मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मलाको निधन

गरिब, दुःखी र असहायको सहाराको रुपमा विश्वमा प्रसिद्ध रहेकी नारी मदर टेरेसाकी नेपाली मरूलकी उत्तराधिकारी सिस्टर निर्मला जोशीको निधन भएको छ ।

sister nirmalaभारतको कोलकातास्थित मिसनरीज् अफ च्यारिटीकी प्रमुख रहेकी निर्मलाको ८१ वर्षको उमेरमा आज (मङ्गलबार) निधन भएको पूर्वी भारतीय नगर कोलकाता मिसनले जनाएको छ ।

उनी मुटुको रोगले थलिएकी थिइन् । केही समययतादेखि निर्मला बिरामी परेकी थिइन् । कोलकाताको च्यारिटी होमका पादरी थोमस डि सोउजाले सिस्टर निर्मलाको निधन भएको जानकारी आज दिएका हुन् ।

उनले भने, ‘सिस्टर निर्मला केही समयमात्र यतादेखि मुटुको रोगले थलिनुभएको थियो, तर उहाँ बिरामी नै भए पनि कहिल्यै हाँस्न छोड्नुभएन, मुस्कुराएरै जानुभयो ।’

‘उहाँको स्वास्थ्य लाभको कामनाका लागि ठूलो सङ्ख्यामा उहाँलाई घेरेर रहेका दिदी बहिनीहरुकै माझ उहाँको निधन भयो’, पादरी डिसोउजाले बताए ।

निर्मलाको सामान्य जीवनयापनका साथै गरिबहरुको सहायताका लागि जीवन अर्पण गर्ने प्रतिबद्धता र सरल व्यवहारका कारण मदर टेरेसोको उत्तराधिकारीका रुपमा चयन भएकी थिइन् ।

कोलकातामा मदर टेरेसाले स्थापना गरेको सो च्यारिटीमा निर्मला प्रमुख थिइन् ।

सन् १९९७ को सेप्टेम्बरमा मदर टेरेसाको निधन हुनुभन्दा करिब छ महिनामात्र अगाडि उनलाई आफ्नो उत्तराधिकारीका रुपमा मदर टेरेसाले नै चयन गरेकी हुन् ।

स्वास्थ्यका कारण उक्त मिसनको प्रमुखबाट सन् २००९ मा छोड्नुभन्दा पहिला करिब १२ वर्षसम्म उनले मदर टेरेसाको उत्तराधिकारीको रुपमा कोलकाताका गरिब, बिरामीहरुको सेवामा रहेकी थिइन् ।