सलमानले शाहरूखलाई धक्का दिन सकेनन्

अनुमान गरेभन्दा धेरै दिनपछि सलमान खान अभिनित फिल्म ‘जय हो’ ले सय करोड भारु कमाएको छ । फिल्मले १० दिन लगाएर सो आँकडा छुन सफल भएको हो। जबकि फिल्मले रिलिज भएको तीन दिनभित्रै सो आँकडा हासिल गर्ने अनुमान गरिएको थियो।

Salman Jaya Hoतीन दिनमा फिल्मले जम्मा ६० करोड कमाउन सक्यो। ‘चेन्नई एक्सप्रेस’ र ‘धुम ३’ को रेकर्डलाई कमाइमा चुनौति दिने धेरैको अनुमान थियो। ‘धुम ३’ ले तीन दिनमै सय करोडभन्दा बढी कमाएर सर्वाधिक चाँडो सय करोड कमाउने फिल्ममा रेकर्ड राखेको थियो। ‘धुम ३’ लाइ ५०० करोड कमाउने पहिलो फिल्म मानिन्छ । यसअघि सर्वाधिक चाँडो सय करोड कमाउने फिल्ममा चेन्नई एक्सप्रेसको रेकर्ड थियो।

सलमानको जय हो फिल्मले अघिल्लो हप्ता ८८ करोड कमाएको थियो भने यो हप्ताका सुरुका तीन दिनमा १३ करोड थप्दै बल्ल सय करोड पुर्‍याएको हो। भारतका ४५ सयभन्दा बढी पर्दामा रिलिज भएको फिल्मले समीक्षकहरुबाट ठन्डा प्रतिक्रिया पाएको थियो भने दर्शकहरुले पनि फिल्मलाई खासै राम्रो मानेका थिएनन्।

जय हो सँगै सलमान खान अभिनित ६ वटा फिल्म सय करोड क्लबमा सामेल भएका छन्। यसअघि दबंग, बडिगार्ड, रेडी, एक था टाइगरु र दबंग २ ले पनि सय करोड कमाएका थिए।
सलमानले यही खुसीमा जय होमा काम गर्ने सबैलाई एक लाख भारु बोनस बाँडेका छन्। करिब दुई सय जनालाई जनही एक लाखका दरले पैसा बाँडिएको छ।

जय हो बल्लतल्ल सय करोड ब्यापार गर्ने क्लबमा दरिए पनि सलमानको स्टारडमलाइ भने यसले सहयोग पुर्याएको छैन । जय हो ले फिल्म इन्डस्ट्रीका रेकर्ड तोडेको भए उनले अर्का खान शाहरूखलाइ धक्का दिएको मानिन्थ्यो । तर ब्यापक प्रचारबाजीबाट पनि फिल्म खासै सफल नरहे पछि उनलाइ शाहरूखको पछाडि नै राखिनेछ ।