भारतबाट नेपाल फोन गर्न प्रतिमिनेट ६.५० रू. मात्र

अव बीएसएनएलका ग्राहकले भारतबाट प्रतिमिनेट ६ रुपैयाँ ५० पैसामा नेपालमा फोन गर्न पाउने भएका छन् ।
भारत सञ्चार निगम लिमिटेड (बीएसएनएल)ले भारतबाट नेपाल टेलिफोन गर्दा लाग्ने शुल्कमा भारी कटौती गरेपछि यस्तो सुविधा पाउने भएका हुन् ।
बीएसएनएलले यसअघि नेपाल टेलिफोन गर्दा लाग्ने शुल्कमा ३५ प्रतिशत महशुल कम गरेको हो । यसअघि प्रतिमिनेट १० भारतीय रुपया शुल्क लाग्थ्यो ।

भारत सरकारको स्वामित्वमा रहेको बीएसएनएलले स्पेशल ट्यारिफ भौचर (एसटीभी)को प्याकेजमार्पmत शुल्क कटौती गरेको हो । यो प्याकेज खरीदकर्ताले मात्र कम शुल्कमा नेपाल टेलिफोन गर्न सक्नेछन् । यो प्याकेजको मूल्य १८ भारतीय रुपयाँ पर्छ ।

भारतीय प्रधानमन्त्री कार्यालयले जारी गरेको पत्रको आधारमा गत बुधवारदेखि लागू हुने भइसकेको बीएसएनएलका निर्देशक अनुपम श्रीवास्तवलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले जनाएको छ ।
यता भारतका एयरटेल तथा भोडाफोनका प्रयोगकर्ताले अहिले नेपाल फोन गर्दा प्रतिमिनेट १२ भारतीय रुपया तिर्ने गर्छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गत साउनमा भएको नेपाल भ्रमणमा उनले नेपाल र भारतबीच हाल कायम रहेको टेलिफोन घटाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । भारतमा ठूलो संख्यामा नेपाली बस्दै आएकाले सस्तो टेलिफोन शुल्क कायम हुनु आवश्यक रहेको उनले त्यतिबेला बताएका थिए ।