अल्पसङ्ख्यक छन्त्याल महिला संविधानसभामा

छपन्न वर्षीया ज्ञानकुमारी छन्त्यालको मन अहिले खुसीले गदगद भएको छ । आफन्त, इष्टमित्र र शुभेच्छुकहरुको बधाई र शुभकामना ग्रहण गर्दैमा उहाँ व्यस्त हुनुहुन्छ । जीवनमा सायदै, सोचेको सपना आज पूरा भएको छ, उहाँका लागि । बागलुङको विकट खुङ्खानी गाविस–२ को एउटा सामान्य किसान परिवारमा जन्मनुभएकी छन्त्यालको सङ्घर्षपूर्ण जीवनयात्राले ऐतिहासिक संविधानसभाको बाटो तय गरेको छ ।

विसं २०१४ भदौ १५ गते आमा देउकी छन्त्यालको कोखबाट जन्मनुभएकी छन्त्यालको ५६ वर्षको उमेर खेतीकिसानी, व्यवसाय, समाजसेवा र राजनीतिबाटै गुज्रेको छ । संविधानसभा निर्वाचन २०७० मा बागलुङको क्षेत्र नं ३ बाट विजयी बन्न सफल छन्त्याल २०३६ सालदेखि काँग्रेसको राजनीतिमा समाहित हुनुभएको हो । “मैले विसं २०३६ देखि नै राजनीति सुरु गरेकी हुँ, त्यसबेला निर्दल र बहुदल भन्ने थियो” छन्त्यालले भन्नुभयो, “मैले बहुदलमा भोट हाले र त्यसबेला नै मैले लुकीलुकी काँग्रेसको सदस्यता लिएकी थिएँ ।”

baglung_districtपञ्चायती व्यवस्थाको जर्जर अवस्थामा छन्त्यालले बहुदलको पक्षमा उभिएर आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको हो । पछिल्लो समय नेपाली काँग्रेसको महासमिति सदस्य र जिल्ला सदस्यलगायत पार्टीका विभिन्न सङ्गठनमा आबद्ध भएर क्रियाशील हुनुभएकी छन्त्याल सामाजिक व्यक्तित्वका रुपमा परिचित पनि हुनुहुन्छ । तुलनात्मक रुपमा जिल्लाको विकट ३ नं क्षेत्रमा लामो समय बसेर राजनीति र समाजसेवामा तल्लिन उहाँ सहयोगी नेत्रीकी रुपमा गाउँलेमाझ चिनिनुहुन्छ ।

विसं २०३९ देखि बुर्तिवाङ बजारमा होटल व्यवसायी भएरसमेत काम गर्नुभएकी छन्त्याल र उहाँको परिवारले त्यस क्षेत्रमा लामो समयसम्म व्यवसाय पनि सञ्चालन गरेको थियो । “हामीले बुर्तिवाङमा होटल पनि चलायौँ, भाँडा पसल पनि थियो, कपडा पसल पनि गर्यौँ” छन्त्यालले भन्नुभयो, “दुई वर्षसम्म त खच्चर पनि पालेँ ।” व्यावसायिक परिचय बनाउनुभएकी छन्त्याल राजनीतिमा पनि उत्तिकै क्रियाशील रहनुभयो । सङ्कटकालपछि विसं २०५९ मा सदरमुकाम बागलुङ बजारमा झरेका छन्त्याल परिवारले अहिले पनि सदरमुकाममै होटल व्यवसाय चलाएर बसेको छ । विसं २०४६ को राजनीतिक परिवर्तनपछि छन्त्याल राजनीतिमा थप क्रियाशील भएर लाग्नुभयो ।

उहाँले विसं २०५१ मा जिल्ला विकास समितिको १२ नं इलाका सदस्यसमेत भएर काम गर्नुभयो । १५ वर्षसम्म बुर्तिवाङ गाविसको महिला सङ्घको गाउँ सभापति भएरसमेत उहाँले काम गर्नुभएको छ । नेपाली काँग्रेसका दशौँ महाधिवेशनमा प्रतिनिधि र महासमिति सदस्यमा चुनिनुभएकी छन्त्याल हालसम्म पनि सोही पदमा क्रियाशील हुनुहुन्छ । नेपाल महिला सङ्घको जिल्ला उपाध्यक्षको भूमिका समेत निभाइरहनुभएकी छन्त्याल महिला मानवअधिकार रक्षक सञ्जाल बागलुङको संयोजकसमेत रहनुभएको छ । छन्त्याल जिल्ला सङ्घ, महिला सङ्घलगायत दर्जनौँ सामाजिक सङ्घसंस्थामा पनि आबद्ध हुनुहुन्छ ।

संविधानसभा निर्वाचनमा काँग्रेसले प्रत्यक्षतर्फको उम्मेदवार उठाएपछि उहाँमा जीवनमा कहिल्यै नआएको खुसीले बास गर्यो । “म अली सोझी पनि छु, यसअघि पनि लडेको भए त जित्थेँ होला, मलाई पार्टीले समानुपातिक उम्मेदवार बनाउने भनेको थियो, तर मैले प्रत्यक्षमै चुनाव लड्ने मनस्थिति बनाएँ र आज जनताले मलाई भोट दिएर जिताएका छन्”, छन्त्यालले भन्नुभयो । छन्त्यालले पार्टीले पत्याएर टिकट दिएको आफूलाई धन्य ठान्नुभएको छ । “मलाई पार्टीले ठूलो सम्मान दियो, मैले यस्तो अवसर पाएँ, मलाई मेरा आमादिदीबहिनी, दाजुभाइले माया गर्नुभएको छ”, उहाँले भन्नुभयो ।

नयाँ बन्ने संविधानमा महिलाको अधिकार सुनिश्चित गर्ने पहल गर्ने उहाँको अठोट छ । साथै सबैलाई मान्ने हुने लोकतान्त्रिक संविधान निर्माण गर्न र गाउँको विकासका लागि डटेर काम गर्ने उहाँको लक्ष्य छ । सामान्य लेखपढ गर्ने छन्त्याल वाक कलामा भने पोख्त हुनुहुन्छ । जातीय लवजमा बोल्ने भएकाले पनि उहाँको अभिव्यक्तिमा छुट्टै पहिचान पाउन सकिन्छ । जीवनभर सङ्घर्ष गरेर नथाक्नुभएकी छन्त्यालले संविधानसभा निर्वाचनका बेला पनि ठूलो सङ्घर्ष गर्नुपर्यो । “एकैचोटी यति ठूलो लडार्इंमा जानु मेरो लागि सजिलो थिएन, मैले सबैको माया पाएँ र जितेँ, यसको गुन म काम गरेर तिर्नेछु” छन्त्यालले भन्नुभयो, “तीन नं क्षेत्र विकट छ, त्यहाँको विकासका लागि मैले पहल गर्नेछु, सबैका लागि म काम गर्नेछु ।” छन्त्यालको पहिलो लक्ष्यचाहिँ द्वन्द्वकालमा बुर्तिवाङबाट विस्थापित भएका इलाका कार्यालयहरुको पुनःस्थापना गर्न पहल गर्ने रहेको छ । त्यसपछि सडक, खानेपानी, शिक्षा, स्वास्थ्यजस्ता विकासका आधारभूत कुराहरुमा ध्यान दिने उहाँले बताउनुभयो ।

संविधानसभामा रहँदा महिला, किसान, मजदुर साधारण नेपालीको बारेमा कुरा उठाउने र संविधानमा अधिकार सुनिश्चित गर्न दबाब दिने उहाँको भनाइ छ । छन्त्यालले संविधानसभामा आफू ठूलो हुन जाने नभई क्षमताले भ्याएसम्म काम गर्ने सङ्कल्प गर्नुभएको छ । अल्पसङ्ख्यक छन्त्याल जातिबाट प्रत्यक्षतर्फको निर्वाचनमा विजयी बन्न सफल महिला सभासद्मध्ये उहाँ एकमात्र हुनुहुन्छ ।छन्त्यालको विजयी यात्राले एउटा राजनीति र समाजसेवामा समर्पित महिलाको सम्मान भएको ठहर गरिएको छ । उहाँको विजयको अहिले सर्वत्र चर्चा छ । आफ्ना निकटतम प्रतिद्वन्द्वी एनेकपा (माओवादी)का उम्मेदवारलाई पछि पार्दै छन्त्याल विजयी हुनुभएको हो । छन्त्यालले १० हजार ८९ मत ल्याउनुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी एमाओवादीका तुलसी अर्यालले आठ हजार २१२ मत प्राप्त गर्नुभएको थियो ।

छन्त्यालको विजयसँगै काँग्रेसले जिल्लाका तीनै क्षेत्रमा विजय प्राप्त गरेको छ । बुबा सतवीर छन्त्याल र आमा देउकी छन्त्यालका छ छोरीमध्ये चार जना बितेर गए । ज्ञानकुमारीकी कान्छी बहिनी अहिले पनि हुनुहुन्छ । माइती परिवारमा काइँली छोरीले चिनिने छन्त्यालको कर्म घर जिल्लाको बुङ्गादोभान गाविसमा रहे पनि अहिले पारिवारिक बसोवास सदरमुकाममै रहेको छ । रासस