झण्डै पौने चार वर्षसम्मको अमेरिका बसाईपछि चर्चित कलाकार गौरी मल्ल फागुन २८ गते बुधबार नेपाल फर्किन्। लामो न्युयोर्कबसाईपछि लामो समयका लागि नेपाल आएकी गौरी मल्ललाई विदाई गर्न फागनु २६ सोमबार न्युयोर्कमा युनाइटेड नेप्लिज आर्टिस्ट एशोसियसन अमेरिकाले कार्यक्रमको आयोजना गरेको खसोखास अनलाइन डटकमले खबर प्रसारण गरेको छ। गौरी सो संस्थाकी संस्थापक अध्यक्ष समेत हुन्।
विदाई कार्यक्रममा बोल्दै गौरीले आमा विरामी भएकाले नेपाल फर्किन लागेको र नेपाल फर्केपछि अब नेपालमा नै बस्ने जानकारी दिंदै भनिन्– ‘डाक्टरहरूले तपाईको आमा अहिले कुन संयोगले बाँचिरहनुभएको छ हामी नै आश्चर्यमा छौं भनेर भनेका छन्। मेरो बुबाआमाका अगाडि संसारको कुनै पनि सुख मेरा लागि अर्थहीन छ। म त्यसलाई कुनै हालतमा महत्व नदिने मान्छे हुँ। जस्तो सुकै सुख होस् मलाई चाहिन्न। मेरो खुशी भनेको मेरो बुबाआमा नै हो। त्यसैले म नेपाल जाँदैछु।’ गहभरी आँशु पार्दै गौरीले भनिन्– ‘आमा विरामी भएदेखि एकएक सेकेण्ड रुदै बसें म। त्यो कुनै समाधान होइन मेरो लागि। उहाँको छिट्टै अपरेशन गर्नुपर्ने छ। डाक्टरहरूले बाँच्ने चान्स आधाआधा रहेको बताएका छन्। बुढेशकालमा आफ्नो सन्तान आफ्नो वरिपरी रहोस् भन्ने इच्छा सबै बाबुआमाको हुन्छ। उहाँले मेरो अनुपस्थिति विना अपरेशन नगर्ने भन्नुभएको छ। मेरा लागि बाबुआमा नै सबैभन्दा ठूलो भएकाले म नेपाल जाँदैछु।’ उनले अझ अगाडि भनिन् – ‘तपाईहरूसँग अमेरिकामा नै भेट्ने संयोग लेखिएको छ भने एकदुईवर्षपछि फेरि हाम्रो भेट होला तर यतिबेला मेरो पहिलो प्राथमिकता भनेको मेरो बुबामुमा हो। तपाईहरूले पनि मेरो मुमाको स्वास्थ्यका लागि प्राथना गरिदिनुहोला। अप्रेशनका बेलामा मेरो उपस्थिति मुमाको इच्छा भएकाले अहिले तत्काल नेपाल फर्किने निर्णय लिएकी हुँ।’ उनले अमेरिकामा रहेका कलाकारहरूलाई एकजुट भएर अगाडि बढ्न समेत आग्रह गरिन्।
कार्यक्रममा उनले आफू अध्यक्ष रहेको संस्था युनाइटेड नेप्लिज आर्टिस्ट एशोसियसन अमेरिकाको अध्यक्ष पदमा अबदेखि नरहने पनि स्पष्ट पारिन्। नेपालमा फर्केपछि नयाँ चलचित्रमा अभिनय गर्ने समेत उनले जानकारी दिएकी छिन्। उनले भनिन् – ‘एउटा चलचित्र निर्माणका लागि मलाई पाँचवर्षदेखि उनीहरूले कुरेर बसेका छन्। चलचित्रको नाम नै ‘गौरी’ हो। मुख्य पात्रको रुपमा म रहेकी छु। कथा पनि एकदमै राम्रो छ। त्यो मेरो ड्रिम प्रोजेक्ट हो। म पनि त्यो प्रोजेक्ट छाड्न चाहन्न। पारिवारिक समस्या समाधान भइसकेपछि त्यो प्रोजेक्टमा लाग्छु।’
गौरी मल्लसँगै अर्का चर्चित कलाकार रमेश उपे्रतीपनि लामो समयका लागि नेपाल फर्किएका छन्। उप्रेतीले गौरीमल्ललाई इंकित गर्दै भने – ‘जुन व्यक्ति जहाँ उपयुक्त हुन्छ त्यही बस्नुपर्छ। नेपाली फिल्म उद्योगमा अहिले उहाँको खाँचो छ। पहिले करिष्मा मानन्धरलाई नेपाल फर्किनका लागि अनुरोध गर्ने व्यक्ति पनि म नै हुँ। मेरै पहलमा करिष्मालाई नेपाल फर्काइएको हो। अहिले पनि सँगै नेपाल जाने अवसर पाएको छु।’ विदाई कार्यक्रममा कलाकार गौरी मल्लले भनिन् –’पहिले म एउटा चलचित्रमा रमेशको आमा भएर खेलेकी थिएँ , अब रमेशको छोरी भएर खेल्ने इच्छा छ।’ गौरीले कलाकारको हितमा युनाइटेड नेप्लिज आर्टिस्ट एशोसियसन अमेरिकाको स्थापना गरिएको र आफू त्यसको अध्यक्ष भएपनि आफूलाई केही कलाकारले विभिन्न आरोपहरू लगाएकोमा दुखेसो पोखिन्। उनी निकै भावुक हुँदै गहभरी आँशु पार्दै भनिन् – ‘मलाई गलत आरोपहरू लगाइएको छ। त्यसको न्याय भगवानले नै गर्नेछ।’ रुदाँरुदैको हाँसो र हाँस्दाहाँस्दैको आँशुले भरिएको विदाई कार्यक्रममा कलाकारहरू निकैपटक दिल खोलेर हाँसे भने निकैपटक भावुक भएर रोएपनि।
गौरीको विदाई कार्यक्रममा न्युयोर्कका अधिकांश चर्चित नेपाली कलाकारहरूको उपस्थिति रहेको थियो। कलाकार विक्रान्त बस्नेत, सपना श्री, राजकपुर, शिशिर श्रेष्ठ, धर्मवीर लामा, कृष्णमान तुलाधर, न्हुच्छे नारायण डंगोल, राम श्रेष्ठ, नरबहादुर दाहाल, अञ्जना गुरुङ, राजेश थापा, कन्हैया सिंह, फिरोज स्याङदेन, बिमल डाँगी, विश्व लामा, सुमन बुढा , यशोदा खालिङ, पबिता बागचन्द, गीता बिर्लाकोटी, गोपाल नेपाल, बशन्ती राई, बिमल बुढाथोकी, रमेश उप्रेती, सञ्जोग लामा, तिलक श्रेष्ठ, विजय नकर्मी र सृजना लामाले गौरी मल्ललाई आगामी दिनका लागि सफलताको शुभकामना दिएका थिए।