विदेशको कमाइ र समाजमा दीर्घकालीन उपयोग

हरेक वर्ष बढ्दो दरमा विदेसिइरहेका नेपालीहरूको अवस्था हेर्दा नेपालीहरू नेपालप्रति कम र विदेशप्रति बढी आश्रित बनिरहेका छन् । देशको विकासको लागि यो अवस्था सकारात्मक होइन । विदेश जानेमध्ये केहीको घरपरिवारको पहिलेभन्दा बिजोग भएको देखिएको छ । कतिपयले घरमा बालबच्चा र पत्नी हुँदाहुँदै विदेशमैं बिहे गरेर घरजम गरेको खबरसमेत आउन थालेको छ । हो, मानव हो, मानवको मन हुन्छ र केही जैविक आवश्यकता पनि हुन्छ । नेपालीहरू विदेशमा आफ्नो जवानी खर्च गर्न मात्र जान्छन् । सामान्यरूपमा अठारदेखि चालीस वर्ष उमेर समूहका मानिस विदेश गइरहेका छन् र यो अत्यन्त उर्वर उमेर हो । यही उमेरमा उसले एकातिर बढी कमाएर आफ्नो सपना साकार पार्नुपर्ने हुन्छ भने अर्कोतिर मोजमस्ती पनि गर्नुपर्ने हुन्छ । नेपालमा दुवै कुरा एकै ठाउँमा निम्नवर्गका लागि सम्भव छैन । यसैले अधिकांश युवा पहिले कमाइ गर्न विदेश जाने तयारी गर्छन् ।
गत महिना हवाइजहाजको बाटो करिब पचास हजार नेपाली कामको खोजीमा विदेश गए । भूपरिवेष्ठित देश भएको हुनाले भारत र भारत भएर तेस्रो देशमा कामको खोजीमा जाने नेपालीको सङ्ख्या अझ बढी नै होला । काम गर्ने उमेरका तीस लाखको सङ्ख्यामा नेपाली अहिले विदेशमा हुनुपर्छ भन्ने अनुमान छ । नेपालीहरू विदेशको लागि जन्मिएका होइनन्, तर नेपालमा कामको अभावले विदेश जान बाध्य छन् र प्राय: गाउँका युवामा बाहिर जाने प्रवृत्ति बढेकोले समाजमा नयाँ विकृति जन्मिरहेको छ । नयाँ किसिमको विकृति चाहिं समाजको संरचनामा प्रहार गर्ने मात्र नभई पुरातन सोचमा अकल्पनीय परिवर्तन गराउने खालको छ । पुरानो समाजले नपचाउने मात्र होइन कि पचाउनै नसक्ने तर नयाँ समाजमा विस्तारै सामान्य बन्न थालेका विकृतिहरूले समाजको सम्बन्धको विषयमा नयाँ बहसको आवश्यता अनुभव गराएको छ ।
लाखौं नेपालीले विदेशमा कमाएर दैनिक करोडौं रुपियाँ नेपाल पठाइरहेका छन् । हरेक दिन करोडौं रुपियाँ नेपाल आए पनि एकजना बौद्धिक मानिसका अनुसार गाउँमा सरकारी बजेट आएजस्तै सखाप भइरहेको छ । गाउँमा आएको रकमले सामान्यतया जग्गाजमिन किन्ने र घर बनाउने काम भइरहेको देखिन्छ । यतिसम्म गरिब नेपालीको हकमा ठीकै मान्नुपर्छ तर विदेशमा नेपाली गइरहेका र हरेक महिना पठाइरहेको पैसाको अनुपातमा घर र जग्गाको कारोबारमा पनि खासै प्रगति देखिएको छैन । नेपालमा अन्य देशजस्तै घरजग्गा कारोबारमा जुनरूपमा मन्दी आएको छ, त्यसले उकालो लाग्ने नामै लिइरहेको छैन । यदि पैसाको उपयोग यस क्षेत्रमा भएको भए उत्साहजनक प्रगति देखिन्थ्यो । घर जग्गाको भाउमा अन्य सामग्रीको तुलनामा कम मूल्य वृद्धि हुनु र पहिलेको तुलनामा यस क्षेत्रमा निकै चहलपहल देखिनुले पनि यसलाई पुष्टि गर्दछ ।
विदेशबाट पैसाको आगमन बढेको र घरजग्गाको लगानीमा खासै वृद्धि हुन नसकेको सन्दर्भमा नेपालीको पैसा कहाँ गइरहेको छ भन्ने कुराको विश्लेषण गरिनु आवश्यक छ । पैसा घरमैं थन्क्याएर राख्ने प्रवृत्ति पनि गरिब र मध्यमवर्गमा हुनु नपर्ने हो । यस अवस्थामा विदेश जानुअघि साहुसित लिएको रकम र ब्याज भुक्तानीका साथै महँगामहँगा सामान खरिद पनि हुन सक्छ । तर साधारण ग्रामीणले एउटा राम्रो मोबाइल, एउटा टेलिभिजन र स्कूल–कलेज पढिरहेका बालबालिकाको लागि एउटा ल्यापटपसम्म त किन्ला । यसभन्दा बढी खास गरगहना विदेशमा किन्ने गरेको कमै पाइएको छ । नेपालीले नियमित रूपमा रकम पठाइरहेको र रकम आइरहेको सन्दर्भमा यसको सदुपयोग खासै भइ नरहेको देखिन्छ । रकमको वास्तविक सदुपयोग नभएको अवस्थामा पैसा के भइरहेको छभन्दा पैसाको के गर्नुपर्छ भनेर राज्यले जनचेतनामूलक अभियान थालनी गर्नु आवश्यक छ ।
गाउँको सार्वजनिक विकासमा व्यक्तिगत रुपियाँ लगानी गर्ने बानी छैन । राज्यले गाउँ भित्रिइरहेको रकम गाँस, बास र कपासमा खर्च गर्न सिकाइरहनु पर्दैन । आधारभूत आवश्यकता परिपूर्ति गर्न विदेश गएका नेपालीले आफ्नो रकम खर्च गरिरहेको छ नै । यसको तुलनामा शिक्षा र स्वास्थ्यमा लगानी हुन सकेको छैन । विदेशमा राम्रो कमाइ गरिरहेका गरिबहरूले आफ्ना छोराछोरीको पढाइ र पारिवारिक स्वास्थ्यमा खासै लगानी गरेको देखिएको छैन । यस क्षेत्रमा कसरी लगानी वृद्धि गर्न सकिन्छ भन्ने कुरातर्फ राज्यको सोचाइ जानु जरुरी छ । ग्रामीण नेपालीको हरेक घरमा अहिलेसम्म स्वस्थ खानेपानीको व्यवस्था हुन सकेको छैन । हरेकको घरमा शौचालय बन्न सकेको छैन । गाउँको सार्वजनिक जग्गा सबैको सामूहिक शौचालय बन्ने गरेको छ ।
विदेशबाट कमाएर ल्याएको रकमको गैरउत्पादक कार्यमा उपयोग हुने गरेको छ । यसलाई उत्पादनमूलक कार्यमा लगाउने प्रवृत्ति विकास हुनु जरुरी छ । हो, हामीले विदेशमा काम गर्न सिक्यौं, विदेशीको सेवा गर्न सिक्यौं, विदेशी रुपियाँ आर्जन गर्न सिक्यौं, आफ्नोपन गुमाएर अरूको मुलुक अनुकूल बन्न सिक्यौं तर जब हामी नेपाल आउँछौं वा जब हाम्रो कमाइ नेपाल भित्रिन्छ, त्यसको त्यहींको जस्तो सिर्जनात्मक उपयोग गर्न सिकिरहेका छैनौं । आयको सिर्जनात्मक उपयोग नहुँदा पुस्ता दरपुस्ता यसैगरी विदेश जाने र पैसा ल्याएर घरव्यवहार चलाउने अवस्था आइरहन्छ । पैसा मात्र आइरहन्छ र यसले विकृतिको बीउ ब्याजमा छरिरहन्छ ।
गाउँमा भित्रिइरहेको रकमलाई दीर्घकालीन आयआर्जन भइरहने सिर्जनात्मक कार्यमा उपयोग गरिनु समयको माग हो । देशका जनता कमाउन मरिमेट्ने प्रकृतिका छन् । कमाउन मरिमेट्ने र कमाएको पैसाले गाउँमा जथाभावी घर बनाउनाले गाउँमा एम्बुलेन्ससमेत नछिर्ने भएर सन्तानको nepali-workersभविष्यसमेत साँघुरो भइरहेको छ । अब समय आइसकेको छ कमाइको कमसेकम यस्तो काममा लगानी होस् जसले सरकारी नोकरी गरेर रिटायर भएपछि सरकारले दिने पेन्सनजस्तो निरन्तर आम्दानी दिइरहोस् । यसका लागि राज्यले ठोस नीति तथा कार्यक्रम ल्याउनु जरुरी छ । अहिले केही बिमा कम्पनीले पेन्सन प्लानसमेत ल्याएका छन् । निश्चित समय लगानी गरेपछि अनिश्चत समयसम्म प्रतिफल आइरहने लोभलाग्दा योजनाहरू पनि रहेका छन् । जब नेपालीहरू विदेशमा वर्षोैसम्म काम गरिरहेका छन् भने त्यहाँ सिप पनि सिकिरहेका छन् । जो जुन पेशामा भए पनि वर्षोैसम्म काम गर्दा दक्ष भएर नेपाल फर्कन्छ भन्ने मान्यता स्वीकार गरेर त्यस्तै प्रकृतिको कामको व्यवस्था गरियो भने नेपालमा उसले राम्रो गर्न सक्ने देखिन्छ ।
नेपालीको एउटा नराम्रो बानी के छ भने विदेशमा जस्तोसुकै कडा नियम र अनुशासन पालन गरे पनि नेपाल आएपछि नियमकानुनलाई धोती लगाएर अगाडि बढ्दछन् । सरकारले त्यस कमाइलाई नेपालमा सिर्जनात्मक उपयोग गरी दीर्घकालीन आयआर्जन गर्न सक्ने क्षेत्रमा लगानी गर्ने वातावरण विकसित गर्न सक्ने हो भने नेपालको आर्थिक विकासमा योगदान दिने वातावरण फराकिलो बन्दै जाने थियो भन्ने विश्वास गर्न सकिन्छ ।
– सञ्जय साह ‘मित्र’