मलेशियामा जारी एसीसी यू-१६ प्रिमियर लिगमा नेपालले बहराइनलाई १ सय ८६ रनको फराकिलो अन्तरले पराजित गर्दै चौथो जित हात पारेको छ |नेपालले यसअघिका खेलमा थाइल्यान्ड, सिंगापुर र ओमानलाई पराजित गरेको थियो|
सोमबार सिलेङगर क्लब मैदानमा भएको खेलमा टस जितेको नेपालले निर्धारित ४० ओभरको खेलमा ८ विकेट गुमाई २ सय ३३ रन जोड्दै बहरानलाई २३४ रनको लक्ष्य दिएको थियो|जवाफमा बहराइन २४.४ ओभरमा ४७ रनमा अलआउट भएको थियो|
नेपालले अब बुधबार मलेसियासँग अन्तिम खेल खेल्ने छ|नेपालको ८ र मलेसियाको ७ अंक छ| सहभागि ६ टोलीले राउन्ड रोबिनको आधारमा खेलेपछि विजेता छानिने छ |मध्यक्रमका ब्याट्सम्यान प्रनित थापाले अविजित ७० रन बनाउँदै नेपाललाई विशाल स्कोरमा पुर्याए| ६० बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे| रवि चन्दले ४३ बलमा ३३ रन बनाए। उनले १ चौका प्रहार गरे| अन्य खेलाडीमा सुशान्तसिंह थापा २९, आशिफ शेख ८, रवीन्द्र जंग शाही २३, कप्तान सुमित महर्जन ३, जितेन्द्र सिंह ५, पवन सरार्फ २० र आशिष पोखरेल २ रनमा आउट भए। बहराइनका अभास मुज्जफर चौधरीले ३ विकेट लिए|नेपालबाट अनिल खरेलले ३ विकेट लिए| अघिल्लो दिन ओमानविरुद्ध ६ विकेट लिएका अनिलले ५ ओभरमा २ मेडन राख्दै ८ रन खर्चे| त्यस्तै आशिष पोखरेलले २ तथा रिजन ढकाल, पवन सर्राफ, जितेन्द्रसिंह ठकुरी र कप्तान सुमित महर्जनले एक-एक विकेट लिए|
एसिसी यु–१६ एलिटको नामले यसअघि दुईपटक आयोजित प्रतियोगिताको पछिल्लो संस्करणमा दुई वर्षअघि नेपाल मलेसियासँगै फाइनलमा १ विकेटले पराजित भएको थियो|