सन् २०२० मा एशियाली मुलुक जापानले ओलम्पिक आयोजना गर्न पाउने भएको छ । टर्कीको इस्तानवुल र स्पेनको म्याड्रिड शहरलाई पछि पार्दै टोकियोले बाजी मारेको हो। शनिवार भएको मतदानमा यी तीन शहरका तर्फबाट ति देशका प्रतिनिधिले आफ्नो देशको शहरमा गराउन मतदाताहरुलाई मनाउने प्रयास गरेका थिए। यसमा जापानले बाजी मार्यो।
जापानी प्रधानमन्त्री सिन्जो आवेले फकुसिमा आणविक भट्टीमा भएको चुहावटको कुनै पनि असर टोकियोमा नरहेको विश्वास दिलाउनुभएको थियो । टर्की प्रधानमन्त्री रिसेप तायप एर्डोगानले अन्तराष्ट्रिय ओलम्पिक कमिटीलाई इस्तानवुलमा खेल आयोजना गर्न आग्रह गर्दै विश्वभर शान्तिको सन्देश दिन आग्रह गर्नुभएको थियो।
म्याड्रिडका तर्फबाट प्रधानमन्त्री मारियानो रे-जोयले आफूहरु ओलम्पिक खेलका लागि तयार तथा पूर्ण रुपमा सुरक्षित रहेको बताउनुभएको थियो।
तीन शहरले दुई बर्षपछिको सघन ‘लविङ’ तथा लाखौँ डलर खर्चिएर गरिएको ‘क्याम्पेन’ पछि अन्ततः टोकियोले बाजी मारेको हो। संसारकै खेलको ठूलो प्रतिष्पर्धा आफ्नो देशमा गराउनका लागि पछिल्ला समयमा निकै ठूलो चलखेल हुन लागेको छ। अन्तराष्ट्रिय ओलम्पिक कमिटीको ९५ सदस्यहरुले तीन शहरहरुबीच गरेको मतदानमा म्याड्रिड पहिलो चरणबाट बाहिरिएको थियो। दोस्रो चरणमा इस्तानबुललाई हराएर टोकियोले बाजी मारेको हो।