आणविक हतियार : कोसँग कति?

Kim Jong Unउत्तर कोरियाको आणविक कार्यक्रमलाइ लिएर प्योंगयाङ्गका विरूद्ध नयाँ प्रतिबन्ध लगाउन संयुक्त राष्ट्र सँघमा मतदान हुने पूर्वसन्ध्यामा उत्तर कोरियाले अमेरिकामाथि नै आक्रमण गर्ने चर्को धम्की दिएको छ । उत्तर कोरियाले अर्को आणविक परीक्षण अमेरिकाको टाउको दुःखाइ बनेको छ ।

हालै मात्र उत्तर कोरियाले अर्को आणविक परीक्षण गर्‍यो, जुन अघिल्लाभन्दा बढी क्षमताको विश्लेषण गर्न थालिएको छ। त्यसको केही दिनपछि प्योङयाङले अमेरिकालाई मार हान्न सक्ने क्षमताको हतियार आफूसँग भएको दाबी गर्‍यो। उत्तरको पछिल्लो परीक्षणले ६ देखि ७ किलोटन विस्फोटक पदार्थ बोक्न सक्ने विश्वास गरिन्छ। यसअघि उसले गत जनवरी र डिसेम्बरमा समेत लामा दूरीका क्षेप्यास्त्र सफल परीक्षणसमेत गरिसकेको छ। 
डिसेम्बरमा गरेको परीक्षणलाई लिएर राष्ट्रसंघले उत्तर कोरियामाथि प्रतिबन्धको सीमा बढाउँदै त्यसलाई रोक्न आदेश दिएको थियो, तर उत्तरले भने आफ्नो कार्यक्रमलाई ‘वैधानिक’ भन्दै आएको छ। त्यसो त आधुनिक समयमा आणविक परीक्षण गर्ने उत्तर कोरिया एक्लो पात्र भने होइन। आणविक कार्यक्रमको विरोध गर्ने अमेरिका र बेलायतलगायतका पश्चिमा मुलुकसँग पनि आणविक हतियार नभएका होइनन्। उनीहरूको आणविक कार्यक्रम पनि उत्तरको भन्दा ‘कम गोप्य’ नभएको होइन।
शीतयुद्ध सकिएको दुई दशक बढी भइसकेको छ, तैपनि संसारमा आणविक वारहेड (क्षेप्यास्त्र) को संख्या करिब उस्तै छ, १७ हजारभन्दा बढी। यीमध्ये ४३ सय वारहेड त ‘सक्रिय’ अवस्थामा छन्। अमेरिका र रसियाका १८ सय वारहेड निकै संवेदनशील अवस्थामा छन्, यानि ‘सानो आदेशमै प्रक्षेपण हुने अवस्थामा’। शीतयुद्धताका तुलनामा अमेरिका, रसिया, फ्रान्स र बेलायतले आणविक हतियारलाई कम मह140व दिए पनि धेरै मुलुकले यो दिशामा निरन्तर अनुसन्धान र परीक्षण गरिरहेका छन्।
कुन मुलुकसँग कति क्षमताको कुन हतियार छ? भन्ने कुरा राष्ट्रिय गोप्यताको मुद्दा हो तथापि धेरैले सार्वजनिकसमेत गरेका छन्। केहीको आँकडा चुहिने पनि गर्छ। यसैका आधारमा एफएएसले विभिन्न मुलुकसँग भएका आणविक हतियारको संख्याबारे प्रतिवेदन सार्वजनिक गर्दै आएको छ। हाल अमेरिकी तथ्यांकलाई ‘सबैभन्दा पारदर्शी’ र उत्तर कोरियाको तथ्यांकलाई ‘सबैभन्दा अपारदर्शी’ मानिन्छ।
सन् १९४५ मा स्थापना भएको निकै गोप्य म्यानहटन परियोजनाको एउटा अंशका रूपमा आणविक वैज्ञानिकहरूले बुलेटिन प्रकाशन गर्दै आएका छन्, जसमा विश्वको आणविक उद्योगबारे जानकारी दिइन्छ। ‘वर्ल्ड न्युक्लियर विपन स्टकपाइल्स’ को सन् २०१२ को प्रतिवेदनअनुसार संसारमा सबैभन्दा बढी रसियासँग साढे आठ हजार आणविक हतियार छन्। त्यसपछि अमेरिकासँग सात हजार सात सय, फ्रान्ससँग तीन सय, चीनसँग दुई सय ४०, बेलायतसँग दुई सय २५, पाकिस्तानसँग ९० देखि एक सय १०, भारतसँग ८० देखि एक सय, इजरायलसँग ६० देखि ८० र उत्तर कोरियासँग १० भन्दा कम आणविक हतियार छन्। तर ‘आणविक हतियार कार्यक्रम सञ्चालन गरेको’ भन्दै निकै आलोचित हुनुपरेको इरानको नाम भने यो सूचीमा राखिएको छैन। तसर्थ, उसँग अझै पनि आणविक हतियार नभएको यो क्षेत्रका विश्लेषकहरूको कथन छ। यो हिसाबमा हाल १७ हजार तीन सय आणविक हतियार विश्वभर छरिएर रहेका छन्।
तथापि चीन, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरियाको विश्वसनीय जानकारी सार्वजनिक भइसकेको छैन। संसारमा हाल चार हजार चार सयमध्ये दुई हजार हतियार ‘उच्च सतर्कता’ का साथ राखिएका छन्। राष्ट्रसंघीय सुरक्षा परिषद्का पाँच सदस्य मुलुकमध्ये अमेरिका र रसिया आणविक हतियारमा अन्यभन्दा निकै अगाडि छन्।
सन् १९८६ मा ४५ हजार वारहेड रहेको रसियाको सैन्य भण्डारमा हाल सात हजार तीन सय ५० छन्, जसमा चार हजार ६ सय ५० ‘सक्रिय’ छन्। अमेरिकासँग सन् १९६७ मा ३१ हजार दुई सय ५५ क्षेप्यास्त्र थिए। अहिले उसँग दुई हजार एक सय ५० सक्रिय क्षेप्यास्त्र छन्। आणविक हतियार भएका नौ मुलुक र बाँकी एक सय ८५ वटा मुलुकले आणविक हतियार प्रबर्द्धन नगर्ने सन्धिमा हस्ताक्षर गरेका छन्, जसको उद्देश्य आणविक हतियार र यसको प्रविधि फैलन नदिनु हो। तर भारत, इजरायल र पाकिस्तानले भने यो सन्धिमा हस्ताक्षर गरेका छैनन्।
सन् २००६ को अक्टोबरमा उत्तर कोरिया संसारको आठौं आणविक शक्ति बनेको थियो। त्यसो त उनको यो सपना आधा शताब्दी पुरानो हो। कोरिया युद्ध सकिएको केही वर्षपछि नै किमइल सुङले प्योङयाङलाई आणविक हतियार सम्पन्न बनाउने प्रयास गरेका थिए।
सबैभन्दा शक्तिशाली बम
संसारकै सबैभन्दा ठूलो आणविक बम ‘जार’ थियो, जसलाई रसियालीले ‘कुजकिना म्याट’ नाम दिएका थिए, जसको अर्थ ‘हामी तिमीलाई देखाउनेछौं’ हो। ५० हजार किलोटनको यो बम इतिहासकै सबैभन्दा शक्तिशाली मानवनिर्मित वस्तु थियो। यसमा तारापुञ्जको केन्द्रमा जति शक्ति सिर्जना गर्ने क्षमता थियो। यस्तै प्रविधिको प्रकृतिको सूर्यको गर्भजत्रो बम बनाउने हो भने यो बमले एक करोड वर्षसम्म सूर्यको जस्तै ऊर्जा दिनेछ। यो बम पृथ्वीको सतहमा विस्फोट हुने हो भने यसले पैदा गर्ने ‘मसरुम’ (आणविक विस्फोट हुँदा बन्ने च्याउ आकारको आकृति) सर्वोच्च शिखर सगरमाथाको उचाइभन्दा आठ गुणा अग्लो हुनेछ।
अमेरिकाले दोस्रो विश्वयुद्धमा जापानमा विस्फोट गराएको ‘लिटिल ब्वाइ’ र ‘फ्याट म्यान’ को प्रभाव अझैसम्म पनि त्यहाँ देख्न सकिन्छ। तर ‘जार’ बमको प्रभावको तुलनामा यो निकै कम थियो। ‘जार’ बमले निकाल्ने शक्ति ‘लिटिल ब्वाइ’ र ‘फ्याट म्यान’ ले संयुक्त रूपमा निकाल्ने ऊर्जाभन्दा १४ हजार गुणा बढी हुन्छ। जार बमलाई समुद्रमा डिस्फोज गराउँदा त्यसले ५ माइल ब्यासको आगो निकालेको थियो, जुन पानीको सतहभन्दा ६ माइल माथि उठेको थियो। यसले ५ सय ६० माइल टाढासम्मका झ्यालका सिसा फुटाएको थियो।
केका लागि आणविक हतियार?
विश्व इतिहासमा हालसम्म एउटै युद्धमा मात्र आणविक हतियारको प्रयोग भएको छ, जुन दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानविरुद्ध गरेको थियो। त्यसैले, युद्धमा प्रयोग गर्नकै लागि हतियारको विकास गरिएको हो भन्न मिल्दैन। उसो भए आणविक हतियारप्रति मुलुकहरूको यति झुकाव किन त? खासमा आणविक हतियार हालसम्म विरोधी र शत्रु मुलुकलाई तर्साउनलाई मात्र प्रयोग भइरहेको छ। तर यो सोचमा परिवर्तन नहोला भन्न सकिन्न।
सन् १९४५ मा गरिएको विस्फोटपछि जापानी भाषामा नयाँ शब्दको विकास भएको थियो, ‘हिबाकुशा’ जसलाई ‘अणु बमपीडित र तिनीहरूबाट जन्मने बालबालिका’ लाई प्रयोग गर्न गरिन्छ। हालसम्म तीन लाख ‘हिबाकुशा’ सरकारी सूचीमा छन्। तिनीहरू सबैले निःशुल्क स्वास्थ्य उपचार पाउँछन्, तैपनि उनीहरूसँगको विवाहलाई अझै पनि जापानी समाजले सामान्य मान्दैन।
‘न्युक्लियर एज पिस फाउन्डेसन’ का डेविड क्रेगर भन्छन्, ‘एउटा बमले एउटा सहरलाई विनाश गर्नसक्छ। केही बमले पूरै मुलुकलाई र केही दर्जनले सभ्यतालाई उडाउन सक्छ।’ यदि कुनै त्रुटि वा कसैले चिताएरै आणविक युद्ध छेडिने हो भने विजयी घोषित हुन यो पृथ्वीमा कोही बाँकी हुने छैन। सबै सखाप हुनेछ। त्यति मात्र होइन, यसले बाहिरी अन्तरिक्षलाई समेत प्रभाव पार्न सक्ने अनुमान छ।