अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली नारी लेखन मंचको स्थापना

साहित्यका विभिन्न विधाहरुको माध्यमवाट महिलाका हकहित र उत्थानमा सहयोग पुर्याउने अभिप्रायले अमेरिकामा साहित्यकार नीलम कार्की निहारिकको अध्यक्षतामा “अन्तर्राष्ट्रिय नेपाली नारी लेखन मंच” स्थापना भएको छ । नवगठित कार्यकारी समितिमा भारती गौतम (अमेरिका ) उपाध्यक्ष, सीता पाण्डे (अमेरिका ) उपाध्यक्ष , सीता खरेल (अमेरिका ) महासचिब, उषा ज्ञवाली ( अस्ट्रेलिया ) सचिब, निर्मला खड्का (ईजरायल ) कोषाध्यक्ष, र सदस्यहरुमा क्रमश: आचार्य प्रभा (अमेरिका ) ,गीता पन्थ (अमेरिका ), ज्योति पौडेल (अमेरिका ), नम्रता गुरागाई (अमेरिका ),संगीता मरहठा (यु के ), डा.शान्ति छेत्री (भारत), सीता सापकोटा ( बेल्जियम ) ,सुमित्रा पौडेल ‘आचल’( ईजरायल ), र सरु पोखरेल (नेपाल } रहनु भएको छ ।

नेपालीहरु विश्वभरी छरिएर रहेको वर्तमान स्थितिमा नारीको ठूलो संख्या नेपाल वाहिर पनि भएकोले नारीलेखनलाई समेट्न यसप्रकारको संस्थाको आवश्यकता महसुस गरिएको हो/ संस्थाले विशेषगरी नारीजातीका सम्पूर्ण समस्यालाई सम्वोधन गर्ने छ। नारीवर्गका सामाजिक ,धार्मिक र संस्कारगत अपठ्यारा र उत्पीडनका बिषयहरुलाई साहित्यिक अभिव्यक्तिका माध्यमवाट नै समाजमा चेतना जगाउन प्रयास गर्ने सस्थाको मूल मन्त्र रहेको नव गठित सस्थाका महासचिब सीता खरेल द्वारा प्रेषित बिज्ञप्तिमा जनाइएको छ । समाजको झन्डै आधा जनसंख्या नारी हुनु र बालबालिकाको पहिलो शिक्षक पनि नारी नै भएको तथ्यलाई ध्यानमा राख्दा एउटी नारी पिडित हुनु भनेको त्यो समाज पिछडिनु हो ।

यस सन्दर्भमा नारी चेतनाद्वारा मात्र समाजको विकास संभव भएकोले यो संस्थाले नारी समस्या संबोधनलाई प्राथमिकता दिएको हो । संसारभरीकै नारीले शिकार हुनु परेको वलात्कार बिषय माथि संस्थापनको पहिलो वर्ष आफ्नो लेखन र कार्यक्रमलाई केन्द्रित गर्दै आफ्ना साहित्यिक गतिविधिहरु संचालन गर्ने निर्णय गरेको पनि बिज्ञप्तिमा जनाइएको छ । नारीका समस्यालाई लिएर यसअघि पनि प्रसस्त लेखिएको छन् तर एउटै समस्या माथि सामुहिक लेखन संवोधन हुन सकेमा यसको आवाज निति निर्धारण तहसम्म समेत पुग्न सक्ने तथ्यलाई मनन गरि , एकपटकमा एउटा समस्या माथि केन्द्रित भई त्यो वर्षका लेखन, प्रकाशन र छलफल गरिने लक्ष्य राखिएको हो ।

नारीका समस्या समाधान र नारी चेतनाजस्ता विषयमा लेखिएका अन्यभाषाका पुस्तक नेपाली भाषामा अनि नेपाली भाषाका पुस्तक विश्वका अन्य भाषामा अनुवाद गर्ने देखि लिएर वेला वेला नारी साहित्य सम्मलेन, गोष्ठि, अन्तर्क्रिया, रेडियो एफ एम र प्रतियोगितात्मक कार्यक्रमहरुका साथै पुस्तक प्रकाशनजस्ता साहित्यिक गतिविधि सहित यो संस्था नेपाली साहित्यको नारी लेखनलाई एउटा नया दिशा प्रदान गर्न क्रियाशील रहनेछ । नारी समस्याहरु मध्ये हरेक बर्ष तोकिएको बिषयमा स्थलगत अध्ययन गरि त्यसवारेको पुस्तक लेखनको निम्ति ‘फेलोसिपको’ पनि ब्यबस्था गरिने छ । उपरोक्त उद्देश्यहरु परिपूर्तिको लागि भविष्यमा अन्य देशहरुमा पनि मंचलाई बिस्तार गर्दै ,च्याप्टर गठन गर्ने योजना रहेको बिज्ञप्तिमा उल्लेख छ ।