हेटौडा सहित सात उपमहानगरपालिकालागी सिफारिश

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मुलुकमा हेटौडा सहित जनकपुर, इटहरी, बुटबल, भरतपुर, नेपालगञ्जर धरान गरी सात नगरपालिकालाई उपमहानगरपालिका घोषणा गर्न सिफारिस गरेको छ।

मन्त्रालयले काठमाण्डौ उपत्यकाभित्र १७ समेत गरी ६६ नगरपालिका र सात उपमहानगरपालिका घोषणा गर्न मन्त्री परिषदमा सिफारिस गरेको हो ।  मन्त्रालयले केशवानन्द गिरीको संयोजकत्वमा नगरपालिका क्षेत्र निर्धारण तथा सिफारिस समिति गठन गरेर नगरोन्मुख गाविसलाई नगरपालिका घोषणाकालागि सिफारिस गर्न र नगरपालिक भएकामध्ये पूर्वाधार पुगेकालाई उपमहानगरपालिका घोषणाका लागि सिफारिस गर्न जिम्मेवारी दिएको थियो।

सात नयाँ उपमहानगरपालिका थपिएपछि मुलुकभर उपमहानगरपालिकाको संख्या ११ पुग्ने छ। यसअघि विराटनगर, वीरगञ्ज, पोखरा र ललितपुर उपमहानगरपालिका घोषणा भइसकेका छन् । सरकारले गतवर्ष ७२ नयाँ नगरपालिका घोषणा गरेको थियो । त्यसअगाडि एक महानगरपालिका, चार उपमहानगरपालिका र ५३ नगरपालिका थिए ।

सिफारिस समितिका संयोजक गिरीले न्यनतम दुई र बढीमा सात गाविस गाभेर नयाँ नगरपालिका घोषणाका लागि सिफारिस गरिएको जानकारी दिएका छन् । काठमाण्डौ उपत्यका बाहेकका नयाँ नगरपालिका घोषणाका लागि समितिले पूर्वपश्चिम राजमार्गमा पर्ने र आसपासको ठाउँ छनोट गरेको छ।