म्याग्दीमा एउटै गाउँबाट लाखौँको सुन्तला बिक्री

म्याग्दीमा राम्रो सुन्तला खेती हुने क्षेत्र मानिने एउटै गाउँबाट लाखौँ मूल्य बराबरको सुन्तला निर्यात भएको छ । सिंगा–२ बास्कुना गाउँमा यो वर्ष सुन्तला बिक्रीबाट करिब रु १७ लाख भित्रिएको छ । सबैभन्दा धेरै सुन्तला काठमाडाँस्थित कालिमाटी मण्डीमा निर्यात गरिएको स्थानीय कृषकले जानकारी दिए ।
समाचारमा जनाइएअनुसार कालिमाटीमा मात्रै २८ हजार केजी सुन्तला निर्यात गरी खर्च कटाएर रु १४ लाख ५० हजार आम्दानी भएको छ ।
त्यस्तै बोटबाटै करिब रु तीन लाखबराबरको सुन्तला खुद्रा बिक्री भएको स्थानीय कृषक बताउँछन् । कालिमाटी मण्डीमा कृषकले यातायातका साधनमार्फत ढुवानी गरी प्रतिकिलो रु ५० देखि रु ६८ सम्ममा सुन्तला बिक्री गरेका हुन् । २५ घरधुरी रहेको बास्कुनामा सबै घरले सुन्तलाखेती गरे पनि १० जना कृषकले व्यावसायिक रूपमै खेतबारीमा बगँैचा स्थापना गरी सुन्तलाखेती गर्दै आएका छन् ।
suntala-byaparसात वर्ष अगाडिदेखि स्थानीय कृषकले सुन्तलाखेती सुरु गरेको भए पनि विगत तीन वर्षदेखि निरन्तर आम्दानी गर्न थालेको बास्कुना कृषि सहकारीका अध्यक्षसमेत रहनुभएका कृषक तिलक गुरुङले बताउनुभयो । उहाँले वैदेशिक रोजगारमा गएका युवासमेत पछिल्लो समय गाउँमा कृषितिर आकर्षित हुन थालेको भन्दै गाउँलाई फलफूल, तरकारी र दुग्ध उत्पादनमा नमुना गाउँका रूपमा विकास गर्ने योजना बनाएको बताउनुभयो ।
गत वर्ष रु दुई लाखबराबरको सुन्तला बिक्री गरेका कृषक गुरुङले यो वर्ष रु दुई लाख ५० हजार आम्दानी भएको बताउनुभयो । उहाँका अनुसार गत वर्ष बास्कुना गाउँमा सुन्तला बिक्रीबाट कुल रु १४ लाख भित्रिएको थियो ।
गत वर्षभन्दा यो वर्ष बोटमा कम सुन्तला उत्पादन भए पनि सुन्तलाखेती विस्तार भएको र मूल्य राम्रो पाएकाले आम्दानी बढेको कृषकले बताएका छन् । गाउँमा खेती गर्ने जनशक्ति नहुने र फलफूलखेतीबाट आम्दानी राम्रो हुने भएपछि कृषकहरू धान, मकै, कोदोजस्ता खेती छाडेर पछिल्लो समय सुन्तलाखेतीमा आकर्षित भएका छन् ।