आठ हजार डलरमा बेचिइन् चेली

nepali maidइराकमा आठ हजार डलरमा बेचिएकी एक चेली ज्यान बचाएर तीन महिनापछि नेपाल फर्किएकी छिन् । महिनाको एक लाख तलब पाउने लोभमा इराकमा पुगेकी संखुवासभा घर भएकी तारा राई -नाम परिवर्तन)लाई मेनपावर कम्पनीकै मिलेमतोमा बेचिएको खुलेको छ ।
लेबनान पठाउने नाममा राईलाई इराकमा पुर्‍याई बिक्री गरेर यौनशोषण गरिएको हो । प्रहरीका अनुसार विभिन्न कागजपत्र बनाई उनलाई इराक पठाइएको थियो । त्यहाँ अन्तर्राष्ट्रिय गिरोहसँगको मिलेमतोमा बिक्री भएपछि कोठामा बन्धक बनाई उनीमाथि यौनशोषण तथा कुटपिट भएको थियो । यातना सहन नसकी एक फिलिपिनी महिलाको सहयोगमा उनी त्यहाँबाट भागेर नेपालीको सहयोगमा १६ चैतमा काठमाडौं फर्किएकी हुन् ।
प्रहरीले मानव तस्करीमा संलग्न १० जनालाई पक्राउ गरेको छ । उनीहरूले विदेशी एजेन्टसमेतको मिलेमतोमा नेपाली महिलालाई झुक्याएर इराक पुर्‍याई बिक्री गर्दै आएको प्रहरीले जनाएको छ । इराक पुगेर फर्किएकी राईको जाहेरीका आधारमा प्रहरीले १० जनालाई पक्राउ गरेको हो । घटनामा बसुन्धारास्थित सत्यम् इन्टरनेसनल सर्भिस मेनपावरको संलग्नता देखिएको छ । सो मेनपावरका सञ्चालक वासुदेव अधिकारी फरार भएका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाले रोजगारीको प्रलोभनमा इराक पुर्‍याई बिक्री गर्ने फुलकुमारी महरासहितलाई पक्राउ गरेको हो । पक्राउ पर्ने अन्यमा संखुवासभाकी दिलु भन्ने रामकुमार राई, काभ्रेकी भुइसल लामा, खोटाङका अधिराज राई, धादिङका हरि तामाङ, भोजपुरका कामी शेर्पा, डोमा शेर्पा, काठमाडौंका सोनम लामा, दोलखाकी आङलम्बु शेर्पा तथा ललितपुरका विक्रमराज श्रेष्ठ छन् । मानव तस्करी तथा बिक्रीमा मेनपावरका प्रोपाइटर अधिकारी र रोल्पा घर भएकी महराको प्रमुख संलग्नता रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बौद्धको एक रेस्टुरेन्टमा भेटी महराले पीडित राईलाई लेबनानको एक ठूलो कम्पनीमा मार्केटिङको काम लगाउने आश्वासन दिएकी थिइन् । महिनाको आठ सय अमेरिकी डलर तलब हुने तथा ओभरटाइमबापत प्रतिघन्टा १३ डलर हुने आश्वासन उनलाई दिइएको थियो । उनलाई विश्वास दिलाउन महराले लेबनानको कम्पनीको कार्डसमेत बनाइदिएकी थिइन् ।
लेबनानमा आकर्षक जागिरको प्रलोभनमा राई २६ पुसमा उडेकी थिइन् । त्यहाँ मोहम्मद भन्ने हिन्दीभाषीले इराकमा पुर्‍याई सुनन भन्ने बंगलादेशी जाँजा भन्ने व्यक्तिको जिम्मा लगाएको प्रहरीले जनाएको छ । ‘उनीहरूले नै आठ हजार डलरमा बिक्री गरेको अनुसन्धानमा खुलेको छ,’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता डिएसपी सुरेन्द्र मैनालीले भने ।
आफू बेचिएको थाहा पाएपछि राईले झगडा गरेकी थिइन् । तर, उनलाई तीन महिनासम्म कोठामा थुनेर शोषण गरिएको थियो । स्थानीय नेपालीमार्फत नेपालमा रहेका दाइ कृष्ण राईलाई भनेर स्थानीय एजेन्टलाई प्रलोभनमा पारी उनी नेपाल र्फकन सफल भएको प्रहरीले जनाएको छ ।
त्यसभन्दा अघि र पछि पनि सो गिरोहले धेरै नेपाली महिलालाई लेबनान र किर्किस्तान पठाउने भन्दै इराक पुर्‍याएर बिक्री गर्दै आएको अपराध महाशाखाले जनाएको छ । मुख्य अभियुक्त महराले यस्तो अवैध धन्दाबाट करोडौँ कमाएको र आफूविरुद्ध प्रहरीले अनुसन्धान थालेपछि आफ्नो घरजग्गा डोमा शेर्पाको नाममा नामसारी गरिदिएकी थिइन् ।
सोही समूहले २२ चैतमा चार नेपाली युवतीलाई लेबनान भन्दै इराकमा पठाएर बिक्री गर्न खोज्दा प्रहरीले विमानस्थलबाटै रोकेको थियो । त्यसपछि मुख्य अभियुक्त महराले अन्यलाई पठाउन लागिएका टिकट रद्द गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । पक्राउ परेका व्यक्तिलाई संगठित अपराध ऐनअन्तर्गत कारबाही गरिने महाशाखाका डिएसपी मैनालीले बताए । घटनामा संलग्न मेनपावर सञ्चालक अधिकारीसहित सिन्धुलीका विनोद मोक्तानलगायत व्यक्ति फरार छन् ।
प्रहरी अनुसन्धानमा नेपाली महिलालाई इराक पुर्‍याएर चारदेखि १२ हजार अमेरिकी डलरसम्ममा बिक्री गर्ने गरेको खुलेको छ । सो गिरोहले लेबनानमा महिला कामदार पठाउन वैधानिक भएकाले लेबनान भनेर पठाई इराक पुर्‍याएर बिक्री गर्ने गरेको हो । गिरोहका सदस्यहरू दुबई, लेबनान र इराकमा समेत रहेको प्रहरीले जनाएको छ । बिक्री गरेको पैसा नेपालका दलाल तथा मेनपावर कम्पनीले लिँदै आएका थिए । एक सातामै २० जनाभन्दा धेरैलाई लेबनानमार्फत इराकमा पठाउन खोज्नुले पनि सो समूहले सयौँ नेपाली युवतीलाई इराकमा पुर्‍याएर बिक्री गरेको प्रहरीको अनुमान छ । बिक्री हुने महिलालाई उनीहरूले तलबसमेत नदिने गरेको तथा नेपाल र्फकन खोज्दा पासपोर्ट खोस्ने गरेको प्रहरीले जनाएको छ ।
नयाँ पत्रिका