अमेरिका र बेल्जियम : कस्को दम कति ?

आज साँझ अमेरिका र बेल्जियमको भिडन्त हुँदैछ । प्रतियोगितामा प्रारम्भिक चरणका सबै खेल जिते पनि बेल्जियमले सोचेको जस्तो प्रदर्शन गर्न सकेको छैन । उता अमेरिका रक्षात्मक खेल खेल्दै पोर्चुगल र घाना जस्ता सशक्त टीमलाइ पछाडि पारेर क्वालिफाइ हुन सफल भयो ।

बेल्जियन फ्यानहरू
बेल्जियन फ्यानहरू
अमेरिका र बेल्जियमले पछिल्लो दुई वर्षमा दुई मैत्रीपूर्ण खेल खेलेका थिए । दुवै खेलमा बेल्जियम विजयी रह्यो । सन् २०११ मा १-० को जित निकालेको उसले गत वर्ष मेमा ४-२ को जित दर्ता गरायो । बेल्जियम टिममा व्यक्तिगत रूपमा प्रतिभा भएका थुप्रै खेलाडी छन् । त्यसैले यस प्रतियोगितामा बेल्जियमलाइ ‘ब्ल्याक हर्स’ को रूपमा हेरिएको छ । बेल्जियमका प्रशिक्षक मार्क विलमोटले आफ्नो टिमले खेल्दै आएको एट्याकिङ फुटबल खेल्न नसकेको स्वीकार गरेका छन् । बेल्जियमलाई एट्याकिङ फुटबलले विश्वकपमा पुर्‍याएको थियो । उसले नतिजा भने निकाल्न सफल भएको छ । बेल्जियमले समूह चरणमा अल्जेरिया, रसिया र दक्षिण कोरियालाई हराएको हो । उसले तीनै खेलमा कुनै गोल खाएको छैन ।
अमेरिकाका प्रशिक्षक जुर्गेन क्लिन्सम्यानले मंगलबार विश्वकपको अन्तिम १६ मा बेल्जियमविरुद्ध हुने खेल अघि आफ्नो रणनीति खुलासा गरेका छन् । उनले आफ्नो टिम डिफेन्समा मात्र नरही बेल्जियमको एट्याकिङ फुटबलको काउन्टर दिइने बताएका छन् ।
अमेरिकी किपर होवार्ड
अमेरिकी किपर होवार्ड
अमेरिका समूह ‘जी’ बाट संघर्ष गर्दै दोस्रो चरणमा पुगेको हो । उसले पोर्चुगल, घाना र जर्मनी जस्ता बलिया टिमको सामना गर्दै अघिल्लो चरणको बाटो पक्का गरेको हो । प्रशिक्षक क्लिन्सम्यानले आफ्नो टिमले जर्मनीविरुद्ध समूह चरणको अन्तिम खेलमा १-० ले हार खाए पनि राम्रो खेल पस्केको बताए । जर्मनीलाइ कम्तिमा सेमी फाइनलसम्म पुग्ने टिमका रूपमा चर्चा गरिन्छ । घाना र पोर्चुगललाई पहिलो चरणबाटै घर फर्काएको अमेरिकाको आत्मविश्वास दरो हुन स्वाभाविक मानिन्छ ।
फुटबलमा अमेरिकालाइ बलियो टीमका रूपमा लिइन्न तर नकआउट चरणमा टिमलाई पुर्‍याएर आलोचकहरूको मुखमा बुझो लागीसकेको छ । पछिल्ला वर्षहरूमा अमेरिका दरो टीमका रूपमा आएको छ । त्यसको जस अमेरिकी टीमका जर्मन पृष्ठभूमिका खेलाडिहरूलाइ दिइन्छ । त्यसबाहेक अमेरिकामा फुटबलप्रतिको आकर्षण बढ्दो छ । अमेरिकामा बास्केट बल पपुलर छ । तर यस पटकको फिफा वर्ल्ड कपमा अमेरिकाका खेलहरू एन.बी.ए. बास्केट बल फाइनलभन्दा ज्यादा मान्छेले टेलीभिजनमा हेरेका सँचार माध्यमले जनाएका छन् ।
अमेरिकी प्रशिक्षक क्लिन्सम्यान आफ्नो रक्षात्मक नीतिलाइ बेल्जियमविरुद्ध तोड्न चाहन्छन् र बढीभन्दा बढी आक्रमण गर्ने योजना बुनिरहेका छन् । उता, बेल्जियमलाई दुई राम्रा सेन्टर-ब्याक भिन्सेन्ट कोम्पनी (कप्तान) र थोमस भेर्माइलेनको चोटले सताएको छ । यी दुई खेलाडी खेल्ने वा नखेल्ने भन्ने अझै पक्का हुन सकेको छैन । बेल्जियम रक्षा पंक्तिका बायन मुन्चेन खेलाडि डेनियल भान बुइतन र चेल्सियाका गोल किपर थिमो कुर्त्वा विश्व कै उत्कृष्ट खेलाडिको सूचिमा राखिन्छन् । यी खेलाडिको आडमा एट्याकिङ फुटबललाइ बेल्जियमले मूर्त रूप दिन सके अमेरिकालाइ हम्मे हम्मे पर्नसक्छ ।
केही खेल पण्डितहरूले खेल ९० मिनेटमा नसकिएर ३० मिनेट थपिँदै पेनाल्टीमा पुग्ने र बेल्जियम हावी हुने आँकलन गरेका छन् ।