आक्रमणकारी खोज्ने क्रममा पेरिसमा भिडन्त

गत शुक्रबार फ्रान्सको राजधानी पेरिसमा भएको सो हमलामा परी १२९ जनाको ज्यान गएको थियो । उक्त आतङ्ककारी हमलामा संलग्नहरूको खोजीलाई पेरिसको प्रहरीले तीव्रता दिएको छ ।

बुधबार पनि बिहान हुनु अगावै प्रहरीले उत्तरी पेरिसको सेण्ट डेनिसमा सो खोजी सुरु गरेको थियो । प्रहरीले उक्त क्षेत्रमा घेरा हालेर ती व्यक्तिको खोजी थालेको थियो ।

सो घेरा हालिएको क्षेत्रमा प्रहरीमाथि बन्दुक हमला भएको बताइएको छ । त्यस क्रममा कैयौँ प्रहरी घाइते भएको भएपनि घटनाको विस्तृत विवरण भने दिइएको छैन ।

उक्त क्षेत्रमा रहेको एक अपार्टमेण्टमा अहिले पनि कैयौँ अज्ञात व्यक्ति छिपेर रहेका प्रहरीले जनाएको छ । उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले गरेको प्रयास बुधबारको बिहानीपखसम्म पनि सफल हुन सकिरहेको छैन ।

उक्त क्षेत्र गत शुक्रबार राति आतङ्ककारीले हमला गरेका कैयौँ क्षेत्रमध्येको एक हो । सो क्षेत्रमा अहिले पनि आतङ्ककारी हमलामा संलग्न व्यक्ति तथा प्रमाणहरू रहेको अनुमानको आधारमा प्रहरीले सो क्षेत्रलाई नै निगरानीमा राखेको छ ।

प्रहरीले ती हमलाकारीलाई खोजी गर्ने क्रममा नयाँ नयाँ तथ्यहरू फेलापारेको जनाएको छ । त्यसैगरी सो हमलामा पनि नयाँ व्यक्तिहरू पाइएको बताएको छ ।

सुरक्षाको कारणले गर्दा यस विषयमा थप समाचार भने दिएको छैन । प्रहरीले खोजी अभियानलाई निरन्तरता दिएको बताइएको छ ।

फ्रान्सको राजधानी पेरिसमा गत शुक्रबार राति भएको आतङ्कवादी हमलाको योजना बेल्जियममा बसेर गराइएको रहस्य खुलेको फ्रान्सेली प्रहरीले यस अघिकै समाचारमा जनाएको थियो । त्यस्तै विदेशी भूमिमा आतङ्ककारीले योजना बनाएको बताइएको छ ।

बेल्जियमका सञ्चार माध्यमहरूले फ्रान्सका गृह मन्त्रीलाई उद्धृत गर्दै दिएको समाचार अनुसार सो हमलाको योजना निर्माणको केही काम बेल्जियममा बसेर गरिएको खुलेको हो ।

बेल्जियमको मेलान्बिक जिल्लामा सो योजना बनाइएको र त्यस जिल्लामा प्राप्त पछिल्लो तथ्याङ्कबाट आक्रमणकारीमध्येका दुई जना त्यहाँ बस्ने गरेका खुलेको हो ।

सो आक्रमणमा संलग्न आठ जनामध्ये दुई जना फ्रान्सकै नागरिक रहेका र ती दुई जना विगत लामो समयदेखि नै सो जिल्लामा बस्दै आएका पाइएको प्रहरी अनुसन्धानको पछिल्लो प्रतिवेदनमा देखिएको छ ।

शुक्रबारको सो आक्रमणमा उक्त अतिवादी समूहको हात रहेको जानकारी फ्रान्सेली राष्ट्रपति फासाँ अल्याण्डले नै सार्वजनिक गर्नुभएको हो ।

शुक्रबार भएका शृङ्खलाबद्ध यी आतङ्ककारी हमलाहरूमा परी कम्तीमा पनि १२९ जनाको ज्यान गइसकेको छ भने अरु ३४९ जना घाइते भएका छन् ।

विदेशी भूमिबाट आएका आठजना आतङ्ककारी सो आक्रमणमा प्रत्यक्ष संलग्न देखिएको फ्रान्सेली सुरक्षा निकायले निष्कर्ष निकालेको बताइएको छ ।

फ्रान्सेली सुरक्षा निकायले इस्लामिक लडाकूको संलग्नताका प्रमाणहरू भेटेको जनाएको छ । फ्रान्सेली सुरक्षा निकायले आक्रमणमा संलग्न छ जना मारिएको पनि जनाएको छ । रासस÷सिन्ह्वा