अस्ट्रेलियामा फेसनमाण्डु

नेपाली सुन्दरी प्रतियोगिता र फेसन शो अब नेपालमा मात्र सीमित रहेन। यस्तो प्रतियोगिता र शो विदेशमा पनि हुन थालेको छ। अमेरिकामा त्यहाँ रहेका नेपाली युवतीबीच मिस नेपाल यूएस हुन लागिरहेका बेला अस्ट्रेलियामा फेसन शो हुन लागेको छ।
के गरिरा डट कमले स्मार्ट राइनो ग्रुप कम्युनिटी अवाडर््स २०१५ का साथमा अस्ट्रेलियामा फेसनमान्डु २०१५ फेसन शो गर्न लागेको हो। यो फेसन शोमा नेपालका फेसन डिजाइनर विश्व गौतम र पूर्वमिस नेपाल सृष्टी श्रेष्ठ सहभागी हुँदै छन्। आगामी अगष्ट २९ तारिकमा हुने शोका लागि विश्व र सृष्टी भोलि आइतबार त्यसतर्फ जाँदै छन्।
Nepal-Fashion‘फेसन शो अस्ट्रेलियामा भए पनि काठमाण्डुमय हुनेछ’, फेसन डिजाइनर गौतमले  भने– ‘नेपालीको फेसन डिजाइनमा अन्तर्राष्ट्रिय मोडलहरू र्याम्पमा उत्रनेछन्। फेसनमाण्डुमा विभिन्न जातीय संस्कृतिका मोडेल र डिजाइनर हुनेछन्।’

आयोजकका अनुसार नेपालको संस्कृतिलाई अन्तर्राष्ट्रिय स्थानमा चिनाउनका लागि यो शो हुन लागेको हो। अस्ट्रेलिया, अफ्रिका, कोरिया, फिलिपिन्सलगायत विभिन्न देशबाट १४ जना मोडल सहभागी हुने शोमा उत्कृष्ट मोडललाई राइनो ग्रुप कम्युनिटी अवाडर््स २०१५ प्रदान गरिने आयोजकले जनाएका छन्।