यहाँको अनुभव  हाम्रो मुलुकमा अपनाउन सके शायद नेपालले राजनीतिले  निकास पाउन सक्थ्यो कि भन्ने लाग्छ|

– नेपाल बेल्जियमको राजनीतिमा के फरक पाउनु भो?

मैले यहाँको राजनीति बुझे अनुसार समाज र राष्ट्रहितका बिषय बस्तुहरुमा कुनै प्रकारको पार्टीगत राजनीति नगरी सकारात्मक कुरालाई चाहे जुनसुकै पार्टी भए पनि एकजुट हुने र कार्यन्वयन गर्न सबै प्रतिबद्ध हुने गरेको भएको पाएँ l जुनकुरा नेपालको राजनीतिमा मैले देखिन l

– नेपाली बाहेक अन्य देशका नागरिकसँग कस्तो आशा राख्नु भएको छ ?

– मेरो समस्या भन्नु  नै सबै बेल्जियममा बस्ने आप्रवासीहरुको समस्या  हो, त्यसैले  मैले उनीहरुको समस्यालाई नजिकबाट बुझ्न सक्छु l बेल्जियममा उच्च स्वाभिमान सहित जीवनयापन गर्न हामी बीचको एकताको जरुरत छ । सो  कुराको पुष्टी मेरो नेतृत्वमा स्थापना  भएको  एसियालीहरुको महासंघले पनि  गरेको छ l सोहि अभियान अन्तर्गत मेरो अन्य आप्रवासीहरुका संघ सस्थाहरुसंग पनि कार्यगत एकता बनेको छ l त्यसैले अन्य देशका आप्रबासीबाट पनि सहयोग पाउने आशा  गरेकी छु l

– निर्वाचन प्रणाली कस्तो किसिमको रहेको यस  सम्वन्धमा केहि जानकारी गराउनु हुन्छ कि |

५/५  बर्षमा ३ सदनको लागी हुने निर्वाचन अन्तर्गत फ्लेमिश संसदका लागी १२४ सिट,वाल्स संसदका लागी ७५ सिट, फेडरल संसदका लागी १५० सिट र युरोपियन संसदका लागी २१ सीटको लागी एकै पटक निर्वाचन हुँदैछ |

– अन्त्यमा केहि भन्नु छ की ?

– मेरो आफ्नो उम्मेदवारी बेल्जियममा बस्ने  नेपालीहरुको इज्जतसँग जोडेर  हेरेकी छु l यो केवल मेरो उम्मेदवारी नभई हामी सबैको लागि एउटा ठूलो अवसरको रुपमा मैले लिएकी छुl यो प्रत्येक नेपालीले आ-आफ्नो स्थानबाट समाजलाई गरेको योगदानको प्रतिफल पनि हो l

यस उम्मेदवारीलाई  मैले नेपाल र नेपालीलाई चिनाउने, समाजमा आफ्नो पहिचान स्थापित गर्ने र हामी आप्रबासी प्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्ने अभियानको रुपमा पनि लिएकी छु l

त्यसैले मेरो पक्षमा बढ्दै गएको यस चुनाबी माहोललाई अगाडि बढाउनको लागि बेल्जियममा बसोबास गर्ने नेपाली समुदायसामजिक संघ  सस्थाहरु, नेपाली  दाजुभाई तथा दिदीबहिनीहरु र पत्रकार मित्रहरुलाई  सहयोग सल्लाहका साथै एक्यबद्धताका लागि हार्दिक आह्वान गर्दछु|