यौन विज्ञान प्रबन्ध ‘सृष्टिको रोमान्स’ बजारमा

यौन चिकित्सक सुबोधकुमार पोखरेलको यौन विज्ञानमा आधारित प्रबन्धको सङ्गालो ‘सृष्टिको रोमान्स’ नामक कृति बजारमा आएको छ।
सो पुस्तकमा हस्तमैथुनः आवश्यकता कि विवशता, यौन, यौवन, मैथुन र संभोग, यौवनको बगँैचाको पहिलो फूल, दाम्पत्य जीवन, श्लील र अश्लील, भोगीको भटभटेमा जोगीको डेरासम्म, प्रतिनिधि कथा, नारी पुरुष सबन्धका रुपहरु, प्रेम र घृणा, चरम आनन्द, यौन विचलन, समलिङ्गी सम्बन्धदेखि यौन शिक्षाका सम्बन्धमा आधारित विषयवस्तु समेटिएका छन्।
यौन मनोविश्लेषणका क्षेत्रमा ख्याती कमाउनुभएका चिकित्सक पोखरेलको दोस्रो कृतिका रुपमा प्रकाशित सृष्टिको रोमान्स नामक पुस्तक २३१ पृष्ठको छ।सो पुस्तकको आज यहाँ आयोजित समारोहमा लोकार्पण गर्दै वरिष्ठ स्त्रीरोग विशेषज्ञ भोला रिजालले यौन शिक्षाका लागि नेपाली बजारमा सृष्टिको रोमान्सले भागवत् गीता जस्तै मूलमन्त्रका रुपमा लोकप्रियता हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।
booksयौन शिक्षाका बारेमा उत्पन्न हुने सबै खाले जिज्ञासा र कौतुहलतालाई प्रकाशित पुस्तकले शान्त तुल्याउने बताउँदै उहाँले यौन शिक्षाको बारेमा कुरा गर्दा मुख लुकाउने र लजाउने समाजलाई यौनका बारेमा जानकारी दिलाउने सिलसिलामा चिकित्सक पोखरेल यौन शिक्षा क्षेत्रमा नक्षत्रका रुपमा स्थापित हुनुभएको उल्लेख गर्नुभयो।
पुस्तकका सर्जक चिकित्सक पोखरेलले नेपालमा यौन स्वास्थ्यका बारेमा संस्थागतरुपमा जानकारी लिन सजिलो होस् भन्ने उद्देश्यले सृष्टिको रोमान्स पुस्तक प्रकाशनमा ल्याएको र यसमा प्रतिनिधि कथासमेत समेटिएको जानकारी दिनुभयो। यो पुस्तकको अध्ययनबाट सैद्धान्तिक मात्र होइन, व्यावहारिक ज्ञान बढाउनसमेत मद्दत गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
नेपाल इन्स्टिच्युट अफ ह्युमन सेक्सुआलिटीले प्रकाशनमा ल्याएको सो पुस्तकको पैरवी बुक हाउस पुतली सडकले वितरकको जिम्मा पाएको छ। पातलो गाताको रु २७५ तथा बाक्लो गाताको रु ४९५ मूल्य रहेको सो पुस्तकमा ४४ परिच्छेद रहेको छ।