नक्कली पासपोर्टकाण्डले वेल्जियम राजपरिवारलाई विवादमा तानेको छ । लामो समयदेखि राजपरिवारका सदस्यहरुको नाममा नक्कली पासपोर्ट जारी गरिएको सार्वजनिक भएपछि राष्ट्रसंघीय महासभामा भाग लिन न्यूयोर्क पुगेका विदेशमन्त्री रेडिये डेन्डर्सले अनुसन्धान गरिने वताएका पछि यसले उग्ररुप लिने ठानिएको छ । फ्लान्डर्सवाट प्रकाशित हुने पत्रिकाहरुले राजपरिवारसँग जोडिएको समाचारलाई प्राथमिकताकासाथ छापेपछि आधिकारीक जानकारी दिन सरकारलाई दवाव परेको हो ।
सुरक्षा र व्यक्तिगत जीवनको संरक्षण गर्ने हेतुले राजपरिवारका सदस्यहरुलाई भ्रमणको समयमा फरक परीचय दर्शाउने पासपोर्ट दिइएको विदेश मन्त्रायलका पूर्व अधिकारीहरुले वताएका छन् ।
भुतपूर्व विदेशमन्त्री मार्क इस्केन्सले भने नक्कली पासपोर्ट जारी गरेको नभएर महत्वपूर्ण व्यक्तिहरुको सुरक्षाको लागि विशेष व्यवस्था गरेको उल्लेख गरेको फ्लामिश टेलिजिन भिटिएमलाई उद्र्धत गर्दै “ल स्वार” पत्रिकाले जनाएको छ । विदेश मन्त्रालयले कहिल्यै पनि अनाधिकारीक रुपले नक्कली पासपोर्ट जारी नगरेकोले अनावश्यक विवाद सृजना गर्नुपर्ने कुनै कारण नभएको ईन्केन्सले स्पष्ट पारेका छन् ।
यसैविच नयाँ राजाको रुपमा सपथ लिएका फिलिपको नाममा फरक थर प्रयोग गरेर पासपोर्ट जारी भएको पाइएको छ । उनलाई फिलिप दमेल नाम दिइएको रहस्य खुलेको छ भने अन्यको नाम भने सार्वजनिक गरीएको छैन । वास्तविक परिचय नखुलोस् भनेर यस्तो व्यवस्था गरिएको विदेश मन्त्रालयका अधिकारीहरुको तर्क छ । तर पनि त्यो नै उनीहरुको वास्तविक परीचय नभएको तर केवल यात्राको लागि मात्र उक्त पासपोर्टहरुको प्रयोग गरिएको विदेश मन्त्रालयका प्रवक्ता जोरन भान्डरवेयरले जानकारी दिएका छन् । विशेष कारणवश जारी गरिएको डकुमेन्ट र पासपोर्टमा भिन्नता रहेको तथ्य सवैले वुझ्नुपर्ने उनी वताउँछन् ।
दरवारले भने यसरी जारी गरिएका पासपोर्टहरु हालसम्म प्रयोगमा रहेको वारेमा केही वताएको छैन । राजाका विशेष सहयोगीहरुले यस्तो “डकुमेन्ट” माग गर्दै आएकाले यस्तो जारी गरिएका तथ्यहरु सार्वजनिक भएपछि यसकौ वैधता वारेमा नै संसदमा आवाज उठ्नसक्नेछ ।
– रामहरी शास्त्री, व्रसेल्स