महाकवि देवकोटाको सम्झना

laxmi-prasad-devkotaदेश-विदेशमा बहुमुखी प्रतिभाका धनी महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय पाँचौँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने देवकोटाको कविता र निबन्धमा विशेष योगदान रहेको छ। मुनामदन, सुलोचना, शाकुन्तलाजस्ता अमर कृतिका लागि कलम चलाएका देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो।

पण्डित तिलमाधव देवकोटा र माता अमर राज्यलक्ष्मी देवकोटाको साइलो छोराका रूपमा उनको जन्म भएको थियो। बाल्यकालदेखि नै तीक्ष्ण बुद्धिका देवकोटाले आफू १० वर्ष हँुदा नै अमरकोश तथा स्तोत्रमाला कण्ठ पार्नुभएको थियो।

तिहारको लक्ष्मीपूजाकै दिनमा महाकविको जन्म भएकाले उनको नाम लक्ष्मीप्रसाद देवकोटा राखिएको भएपनि आफ्ना हजुरबुबा ‘सरस्वतीका प्रसाद’ भएको देवकोटाका नाति प्रशान्तप्रसाद देवकोटाले बताउनुभयो।

बाल्य अवस्थापछि नेपाली साहित्यमा उनको कलम क्रमशः रुमानी (स्वच्छन्दतावाद) तर्फ अभिप्रेरित हुँदै गएको साहित्यकार हरिमञ्जुश्रीले बताउनुभयो। उहाँका अनुसार हिजोआजका नयाँ साहित्यकारहरू पनि देवकोटाको नक्कल गर्दै स्वच्छन्दतावादतर्फको साहित्यमा रुचि राख्न थालेका छन्।

नेपाली साहित्मा स्वच्छन्दतावाद भन्नाले पश्चिमा साहित्यको नक्कल भन्ने भनाइ एकाथरिको छ। केही नेपाली साहित्यकार स्वच्छन्दतावाद भनेको यथार्थभन्दा भावनात्मक र मनमा लागेका धारणालाई साहित्यमार्फत बाहिर ल्याउनु भन्ने तर्क राख्छन्।

स्वच्छन्दतावादलाई अँगाल्न पुगेका महाकविलाई पछिल्लो पुस्ताले आधुनिक कविका रूपमा पनि मानेको पाइन्छ। उनको पहिलो प्रकाशित कविता सङ्ग्रह पहाडी पुकार हो। सबैभन्दा धेरै बिक्री भएको पुस्तक ‘मुनामदन’ खण्डकाव्य भएको कवि तीर्थ श्रेष्ठले बताउनुभयो। महाकवि देवकोटाको पछिल्लो कृति ‘नागरिक शास्त्र’ रहेको कवि मञ्जुश्री बताउनुहुन्छ। विसं.२००८ मा देवकोटाले उक्त कृति लेख्नु भएपनि त्यसको प्रकाशन भने २०६८ सालमा भएको हो।

‘नागरिक शास्त्र’ नामको पाण्डुलिपिको प्रकाशन कार्य हरिमञ्जुश्री, मोहनप्रसाद पराजुली र पार्थवमणि भट्टराईको संयुक्त लगानीमा भएको हो। उक्त कृति नेपालको राजनीतिक गतिविधिबारे लेखिएको र कृतिमा नेपालको विकास गणतन्त्रबाट मात्र सम्भव भएको कुरा उल्लेख गरेकाले कवि देवकोटालाई प्रगतिवादी धारका प्रवर्तक पनि भन्ने गरिन्छ।

अहिलेका आधुनिक कविहरू देवकोटाका साहित्यमा स्वच्छन्दतावाद, प्रगतिवाद, मानवतावाद र क्रान्तिकारिता झल्कन्छ भन्छन्। महाकवि देवकोटाले सहनशीलता, सहयोगी भावना र दयाको उपदेश दिन्थे। एक दिन देवकोटा कामबाट घर फकर्िंदै गर्दा एकजना मगन्तेले पैसा माग्दै आयो। जाडोले कठ्याङ्ग्रिएको मगन्तेलाई देवकोटाले आफूले लगाइराखेको कोटसमेत फुकालेर लगाउन दिएको घटनालाई जोडेर केही साहित्यकारले देवकोटामा गहिरो मानवतावाद रहेको टिप्पणी गर्ने गर्छन्।

महाकवि देवकोटालाई विपुल कवि पनि भनिन्छ। उनले कलम नचलाएको विधा नै छैन। उनले आफ्नो जीवनको छोटो समयमा कविता, गीत, बालसाहित्य, महाकाव्य, निबन्ध, नाटक, उपन्यास तथा कथासमेत लेखेका छन्।

उहाँका कवितातर्फ पहाडी पुकार, पुतली, भिखारी, सुनको बिहान, छहरा, जन्मोत्सव, मुटुको थोपा, मृत्यु श्ययाबाट, चिप्लापातहरू, लक्ष्मी कविता सङ्ग्रह लगायतका कविता सङ्ग्रह र गीततर्फ गाइने गीत, आकाश बोल्छे र बालसाहित्यमा सुनको बिहान, पुतली लगायतका कृति प्रकाशित भएका छन्।

त्यसैगरी महाकवि देवकोटाका खण्डकाव्यअन्तर्गत मुनामदन, रावण जटायु युद्ध, सीताहरण कृषि बाली, कुञ्जिनी, लुनीलगायत छन् भने महाकाव्यतर्फ शाकुन्तला, सुलोचना, पृथ्वीराज चौहानलगायत प्रकाशित छन्। निबन्धतर्फ ल्क्ष्मी निबन्ध सङ्ग्रह र दाडिमको रूखनेर, नाटकतर्फ सावित्री सत्यवान्, उपन्यासमा चम्पा र कथातर्फ लक्ष्मी कथा सङ्ग्रहसमेत प्रकाशित छन्।

साहित्यकार वसन्त शर्माले आफ्नो लेखमार्फत देवकोटाले तीन महिनामा ‘शाकुन्तला’ १० दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेको बताउनुहुन्छ। दरबार हाई स्कुलबाट आफ्नो पढाइ सुरु गरेका देवकोटाले बिए, बिएल र अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका थिए।

आर्थिक अवस्थ दयनीय रहेका देवकोटाले आफ्नो खर्चको व्यवस्था केटाकेटीलाई ट्युसन पढाएर गरेको पाइन्छ। देवकोटाको विवाह १५ वर्षको उमेरमा मनदेवी चालिसेसँग भएको थियो। पारिवारिक वियोगान्तबाट पीडित देवकोटा चुरोटका अम्मली थिए। त्यसैले उनलाई २०१५ सालमा पेटको क्यान्सर रोगले ग्रस्त पार्यो र उपचारका क्रममा उनको २०१६ भदौ २९ गते मृत्यु भयो।