सिलिकन भ्यालीमा नेपालको आइ. टी. बारे बहस

नेपालमा सूचना प्रविधिको क्षेत्रमा नवीनतम प्रविधिको उपयोग बढाउँदै जीवनस्तर सहज बनाउने उद्वेश्यले क्यालिफोर्नियाको सिलिकन भ्यालीमा सूचना प्रविधि क्षेत्रका नेपाली विज्ञहरुले छलफल गरेका छन्।

सान्टाक्लाराको इन्टेल प्रधान कार्यालयमा आयोजना भएको वृहद छलफलमा नेपाली प्राविधिकहरुले चीनमा विकास भएको हार्डवयर र भारतको सफ्टवयरलाई मिलाउन सकेमा नेपाल सूचना प्रविधि क्षेत्रको लागि गतिलो गन्तव्य बन्नसक्ने निष्कर्श निकाले। त्यसका लागि लगानीमैत्री वातावरण, ऊर्जाको उपलव्धतालाई सहज हुनुपर्ने उनीहरुको भनाई थियो।

nepallaptopsINLINEक्यान युएसए र अमेरिकन सोसाइटी अफ नेप्लिज इन्जिनियर्सको संयुक्त आयोजनामा भएको कार्यक्रममा दूर दराजका ग्रामीण वस्तीसम्म सूचना प्रविधि पुर्‍याउन सकिएमा त्यसैबाट शिक्षा, स्वास्थको क्षेत्रमा उल्लेख्य फड्को मार्नसक्ने विज्ञहरुको ठहर थियो।

कार्यक्रममा नेपालको सूचना प्रविधिका लागि गर्न सकिने ठहर भएका क्षेत्रहरुका बारेमा यहाँ रहेका नेपाली इन्जिनियरहरुले ‘समृद्ध जीवनको लागि इन्जिनियरिङ, विज्ञान तथा प्रविधि’ विषयमा २० वटा कार्यपत्रहरु प्रस्तुत भएको थियो। ती कार्यपत्रहरुमाथि निकै गहन रुपमा छलफल भएको थियो।

कार्यक्रममा क्यान युएसएका अध्यक्ष आमोदकुमार पोखरेलले नेपाली इन्जिनियरहरुले संसारभरि बिभिन्न क्षेत्रमा प्रगति गरेर देखाएकोले नेपालमा सूचना प्रविधि, शिक्षा क्षेत्रमा गर्नसक्ने उल्लेख गर्नुभयो। सूचना प्रविधिमा काम गर्ने जनशक्तिको उच्च मागलाई दृष्टिगत गरेर हालैमात्र २५ जना नेपालीलाई अमेरिकामै जाभा सफ्टवयर सम्बन्धि तालिम दिएको उहाँले जानकारी दिनुभयो।

प्राकृतिक प्रकोपको समयमा सञ्चारको क्षेत्र तहस नहस हुनसक्ने भएकोले त्यसको लागि अहिलेदेखिनै तयार रहन प्राविधिकहरुले ह्याम रेडियो लगायतका प्रविधि प्रयोगमा ल्याउन सुझाव दिएका थिए। पछिल्लो समयमा सूचना तथा सञ्चार मन्त्रालयले तयार गरेको फ्रिक्वेन्सी नीतिमा ह्याम रेडियोको लागि फ्रिक्वेन्सी व्यबस्था नगरेकोमा प्राविधिहरुले सरकारको त्रुटी औंल्याएका छन्।

कार्यक्रममा युवा इन्जिनियर प्रमोद पौडेलले नेपालमा उपलव्ध दक्ष र सस्तो इन्जिनियरिङ जनशक्तिलाई परिचालन गर्न सकेमा मोबाइल सेटको उत्पादन गर्न सकिने आत्मविश्वास सहितको कार्यपत्र पेश गर्नुभएको थियो। इन्टेल कर्पोरेसनमा कार्यरत पौडलले भने ‘नेपालमा मोबाइल सेटको बजार बढ्दो क्रममा छ, त्यसो हुँदा नेपालमै स्मार्टफोनको उत्पादन गर्न सक्छौं।’ उहाँले २५ देखि ४५ अमेरिकी डलरको लागतमा नेपालमै स्मार्टफोन बनाउन सकिने दावी गर्नुभयो। उहाँका अनुसार नेपालमा बर्षेनी झण्डै पाँचहजार आइटी इन्जिनियरहरु बिभिन्न कलेजहरुबाट उत्पादन भैरहेका छन्, तिनीहरुलाई उपयोग गरेर नेपालमै स्मार्टफोन उत्पादन गर्न सकिन्छ। पौडेलले नेपाल सरकारले उपयुक्त वातावरण दिने हो भने देशमै स्मार्टफोन उत्पादन गरेर सस्तोमा बिक्री गर्न सकिने बताउनुभयो।

उद्घाटन कार्यक्रममा क्यान युएसएका संस्थापक अध्यक्ष विनित शर्मा, कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) का संस्थापक अध्यक्ष बिमल शर्मा, अमेरिकन सोसाइटी अफ नेप्लिज इन्जिनियरका अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतले नेपालमा सूचना प्रविधिको क्षेत्रमा नयाँ काम गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए।

कार्यक्रममा नेपालबाट विज्ञान तथा प्रविधि मन्त्रालयका कामु सचिव शंकर अधिकारीले स्काइपबाट शूभकामना व्यक्त गर्नुभएको थियो। उहाँले सूचना प्रविधि नीति र १० बर्षिय योजनालाई सरकारले कार्यान्वयन गरिरहेको चर्चा गर्नुभएको थियो।

क्यानका अध्यक्ष विनोद ढकालले सूचना प्रविधि क्षेत्रको आउटसोर्सिङका लागि तयार गर्नुपर्ने कार्यहरुका बारेमा कार्यदल गठन गरिएको र त्यसबाट यो क्षेत्र अझै व्यबस्थित हुने आशा व्यक्त गर्नुभयो।

प्राकृतिक प्रकोपको समयमा सञ्चालनमा ल्याइने ह्याम रेडियोको पूर्वाधारका लागि सिस्कोका नेपाल प्रतिनिधि किशोर पन्थले १० हजार डलर दिने घोषणा गर्नुभयो। ह्याम रेडियोको पूर्वाधार तयार गर्न ४० हजार डलर खर्च लाग्ने क्यान युएसएका कार्यसमिति सदस्य सुरेश ओझाले उल्लेख गर्नुभएको थियो। ह्याम रेडियोको पूर्वाधारका लागि नेपाली प्राविधिकहरुले समेत आवश्यक रकम सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए।

भारत र चीन जस्ता सूचना प्रविधि क्षेत्रमा अग्रणी स्थान लिइरहेका मुलुकबाट नेपालले फाइदा लिनसक्ने भएकोले त्यसका लागि उचित वातावरण बनाउन विज्ञहरुले सुझाव दिएका थिए।

नेपालको टेलिमेडिसिन क्षेत्रको विकासका लागि समेत अमेरिकामा रहेका नेपाली प्राविधिकहरुले आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

कार्यक्रममा नेपाल र अमेरिकामा रहेका झण्डै चार दर्जन नेपाली इन्जिनियर, सूचना प्रविधि क्षेत्रका विज्ञहरुको सहभागिता थियो। क्यान युएसएले नेपालमा सूचना प्रविधि क्षेत्रको विकासका लागि गर्नुपर्ने कार्यहरुका बारेमा कार्यक्रमहरु गर्दै आएको छ।