विनायकप्रसाद धिताल
दशैँ हिन्दूको मात्रै नभएर सम्पूर्ण नेपालीको चाड भएकोले यसलाई राष्ट्रिय पर्वका रूपमा मनाइन्छ । दशैँको धार्मिक तथा आध्यात्मिक पृष्ठभूमिमा शक्तिरूपा देवीको उपासना र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयघोषको पौराणिक वर्णन पाइन्छ । यही पौराणिक आधारलाई लिएर नौ दिनसम्म हिन्दू धर्मावलम्बीका घर, शक्ति पीठहरूमा नवदुर्गा देवीको पूजा अर्चना गरिन्छ । घटस्थापनादेखि क्रमशः शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदातृको पूजा हुन्छ । यस पूजा अथवा अनुष्ठानलाई नवरात्र पर्व पनि भनिन्छ । नवरात्रमा पाठ गरिने दुर्गा सप्तशती अथवा चण्डी मार्कण्डेय पुराण अन्तर्गतको एक अंश हो । यसमा भएका सात सय श्लोकलाई १३ अध्याय र प्रथम, मध्यम, उत्तम चरित्रमा विभाजन गरिएको छ । दुर्गादेवीलाई चण्डी पनि भनिने हुँदा उक्त स्तोत्र पाठ गर्नेहरू छोटो रूपमा चण्डीपाठ भन्दछन् ।
चण्डी स्तोत्रमा सुरथ राजा, समाधी वैश्य, मेघाऋषि, महिषासुर, चण्डमुण्ड, रक्तविज आदिको वर्णन र भगवती दुर्गाका विभिन्न रूपबाट दानवी शक्ति र आसुरी स्वभाव निर्मूल गरी कुनै कारणबाट चिन्ताग्रस्त जीवन बिताउन बाध्य भएकालाई ओजस्वी जीवन दिन, पलायनवादी जीवन गुजार्नेलाई ढाढस दिई उत्सुकता जगाई शान्ति सञ्चार गराउने प्रेरणा दिएको छ ।
बाहिरी रूपमा नेपालमा छुवाछूत प्रथा तथा जातीय भेदभाव भए पनि त्यस्ता पक्षलाई खास मान्यता नदिन चण्डीपाठ हुने शक्ति पीठहरूमा विभिन्न जातिका मानिस पुजारी राखिएका छन् । काठमाडौँ गुह्येश्वरीमा नेवार समुदायका पोडे पुजारी, गोर्खाको मनकामना, कालीका मन्दिर र अन्य मन्दिरमा मगर पुजारी, कालीकोटको देवी मन्दिरमा सार्की पुजारी, तराईका धेरै मन्दिरमा आ–आफ्नै पुजारी भएका हुँदा दशैँमा गरिने पूजा अर्चनाले समावेशी भावनालाई सम्प्रेषण गर्न खोजेको बुझिन्छ ।
दशैँ धार्मिक दृष्टिकोणले मात्र नभई प्राकृतिक र सामाजिक दृष्टिकोणले पनि अत्यन्त महìवपूर्ण पर्व हो । यसले बृहद राष्ट्रियताको भावना सञ्चार र अभिवृद्धि गर्न टेवा प्रदान गर्दछ । किन भने यो चाडका क्रममा आ–आफ्ना बाध्यताले यत्रतत्र छरिएर बसेका सम्पूर्ण नेपाली एकत्रित हुन्छन्, एक आपसमा शुभकामना आदनप्रदान गर्दछन् र राष्ट्रिय एकताको माहोल सिर्जना गर्दछन् ।