अनलाइन पत्रकारिताको रोचक पक्ष हो- यो ओटाइ-पल्टाइ मापन गर्न सकिन्छ । जस्तैः पृष्ठ कति पटक हेरियो ? त्यस पृष्ठ अघि र पछि सर्फरले के गर्यो ? पृष्ठमा कति समय खर्चियो ?
अनलाइन पत्रकारिता सस्तो, सुलभ र सजिलो पनि छ । उसो त, स्तरियताको मामिलामा पनि सस्तोपन देखिन्छ । पत्रकारिता यति ब्यापक बनेको छ की फेसबुक स्टाटसदेखि यु-ट्यूबका अडियो-भिजुअलसम्म पत्रकारै पत्रकारहरूको ताँती देखिन्छ । इन्टरनेटको लोकप्रीयताले गर्दा समाचार सम्प्रेषण र विचारको प्रस्तुति सबैको पहुँच र योगदान बनेको छ । प्रविधि र सामाजिक मिडियामा भएको यस्तो विकासले सबै नागरिक पत्रकार बनेका छन् । त्यसैले भन्ने गरिन्छ- नागरिक पत्रकारिता । यस्तो पत्रकारिताको उद्देश्य चाहिँ के होला ?
एक्काइसौं शताब्दी मिडियाको युग हो । नेता, सेलेब्रिटी र कुनै एजेण्डाको उदय र अस्तमा मिडियाको पुरापुर भूमिका हुन्छ । प्रिन्ट, रेडियो र टिलीभिजन पत्रकारितापछि कान्छो भाइका रूपमा हर्लक्क विकसित भएको अनलाइन मिडियाले पत्रकारिताको परिभाषा र रूपरेखा नै बदलिदिएको छ ।
के हो त पत्रकारिताको सफलता ?
यसका पाठक/श्रोता सँख्या ? वा ती पाठकको प्रतिक्रिया ? लोकप्रिय हुनु नै सफलता हो वा गुगल सूचीमा उक्लनु ? अनलाइन मिडियाको विकाससँगै यावत प्रश्नहरू उठेका छन् ।
वेबसाइटहरूको लोकप्रीयताको हिसाब राख्ने Alexa.com को सूची अनुसार नेपालीका आफ्ना देशका ४ सर्वप्रिय साइटहरूमा यी छन्-
१) अनलाइन खबर
२) इकान्तिपुर
३) नागरिकन्युज
४) सेतोपाटी
नेपालबाहिरबाट नेपाली समुदायको सर्वाधिक प्रियमा ‘नेपाल क्यानडा डट कम’ र ‘डिसी नेपाल डट कम’ रहेका छन् । कान्तिपुर र नागरिक ग्राहक आबद्धतामा चलेका पत्रिका हुन्, जसको सयौं संवाददाता र सम्पादकको बृहद् टिम छ । अर्को तर्फ, पपुलारिटीको पहिलो स्थानमा रहेको, तर अपेक्षाकृत सीमीत ब्यक्तीहरूबाट संचालित, अनलाइन खबरमा टेबल मै बसीबसी बनाइएका र अन्य पत्रिकाहरूको टिपनटापन समाचार ज्यादा हुन्छन् । त्यस्तै लोकप्रियताको ८औँ स्थानमा रहेको ‘माई संसार’ ब्लग ब्यक्तिगत हो, जसमा उनका केही हितैषीहरूको योगदान थपिन्छ । ठूलो टिम र खर्चमा चल्ने नेपालमा दर्जनौं संचार गृहहरू छन् जसले अनलाइन क्लीकमा ‘टप 10’ , ‘टप 20’ बन्न सकेका छैनन् ।
प्रश्न उठ्छ, पत्रकारिताको मापन सधैँ सफलतासँग जोडिने कुरा हो ? अझ अनलाइन पत्रकारिताको कुरा गर्दा पत्रकारिताको सफलता भनेको क्लीकसँग जोडिने कुरा हो ? भन्ने सीधा सवाल उठ्छ ।
वास्तवमा, पत्रकारिताको मर्म ‘ब्यापक जनादेश’ सँग जोडिएको छ । तसर्थ यसलाई राज्यको ‘चौथो अङ्ग’ पनि भनिन्छ । कान्तिपुर र नागरिकका पाठकका भोक अनुसन्धानात्मक रिपोर्टिङ् पढ्ने हुन्छ । खोजी समाचारका निम्ति तिनको ठ्रलै सँजाल छ । अर्कोतर्फ तिनै समाचारलाई क्षणभरमा ‘कपी-पेस्ट’ गरेर अर्को सोसल मिडियाले ‘लाइक’ खान्छ ।
कुनै अनलाइन समाचारको ‘पपुलर हिट’ केलायौं भने त्यो या त मनोरञ्जनात्मक समाचार हुन्छ वा यौनसँग सम्बन्धित हुन्छ । अर्थात्, अनलाइन आधार भएका मिडियाले सामाजिक दायित्व निर्वाह गर्ने भन्दा ‘ज्यादा भन्दा ज्यादा’ क्लिक मात्रै खोजेका पाइन्छन् । यस तथ्यलाई विश्लेषण गर्दा पत्रकारिताको मर्यादा परिवर्तित हुँदैछ, जसरी अश्लिलताको पुरानो सोच-विचार बदलिंदैछ ।
तैपनि फेरि प्रश्न उठ्छ, पत्रकारिता के का निम्ति ? सर्वप्रियता वा सामाजिक जनादेश ! नागरिक पत्रकारिताको विकास हुँदा सबैले हेक्का राख्नै पर्ने हुन्छ ।