अब नेपाल मै ‘वाटर स्की’

पोखरा उपत्यकामा सात ताल छन् । तीमध्ये फेवा, रूपा र बेगनास ताल बाहेक अन्य तालको व्यवसायिक प्रयोजनले उपयोग खासै भएको छैन् । बेगनासमा आन्तरिक र बाह्य पर्यटकलाई डुंगा सयर गरिन्छ । रुपातालमा सामूहिक माछा पालन गरिएको छ । बाँकी पाँच ताल वर्षेनी साँघुरिदैं गएको छ ।

लेखनाथ नगरपालिकाको बेगनास र रुपा बाहेक अर्को ताल दिपाङलाई ‘वाटर स्की’ गर्ने गन्तव्य बनाउन प्रस्ताव गरिएको छ । बेलायत बसेर आएका कास्की ल्वाङघलेलका युवा राम गुरुङ र लेखनाथका नारायण थापासितको सहकार्यमा ‘वाटर स्की’ गर्न लेखनाथ नगरपालिकासित प्रस्ताव गरेका हुन् । ‘नगरपालिकाले आवश्यक विस्तृत प्रतिवेदन माग गरेको छ ।’ लेखनाथ नगरपालिकाका कानून अधिकृत राममणि अधिकारीले भने—‘विस्तृत अध्ययन प्रतिवेदनपछि मात्रै नगरपालिका अघि बढ्ने छ ।’

प्रस्ताव पेश गरेका गुरुङले भने, “वर्षदिन अघि प्रस्ताव गरेपनि चारजना कार्यकारी अधिकृत फेरिदा“ कार्यान्वयनमा ढिलाई भएको उल्लेख गरेका छन् । ‘दिपाङमा ‘वाटर स्की’ गराउन नगरपालिका प्रस्ताव पनि पेश गरिसकिएको छ‘ उनले भने—‘चारजना कार्यकारी अधिकृत फेरिसकेका छन् । नयाँ आउनेलाई बुझाउँदै समय वितेको छ । कार्यान्वयनको लागि कुरेर बसेका छौं ।’
Dipang lake
उनले आफनो योजनालाई श्रव्यदृष्य मार्फत समेत प्रस्तुत गरिसकिएको जानकारी दिए । नगरपालिकाले कुनै निर्णय दिएको छैन् । सर्वदलिय बैठक समेत बसेर निर्णय गर्नुपर्ने भएकोले पनि ढिलाई भएको हुन सक्ने उनको अनुमान छ ।

तालमा वाटर स्की गर्नको लागि आवश्यक पुर्वाधार तयार पार्न पाँचदेखि सात करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ । ‘एकैपटक नौजना खेल्ने मिल्ने स्की राख्ने योजना छ ।’ उनको भनाई थियो । ७० मिटरको दुरीमा राखिने स्की सञ्चालन गर्न छ वटा पिलर निर्माण गरिने छ । पिलरमा रोप जडान हुने छ । रोपलाई घिर्नीको सहयोगमा मोटरले तान्छ । तानिएको घिर्नीको डोरीमा समातेर पानीमा स्की ‘चिप्लेटी’ खेलिन्छ । वाटर स्कीको माध्यमबाट नेपालमा साहसिक पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण हुने उनको विश्वास छ ।

तालमा स्की गर्नु अघि सम्पूर्ण जानकारी गराउन ‘क्लास’ लिईन्छ । स्की गर्ने प्रत्येकलाई अनिवार्य लाईफ ज्याकेट प्रयोग गराईन्छ । पश्चिमा मुलुकहरूमा व्यवसायीक रूपमा वाटर स्की लोकप्रीय छ । चीनमा पनि छ । स्की शुरु भएको ५६ वर्ष वित्यो । तथापी नेपालमा भित्र्याउन खोजिएपनि सरकारी कामकाजको ढिलाईले नैराश्यता बनाएको उनको भनाई छ । ‘वाटर स्की सञ्चालन गर्न सकिए साउथ एशियाकै नमूना हुने छ ।’ गुरुङले बताए ।

लेखनाथ नगरपालिकाको वडा नं. ६ मा करीब ८.९८ हेक्टर क्षेत्रफलमा फैलिएको दिपाङ्ग ताल शिशुवा बजारको उत्तरमा पर्दछ । कवि शिरोमणि लेखनाथ पौडेल यसै मनोरम प्राकृतिक वरदानको नेपथ्यमा बसेर आफ्नो कविता लेख्ने गर्दथे । २०/२५ बर्ष अघिसम्म कर्याङ कुरुङले बार्षिक रुपमा विचरण गर्ने यो तालको आकाशमा अहिले धेरै चिरबिर सुनिँदैन । मानवीय अतिक्रमणको वेदना विगत केही बर्षदेखि भोग्दै आएको छ । असुर्ने र बगुवाखोला यसका श्रोत हुन् भने दिपाङ्ग तालबाट बग्ने खोला देउराली खोला हो ।