नेपाली कलाकारमा सगरमाथा आरोही ओखलढुंगाका पेम्बा शेर्पा, पाइलट तथा अभिनेता विजय लामा र सोलोखुम्बुका आङ्फुला शेर्पा
नेपालमा बलिउड फिल्म सुटिङ हुने कुरा नौलो होइन। बारम्बार बलिउडको टिम फिल्म सुटिङका लागि देखिने नेपालमा बेलाबखत हलिउड फिल्म पनि सुटिङ हुने गर्छ। तर यसबारे कमैले थाहा पाउँछन्। यसै क्रममा हालै एक हलिउड टिम पनि ६ दिनको सुटिङ सक्काएर गत बुधबार अमेरिका फर्किएको छ।
हलिउड फिल्म ‘एभरेस्ट’ सुटिङका लागि हलिउड नायक जेक गेलेनहल (Jake Gyllenhaal), जोस ब्रोलिन (Josh Brolin) र निर्देशक भल्टासार कोर्माकर (Baltasar Kormákur) सहित ४४ जनाको टिम नेपाल आएको थियो। उनीहरूले नेपालका केही ठाउँमा सुटिङ गरेर मात्र फर्किएनन्, एक नेपाली टिमलाई पनि हलिउडका लागि निम्ता दिएका छन्। शनिबार बेलुकी नेपाली टिम पनि फेरि उतैतिर जाँदै छ।
हलिउड फिल्म एभरेस्टमा काम गर्ने अवसर पाउने भाग्यमानी नेपाली हुन् सगरमाथा आरोही ओखलढुंगाका पेम्बा शेर्पा, पाइलट तथा अभिनेता विजय लामा र सोलोखुम्बुका आङ्फुला शेर्पा। यी तीन नेपाली फिल्म सुटिङका लागि सीधै इटली पुग्नेछन्। आफूहरूको सुटिङ एक महिना इटली र दुई महिना लन्डनमा हुने पेम्बाले नेपाल समाचारपत्रलाई जानकारी गराए। इटलीको हिमाली भेग बोलामाईमा आफूहरूसहितको पहिलो सुटिङ हुने उनले बताए। यी तीन नेपाली सुटिङका लागि अहिले पनि फिल्मको स्क्रिप्ट घोकिरहेका छन्। फिल्मको लागि १५ जना मध्येबाट उनीहरू छनोट भएका हुन्।
हलिउड फिल्म एभरेस्ट १९९६ को सगरमाथा आरोहणसम्बन्धी घटनामा आधारित रहेको पेम्बा शेर्पाले जानकारी दिएको समाचार पत्रले उल्लेख गरेको छ । सगरमाथा आरोहणको क्रममा त्यस वर्ष सबैभन्दा धेरै मानिसको मृत्यु भएकाले त्यही कथामा आधारित रहेर फिल्म निर्माण हुन लागेको बताइएको छ। त्यही वर्ष अमेरिकी नागरिक स्कट फिसरको सगरमाथा आरोहणको क्रममा ८ हजार ५ सय मिटरको उचाइमा मृत्यु भएको थियो। फिल्म स्कट फिसरमै बढी आधारित रहने बुझिएको छ। स्कट फिसरको कल्यामिङ गाइडको भूमिकामा पेम्बा शेर्पाले अभिनय गर्दै छन्। उनी ६ पटकसम्म सगरमाथा आरोहण गरिसकेका छन्। आफ्नो भूमिका निकै जटिल रहेको पनि पेम्बाले जानकारी दिए। ‘सुटिङका लागि म घिस्रिनुपर्छ, हिउँमै लड्नुपर्छ, एकदमै रिसाहा स्वाभावको हुनुपर्दछ।’ –उनले आफ्नो भूमिकाबारे प्रस्ट पारे। आफ्नो अनुहार पनि परिवर्तन गरेर फिसरको गाइडको जस्तै बनाउने आफूले जानकारी पाएको पेम्बाले बताए। आफ्नो भूमिका फिल्मको आधा समयभन्दा बढीको समयसम्म रहने उनको भनाइ छ।
त्यस्तै अर्का कलाकार विजय लामाले भने नेपाली पाइलट मदन केसीको भूमिका निर्वाह गर्नेछन्। उनले अग्लो भीरबाट घिसारेर हेलिकप्टर उडाउनु पर्नेछ। आङफुला शेर्पा भने आङदोर्जे शेर्पा भएर फिल्ममा प्रस्तुत हुनेछन्। हलिउड टिम नेपालको सोलुखुम्बस्थित लुक्ला, गल्फकोशे, नाम्ने तेङ्गुजे, थुक्लाको साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायतको ठाउँमा सुटिङ गरेर फर्किएको छ ।
सगरमाथा आरोहण क्रममा हिउँ पहिरोले पारेको समस्यालाइ देखाउने यस फिल्म एडभेन्चरसहितको थ्रिलर फिल्म हो । फिल्म १९ डिसेम्बर २०१४ मा रिलिज गर्ने तयारी छ ।