हिसिला यमी डमी ‘मिसेस नेपाल’ मा भिड्दै …

हिसिला यमी अब सौन्दर्य प्रतियोगितामा भिड्ने भएकी छिन्। उनी राजधानीमा हुन लागेको आमाहरूको सौन्दर्य प्रतियोगिता मिसेस नेपालमा भिड्न लागेकी हुन्। यी हिसिला नेकपा एमाओवादी नेतृ हिसिला भने होइनन्। बरू नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको लोकप्रिय हास्य कार्यक्रम तीतो सत्यमा एमाओवादी नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पत्नी हिसिला यमीको रूपमा दुरुस्तै भएर प्रस्तुत हुँदै आएकी विपना बस्नेत हुन्।

hisila dummyलामो समयदेखि दर्जनौं नेपाली फिल्ममा हेयर ड्रेसरका रूपमा आफ्नो प्रतिभा प्रदर्शन गर्दै आएकी यी ४९ वर्षीया ब्युटिसियन इ–प्लानेटले आगामी फागुन ३ गते राजधानीमा आयोजना गर्न लागेको मिसेस नेपालमा भिड्न लागेकी हुन्। उमेरले ५० वर्ष छुन लाग्दा उत्साहका साथ सौन्दर्य प्रतियोगितामा भिड्न लागेकी उनी २८ वर्षदेखि ५५ वर्षसम्मका विवाहित महिलाले स्पर्धा गर्न पाउने प्रतियोगितामा आत्मविश्वासका साथ स्पर्धा गर्दैछिन्। विपनाले प्रतियोगितामा सामेल हुनका लागि आवेदन दिइसके पनि उनले स्पर्धा गर्न पाउने या नपाउने भन्ने निर्णय यही शनिबार यसका लागि हुने अडिसनमा निर्भर हुनेछ। तर अभिनेता दीपक क्षत्री पत्नी यी ब्युटिसियन भने स्पर्धा गरी छाड्ने उद्देश्यले अडिसनमा खरो उत्रनका लागि विभिन्न किसिमका तयारी गर्दै छिन्।

‘मेरो टेन्सनका दिनहरू सकिइसकेका छन्। त्यसैले यो उमेरमा पनि ब्युटी कन्टेस्टमा भिड्दैछु नव नायिका रिश्ता बस्नेतकी यी आमा भन्छिन्– ‘४९ वर्षको उमेरमा पनि सुन्दरी नै छु भन्ने लागेको छ। मभित्रको प्रतिभा पनि सबैका सामु देखाउँनुछ। अन्य दिदीबहिनीहरूसँग नजिक हुने मौकाले पनि लोभ्याएको छ। त्यसैले यो मौका गुमाउँन मन छैन।’

ठूलो पर्दाका केही फिल्ममा समेत अभिनय गरीसकेकी विपना तितो सत्यमा डा. बाबुराम भट्टराई बनेका ज्योति काफ्लेसँगै उनको नेतृ पत्नी हिसिला यमीको भूमिकामा प्रस्तुत भएसँगै लोकप्रिय हुँदै आएकी छिन्। यो प्रतियोगितामा स्पर्धा गर्नका लागि पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमले पनि आवेदन गरेकी छिन्।