साहित्य क्षेत्रमा डा. अभि सुवेदी अब्बल मानिन्छन्। उनी साहित्य क्षेत्रमा राम्रो दख्खल राख्छन्। उनले थुप्रै साहित्यिक कृतिहरू लेखेका छन्। उनका कृतिहरू अलि फरक खाले र विशिष्ट खालका हुन्छन्। उनले पछिल्लो समयमा ‘साहित्य र आमवृत’ पुस्तक लेखेका छन्। उनको यस पुस्तकमा नेपालको साहित्यिक विकासलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ। नेपाली साहित्यमा रुचि राख्ने र साहित्य क्षेत्रको अध्ययन चाहने मान्छेका लागि यो पुस्तक अति नै उपयोगी छ। उक्त पुस्तकमा साहित्यका विविध विधा र साहित्यका स्रष्टाहरूको बारेमा चर्चा गरिएको छ।
खासगरी यो पुस्तक लेखकको संग्रहित लेख हो। उनले समय–समयमा विभिन्न पत्रपत्रिकामा लेखेका समसामयिक साहित्यिक विचारलाई यसमा उतारेका छन्। यस पुस्तकले नेपाली साहित्यको एउटा यात्रा प्रस्तुत गर्न सफल भएको छ। यस पुस्तकमा ६० शीर्षकका लेखहरू संग्रहित छन्।
लेखक सुवेदीले विभिन्न साहित्यकारको साहित्यिक क्षेत्रमा गरेको योगदानको चर्चा गरेका छन्। पुस्तकमा शुरुआतदेखि नेपाली लेखनको आमवृत्त तथा नेपाली भाषाको आमवृत्त कसरी फैलँदै गयो भन्ने देखाउन खोजिएको छ। उनका केही शीर्षकका लेखहरू गहन, मननयोग्य र नेपाली साहित्य अध्ययन गर्न चाहनेहरूका लागि पढ्नै पर्ने छन्। साहित्य क्षेत्रमा अध्ययनको अभिरुचि राख्ने र साहित्य क्षेत्रमा केही योगदान गरेकाहरूलाई समेत यो पुस्तक अत्यावश्यक हुने देखिन्छ। डा. अभि सुवेदीको संग्रहित उक्त पुस्तकको प्रकाशन मदर पब्लिकेसेनले गरेको हो। ४ सय ३८ पेजमा संग्रहित उक्त पुस्तकको मूल्य ३ सय ८० रुपियाँ राखिएको छ।