२४ बर्षको छँदा लाहुर गएका श्रीमानसँग ५२ वर्षपछि भेट

५२ वर्षपछि श्रीमान-श्रीमतिको भेट हुने अपत्यारिलो घटना गुल्मीमा घटेको छ । नेपाली समाजको यो एक चाखलाग्दो तस्वीर मेरो दिमागमा झल्झल्ती रहेको छ ।
गुल्मी हाडहाडे ५ कि चन्द्रिका श्रीस दंग भइन् । पैसा कमाउन लाहुर जान्छु भन्दै यौवन अवस्थामै छोडेर विदेश गएका पति किमबहादुर श्रीस झण्डै ५२ बर्षपछि घर आएपछि उनको हर्षको सीमा नरहेको हो । ‘राम्ररी बस्नु, आफ्नो र बच्चाको ख्याल गर्नु, म जागिर खोजेपछि तिमीलाई लिन आउँछु’ भन्दै २५ बर्षीय श्रीमान किमबहादुर लाहुर गएका थिए ।

तर आज आउला छैन, भोली आउला छैन । दिन हैन, महिना हैन, बर्षौ विते तर श्रीमान घर फर्किएनन् । यौवन अवस्थामै छोडेर हिँडेको पति प्रौढावस्थामा पुग्दा समेत नफर्किएपछि चन्द्रिकालाई श्रीमान फर्केर आउलान् भन्ने आश मरीसकेको थियो । तर ५२ बर्षपछि उनको जीवनमा अचानक खुसीको भेल आयो । पति किमबहादुर टुप्लुक्क घर आइपुगे ।

२५ बर्षका लक्का जवान छँदा विछोडिएका चन्द्रिकाका जीवनसाथी किमबहादुर घर फर्कँदा ७९ बर्षका पुगेका थिए । उनीभन्दा एक बर्ष कान्छी श्रीमति चन्द्रिका ७८ बर्षकि भइन् । राम्रो पैसा कमाउने र सुखी जीवन विताउने सपनामा यो जोडी विछोडिएको थियो । छुट्टिने बेला गर्भमा रहेका उनीहरुका कान्छा छोरा सुर्यप्रकाश यतिबेला ५२ बर्षका भैसके । तिनै कान्छा छोराले पोखरामा पहिलो पटक आफ्ना बाबु फेला पारे ।

background imageकिमबहादुर सुरुमा भारत गए । तर कमाउन सकेनन् । अनि गरिबी कै कारण उनी घर फर्कन पनि सकेनन् । भारतमा सोँचेजस्तो कमाउन नसकेर विरक्तिएका उनले कोलकता, सिलाङ र असममा ३५ बर्ष विताए । कतै पनि पैसा कमाउन नसकेपछि अन्ततः नेपाल फर्केका उनलाई घर जान पनि मन लागेन। मनमा ग्लानी भइरह्यो । त्यसपछिका १७ बर्ष उनले पोखरामा विताए । परिवारसँग सम्पर्कविहिन रहीरहे ।

एक दिन अचम्मको घटना भयो । उनी पोखराको राम्दी सुस्त मनस्थिति केन्द्रमा बस्थे । उनलाई कान्छो छोराले त्यहीँ फेला पारे ।
कसैका निम्ति यो एउटा सामान्य समाचार हुनसक्छ । फिल्मको कहानी जस्तो लाग्न सक्छ, तर नेपाली समाजलाइ बुझ्न यो एक उत्तम र चखिलो उदाहरण हो भन्ने मलाइ लाग्छ ।
– कृष्ण थापा