कविता
पासपोर्ट मेरो आशा हो, थुप्रै सपनाहरूको पाना
आफ्नै फोटोमा भने विरक्ती देख्छु ।
यही चिनारीमा म दूर क्षितिज जानेछु । धमिलो तस्वीर उजालिए झैं,
झुपडी भत्काएर निर्माण गरिएका गगनचुम्बी घरहरू ।
कुनै अध्यागमन अधिकारीले अवरोध नगरोस्
रूटमा कोही काँढा नबनोस् । परायाको विश्वास ।
ती सबै देउता झैं, प्लास्टीकका अनुहार ।
झट्ट हेर्दा ती स्वार्थी लाग्दैनन् । अपकारी छैनन् ।
सबै सोच्छन्- असभ्य व्यवहार गर्दैनन् । तर,
रूप र मान्यता धोखा पनि हुनसक्छ ।
आशा नै ज्यान हो अरबमा—
सबै सुझाउँछन् कामको प्रस्ताव
एउटा भन्छ- कुल्ली, दोस्रो भन्छ- खेताला,
अर्कोले पेश गर्यो- घरेलु कामदार, अनुग्रह भावमा
उसको अनुहार अपरिचित । ऊप्रतिको निष्ठा अस्थायी ।
ऊसँगको सीमीत अनुबन्ध, सिर्फ ज्यालाको निम्ति ।
अवसरदातालाई सहजै विश्वास गर्न सक्छु म । त्यसैमा मेरो आशाको सार छ ।
उसको कृपा र रोजगारीलाई मेरो सलाम
सन्तानलाई सुरक्षित बास, स्वास्थ्य र शिक्षाको मेरो अभिलाषा । गरिमापूर्ण,
जीवनको आकांक्षा ।
पासपोर्ट पढेर मेरो अध्यागमनले प्रवेश दियो । म अध्यागमनबाट बहिर्गमन गर्दै गर्दा,
पासपोर्टधारी लामो लाइन देखेँ ।
हातमा आशाको पासपोर्ट छ । अनेक सपनाहरूको पानाले भरिएको,
तिनको फोटो पनि
मेरो जस्तै विषाद होला !
– पंचम अधिकारी, ब्रसेल्स