मलेसिया सरकारले सोमबार रातिबाटै आफ्ना मुलुकमा अवैध रूपमा बस्दै आएका विदेशी कामदारविरुद्ध देशव्यापी धरपकड थाल्ने भएको छ । मलेसियाको गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयले सम्बन्धित देशका राजदूतावासलाई पत्र लेखेर सोमबार राति १२ बजेदेखि देशव्यापी रूपमा धरपकड सुरु हुने जानकारी दिएको छ ।
मलेसियास्थित नेपाली राजदूतावासले मलेसियाली सरकारले पठाएको यस्तो पत्र प्राप्त भएपछि आफ्ना कामदारलाई आइतबार नै सम्पर्कमा आउन आग्रह गरिसकेको बताएको छ । धरपकडका बेला नेपाली कामदारहरू समस्यामा नपरून् भनेर आइतबार पनि दूतावास खुला गर्न लागेको सो दूतावासले जानकारी दिएको छ ।
शनिबार विज्ञप्तिमार्फत गैरकानुनी अवस्थामा रहेका सबैले तत्कालै दूतावासमा सम्पर्क गरी ट्राभल्स डकुमेन्ट लिन र टिकट पनि तयारी अवस्थामा राख्न दूतावासले आफ्ना कामदारलाई आग्रह गरेको बताएको थियो । ‘अप्रेसन बरसेपाड’ एवं एकीकृत अप्रेसन नाम दिइएको यो धरपकड अभियानमा अध्यागमन अधिकारी, प्रहरी, गैरसैन्य दस्तालगायत अन्य स्वयंसेवकहरू आबद्ध हुने पनि सो दूतावासले जानकारी दिएको छ ।