लण्डनको विश्व रङ्गमञ्चमा नेपथ्य

Nepathya wembleyसाँगीतिक कार्यक्रमहरूका लागि विश्वचर्चित लन्डनको वेम्बली एरेनाको मञ्चमा शनिबार पहिलो पटक नेपाली संगीत गुञ्जियो- नेपथ्यको । विश्वका हस्ती सेलिब्रेटीहरुले गुञ्जाउने वेम्बली एरिनामा शनिबार नेपथ्यका गायक अमृत गुरुङले सहकर्मीहरू लेक्स लिम्बू र प्रतिक्षा गुरूङ्ग सहित नेपाली सुमधुरता मात्रै पस्किएनन्, नेपाली आवाज र नेपाली संगीत मै इतिहास समेत रच्न सफल भए । नेपाली संगीतको ब्यापकता, लोकप्रीयता र बढ्दो प्रभावलाइ नेपथ्यले सार्थक रूपमा प्रस्तुत गर्यो ।

लण्डनको दोस्रो ठूलो हल एरेनामा नेपथ्यले आफ्ना चर्चित गीतहरु जीवन हो घाम छायाँ …, ‘रेसम’ …, भेडाको उन जस्तो …, तालको पानी.., चरी मर्‍यो सिसैको गोलीले, बिन्ति छ मेरो एउटा चिठ्ठी…, जोगले हुन्छ भेट …, छेक्यो छेक्यो … लगायत एक दर्जन बढी गीत पस्किरहँदा उपस्थित नेपाली श्रोताहरू मन्त्रमुग्ध भएर झुमिरहेका थिए ।
आफ्ना सहकर्मीका साथमा गायक गुरुङले राष्ट्र-प्रेमले अोतप्रोत रातो र चन्द्र सूर्य गाउँदा उपस्थित सबैको स्वरले पूरै एरेना गुञ्जायमान बनेको थियो । दर्शकहरूको मैत्री सहभागीतामाझ गायक गुरुङले उपस्थित दर्शकहरुको माया र उपस्थितिले आफू निकै हर्षित भएको प्रतिक्रिया व्यक्त गरिरहे ।

nepathyaperformingonstageकरिब २ घण्टा चलेको नेपथ्यको सांगीतिक प्रस्तुतिमा दर्शक–श्रोताहरूले निरन्तर गायक अमृत गुरुङ र उनको नेपथ्य समूहलाई साथ दिईरहे ।
यसअघि विश्वका अमेरिका, अष्ट्रेलिया, हङकङ, दक्षिण कोरिया, बेल्जियम लगायतका देशमा आफ्नो सांगीतिक प्रस्तुति दिईसकेको नेपथ्यले नेपालका धेरैजसो जिल्लाका रङ्गमञ्चहरूमा आफूलाई देशको माटो सुहाउँदो प्रस्तुतिका साथमा उभ्याएर अब्बल सावित गरिसकेको छ । नेपाली लोक लयलाइ आधुनिक रूपमा संयोजन गर्ने अमृत गुरूङ्गका गीतहरू लोकप्रीय छन् ।

नेपथ्यले इतिहास रचेको वेम्बली एरेनामा विश्व चर्चित सांगीतिक समूहहरू विटल्स, स्पाइस गर्लस् लगायत साकिरा, म्याडोना, ब्रिट्नी स्पेयर्स, टेलर स्वीफ्ट सहित विश्वप्रसिद्ध अनेक गायक गायीकाहरूको स्वर गुञ्जिसकेको छ । त्यही ठाउँमा अगस्ट ३ को रात नेपथ्य समूहले पहिलो पल्ट नेपाली संगीत गुञ्जायो । साँगीतिक साँझमा गायक गुरूङ्गले राष्ट्र-प्रेम जगाउँदै विदेशका नेपालीहरूले स्वदेशमा आ-आफ्ना गाउँमा विपन्न विद्यार्थीहरूलाइ सहयोग गर्न पनि आग्रह गरे ।
नेपालयको संयोजनमा नेपथ्यले एरेनामा आफ्नो सांगीतिक प्रस्तुति गरेको हो ।