अमेरिकालाई ‘अमिलो अंगुर’ भन्नेहरू

‘ताक परे तिवारी नत्र गोतमे’ ! नेपाली समाजमा निकै प्रचलित भनाइ हो यो । प्रसङ्ग अमेरिकामा पलायन भएका केही कलाकर्मीको हो ।
yuna-upretiउता बसुन्जेल अमेरिकालाई मन र मुटुले मान्ने, माया गर्ने अनि दिमाग उतै लगाउनेहरू नेपाल फर्किएपछि वा फर्कन लाग्दा अमेरिकालाई मुखमा आए जति सराप्छन् । उमेर छउञ्जेलसम्म काम गरेर डलर कमाउने अनि जिन्दगीभर गैरकानुनी रूपमा बस्न मनले नमानेपछि वा कागज नबनेपछि वा फर्कन बाध्य भएपछि अमेरिकाबारे नानाभाँती गाली गर्दै फर्कने कलाकारहरूको पङ्क्तिमा नायिका रञ्जना शर्मा र युना उप्रेती पनि थपिने भएका छन् ।

Map_flag_USAयुना विवाह नै गरेर उता लागेकी हुन् । करिब चार वर्ष भइसक्यो उनी अमेरिका गएको । अझैसम्म कानुनी रूपमा बस्न कागज नबनेपछि उनी नेपाल फर्कन लागेकी हुन् । धेरै प्रयास गरिन् युनाले कागज बनाउन, तर सकिनन् । अनि आजभोलि उनी फेसबुकमार्फत अमेरिकालाई गाली गर्दै आफ्नो मुलुकको ‘माया’ देखाउन थालेकी छिन् । उतै बस्ने कागज मिलेको भए उनले न त नेपाल सम्झिन्थिन् न त अमेरिकालाई नै गाली गर्थिन्; सायद ।

यस्तै अवस्थामा रहेकी छिन् अर्की अभिनेत्री- रञ्जना शर्मा । उनी पनि पाँच वर्ष भयो अमेरिका छिरे की । कानुनी रूपमा उता बस्न रञ्जनाले कमाएको पैसा कागज बनाउन पनि धेरै खर्च गरिन् तर जति गर्दा पनि उनको हातमा लाग्यो शून्य ! नेपाल फर्कौ: भने जिन्दगीभर अमेरिका छिर्न नसक्ने थाहा पाएपछि जति बस्छु गैरकानुनी रूपमा बसेर भए पनि डलर कमाउने उद्देश्य लिएपछि रञ्जनालाई अब भने डलर कमाउन पुगेजस्तो छ । त्यसकारण नेपाल आउन जति मिति नजिकिँदै छ त्यति नै उनी अमेरिकाप्रति क्रोधित देखिन्छिन् । मानवअधिकारको शोषण भएको कुरा गर्न थालेकी छिन् भने अर्काको देशमा बसेर प्रगति नहुने भाषण गर्न थालेकी छिन् । सुन्दा पनि अचम्म ! पहिला जसरी पनि अमेरिका छिर्न मरिहत्ते हाल्ने रञ्जनालाई अहिले आएर मुलुक र मानवअधिकारको कुरा आउन थालेको छ ।

यी हुन्, फर्कन बाध्य भएपछि ‘अमिलो अंगुर’ भन्नेहरू ।