द एसोसिएसन अफ नेपालिज इन द अमेरिकाज (एएनए) को ३१ औं सम्मेलनको अवसरमा आयोजित एएनए फेसन एक्स्ट्रा भ्यागेन्जामा मिस्टर एएनए र मिस एएनएको उपाधि क्रमशः सुगम श्रेष्ठ र श्रुति श्रेष्ठले जितेका छन्।
सम्मेलनको दोस्रो दिन शुक्रबार आयोजित प्रतियोगितामा उनीहरूले अन्तिम राउन्डमा छानिएका सात⁄सात प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेका थिए ।
उपाधिका साथ विजेताले ३ हजार २ सय ५० डलरको मोडेल रिहाव कन्ट्याक्ट हात पार्नुका साथै विभिन्न गिफ्ट ह्याम्पर जितेका छन्। मिस भाउ स्मृतिले मिस फोटोजेनिकको उपाधिसमेत हात पारिन्।
यसै गरी प्रतियोगितामा मिस्टर पपुलर, मिस्टर मुस्कान र मिस्टर डिसिप्लेनको उपाधि दिवेश भण्डारीले हात पारे भने जुवी गौचनले मिस पपुलर, मिस फेसानिस्टा र वेस्ट कपुल फिमेल उपाधि जितिन्। त्यस्तै नायिका करिश्मा मानन्धर पुत्री कविता मानन्धरले मिस मुस्कान, विराज श्रेष्ठले मिस्टर फेसोनिस्टा, अंकिता बस्नेतले मिस फ्रेन्डसिप, राजीव आचार्यले बेस्ट कपुल मेल र सविर श्रेष्ठले मिस्टर फोटोजेनिकको उपाधि जिते।
प्रतियोगितामा सुगम श्रेष्ठ र जुवी गौचनले अ फ्याक्ट्री स्टुडियोका तर्फबाट कन्ट्याक्ट हात पारे भने प्लानेटका तर्फबाट विराज श्रेष्ठले तीनवटा म्युजिक भिडियो र स्मृति श्रेष्ठले तीनवटा सर्ट-मुभीमा काम गर्ने कन्ट्याक्ट प्राप्त गरे।
गायक प्रेमराजा महत र नरेन्द्र प्यासीको गीत र स्थानीय नेपाली युवाहरूको ब्यान्ड कन्सर्टसहित आयोजना गरिएको एएनए फेसन एक्स्ट्रा भ्यागेन्जाका निर्णायकहरूमा उद्योगपति राहुल चौधरी, गायिका नलिना चित्रकार, ३१ औं एएनए सम्मेलनका मुख्य संयोजक समीर महर्जनलगायत रहेका थिए। प्रतियोगिता हेर्नका लागि ठूलो संख्यामा फेसनप्रेमी नेपालीको उपस्थिति रहेको थियो। प्रतियोगिता ३१ औं एएनए सम्मेलन आयोजनास्थल न्युयोर्कको वेस्टचेस्टरस्थित होटल हिल्टनमा आयोजना गरिएको थियो।