मेरो बाल्यकाल साधारण किसिमले बित्यो । उस्तो अभाव थिएन, उति धेरै सुविधा पनि थिएनन् । परिवारको कान्छो छोरो । सबैको मायाले मेरा लागि रमाइलो वातावरण निर्माण गरेको थियो । सानोमा म अन्य साथीभन्दा भिन्न स्वभावको थिएँ रे । पढ्नमा लगनशील थिएँ । १३ वर्षकै उमेरमा एसएलसी पास गरेँ । १ देखि ५ सम्म जम्प गर्दै क्लास उक्लिएकाले यति छिटो भएको हो । पढाइमै बढी केन्द्रित भएकाले बाल्यकालमा केटीसाथी बनाउनेतिर ध्यानै गएन । त्यसो त हाम्रो समाज र परिवेश त्यति एड्भान्स पनि कहाँ भइसकेको थियो र ? सोचाइ नै जाँदैनथ्यो, आवश्यकता पनि परेन । अहिलेका केटाकेटीको जस्तो बाल्यकालदेखि नै केटीसाथी बनाउने हाम्रो पालामा हुँदैनथ्यो । भएका केटासाथी पनि जति थिए, ती बनाइएका होइनन् । परिवेश र माहोलअनुसार आफसेआफ बनेका हुन् ।
सानै उमेरदेखि सामाजिक परिवर्तनका खातिर लोकतान्त्रिक आन्दोलनमा लागेँ । १७ वर्ष पुग्दानपुग्दै भूमिगत भएँ । त्यसै कारण पनि विपरीतलिंगीप्रति उति चासो गएन, त्यस्तो वातावरण पनि मिलेन । वयस्क हुँदै जाँदा पनि मेरो ध्येय भनेको सामाजिक परिवर्तन मात्रै थियो ।
२१ वर्षको उमेरमा पुगेपछि कताकता एक्कासि बिहेको प्रसंगले समात्यो । परिवारबाट पनि एक किसिमको दबाब थियो । पार्टीभित्र बिहेको प्रस्ताव गरेँ । उतिबेला पार्टीलाई कार्यकर्ताको बिहे गरिदिनु ठूलै चुनौतीको विषय बन्थ्यो । तर, बिहे पार्टीले नै गरिदिन्थ्यो ।
मैले प्रस्ताव राखेको ५–६ महिनापछि पार्टीले एउटी केटीसँग भेट गराइदियो । उनी पनि हाम्रै पार्टीकी कार्यकर्ता । पहिलोचोटि उनीसँग गोप्य स्थानमा भेटेँ, पार्टीकै व्यवस्था र निर्देशनअनुरूप । उनको नाम रहेछ– सरस्वती अर्याल । पहिलोचोटि उनलाई भेट्दा ममा कुनै विशेष अनुभूति जागेन, सामान्य लाग्यो । सामाजिक परिवर्तनमा हिँडेको मनलाई अरू आकर्षणबारे उति जानकारी नभएर पनि होला । उनलाई पनि त्यस्तै लागेको थियो रे । हिजोआज त्यस्तै बताउँछिन् । त्यो भेटको उद्देश्य राजनीतिक नरहे पनि हामीले कमरेडकै रूपमा भेटेका थियौँ एकअर्कालाई । त्यसअघि त उनीसँग देखादेख पनि भएको थिएन । उनी पाल्पाकी स्थानीय रहिछन्, त्यो ठाउँमा म ६ महिना भूमिगत भएर बसेको थिएँ ।
पहिलो भेट भएपछिको करिब १० महिनाको अवधिमा हामीबीच थप ५–६ चोटि भेट भइसकेको थियो । यसबीच एकअर्काका लागि थुप्रै चिठी पनि कोरिसकेका थियौँ । त्यहाँ पनि कम्रेड नै सम्बोधन गरेर आन्दोलनकै कुरा बढी लेखेका हुन्थ्यौँ । मायाप्रेमका कुरा त कहिल्यै दर्साएनौँ हामीले ती चिठीमा । बिहेको तयारीमा रहेका जोडीले अलिअलि मायाप्रेमका कुरा पनि गर्दा हुन्छ भन्ने सामान्य ज्ञान पनि सायद हामीमा थिएन उसबेला । अर्को कुरा, डर पनि थियो– कहिलेकाहीँ चिठीमा लेखिएका कुरा पार्टीभित्रैबाट बाहिर फुत्किन पनि सक्थे ।
०४१ साल मंसिर १८ गते हाम्रो बिहे भयो, सीमित आफन्त र पार्टीकै साथीहरूका बीच । जातभित्रै बिहे भएकाले पारिवारिक असन्तोष रहेन । त्यसो त जातपातको विभेदलगायत कुप्रथा अन्त्य गर्दै आमूल राष्ट्रिय परिवर्तनको आन्दोलनमा होमिएका हाम्रा लागि जातको कुरो ठूलो हुँदैनथ्यो पनि । बिहे त गरियो तर पहिलै रात हामी छुट्टिनु पर्यो । म भूमिगत रहेकाले सुरक्षाका दृष्टिले पनि धेरै समय जनसम्पर्क भइरहने ठाउँमा बस्न मिल्ने अवस्था थिएन । त्यसैले त्यही रात हिँडिहालेँ । मानौं– बिहे भनेको एउटा विधिगत प्रक्रिया मात्र हो र त्यो पूरा भइसकेपछि पुगिहाल्यो । त्यसभित्र लुकेका अन्य भावना मैले बुझ्न चाहिनछु । अहिले फिल हुन्छ– म कति अव्यावहारिक रहेछु । मैले सिन्दूर हालिसकेपछि उनी मेरी भएकी थिइन् । उनीप्रति मेरो मुख्य दायित्व थियो । तर, यति सोचेनछु– उनले के खालिन्, कसरी परिवार सम्हाल्लिन् । भूमिगत जिन्दगीमा कमरेडकै पाराले बिहे गरी उनलाई छाडेर हिँडेँ ।
त्यसको करिब डेढ महिनापछि मात्रै हाम्रो भेट भयो । सँगै बस्न थालेको त ०४६ सालमा बहुदल आएपछि मात्रै हो । अब हामी खुला राजनीतिमा थियौँ । उनी जागिरका सिलसिलामा अर्घाखाँची आइन् । म पनि त्यहीँको पार्टी सभापतिका रूपमा काम गरिरहेको थिएँ । अनि, मात्रै हामी सँगै बस्न पायौँ । त्यस अघिचाहिँ ३–४ महिनाको अन्तरमा मात्रै हाम्रो भेट हुन्थ्यो । मध्यरातमा घर जान्थेँ, अनि बिहान हुनुभन्दा पहिल्यै उनको साथ छोडेर हिँडिसक्नुपथ्र्यो ।
विवाहपछिका दिनमा उनले निकै समस्या भोग्नुपर्यो । उनका परिवारलाई मेरो पेसा थाहा थिएन । उनीहरूलाई म पोखरामा पढ्ने केटो हुँ भन्ने लाग्थ्यो । चिनाएकै त्यसै गरी थियौँ । महिनौँसम्म भेट्न नआएकोमा उनीहरूका मनमा जिज्ञासा र कौतूहल जागिरहेका हुन्थे । ती सबैको उत्तर उनैले दिनुपथ्र्यो । अर्को कुरा उनी हामीभन्दा सम्पन्न परिवारकी रहिछन् । बुहारी भएर आएपछि माइतीमा भन्दा बढी काममा जोतिनै पर्यो । दाउरा, घाँसदेखि घरभित्रका सबै काम सक्नैपर्यो । फेरि उतिबेला कम्युनिस्ट पार्टीमा लाग्नेको परिवारलाई सहज अवस्था थिएन । पुलिस आएर घरपरिवारका सदस्यलाई कुटपिट गर्थे । मेरो घरमा पनि निकै भयो त्यस्तो । दाइहरूलाई गिरफ्तार गरेर लग्यो । म भूमिगत भएकाले ती सबै समस्या उनले मात्रै सामना गर्नुपर्यो, मैले साथ दिन पाइनँ । अवस्था पनि थिएन । गाउँनजिकैको विद्यालयमा पढाउँथिन् । कम्युनिस्टकी पत्नी भएकै कारण उनले निकैपटक जागिरबाट निकालिनुपर्यो । तर, दु:खमा प्रेमले अझ बढी झाँगिने अवसर पाउँदो रहेछ । वास्तवमै तिनै कठिनाइहरूका बीच हामी एकअर्काप्रति वास्तविक प्रेमको अनुभूति गरिरहेका थियौँ ।
उनी बुहारी वा श्रीमती मात्र नभएर असल शिक्षिका, असल कार्यकर्ता र असल समाजसेवी पनि थिइन् । यिनै विशेषताका कारण म नहुँदा पनि घरलाई आर्थिक रूपमा टेवा पुर्याइरहन सकिन् उनले । म त भूमिगत अवस्थाको मान्छे, सुको पनि कमाउन सक्ने अवस्था थिएन ।
विवाहपछि हाम्रो कहिल्यै ठाकठुक परेन । हामी स्वाभाविक रूपले एकअर्कालाई बुझ्न सक्थ्यौँ । माया त थियो नै, त्यसबाहेक एकअर्कालाई कसरी सम्मान गर्ने भन्नेमा दुवै जना केन्द्रित रहन्थ्यौँ । आफू मेटिएर, त्याग गरेर भए पनि उनी मलाई माथि ल्याउन चाहन्थिन् । मेरा खातिर त्याग गर्न नपरेको भए सायद उनी राजनीतिमा पनि धेरै माथिल्लो अवस्थामा पुगिसक्ने थिइन् । यो खुबी उनमा थियो । उनको सन्तोषी बानीले हामीबीच कहिल्यै इगोको टक्कर हुने अवस्था आउन दिएन । ठाकठुक हुन पाएन । म किताबको कीरो थिएँ पहिल्यैदेखि । उनी पनि अध्ययन गर्न खुब रुचाउँथिन् । त्यसैले मैले उनलाई बिहेपछि दिएको पहिलो उपहार पनि पुस्तक नै थियो, आफैँले लेखेको उपन्यास ‘सहयात्री’ ।
विवाहपछि उनलाई उति धेरै घुमाउन लगेको छुइनँ । केही वर्षअघि एक हप्ताका लागि कलकत्ता गएका थियौँ । एकअर्काका साथमा गरेको लामो यात्रा भनेकै त्यही मात्रै हो । उनी आफैँ पनि उति धेरै घुम्न सोखिन छैनन् । यसमा दुई कारण छन्– म जबसम्म सार्वजनिक दायित्वमा हुन्छु, त्यसको दुरुपयोग नहोस् भन्ने चाहन्छिन् । राष्ट्रको ढुकुटी होस् या पार्टीको, यस्ता कुरामा खर्चिएर दुरुपयोग गर्नु हुन्न भन्ने मान्यता राख्छिन् । भन्छिन्– ‘जब तपाईं सार्वजनिक दायित्वबाट परै रहनुहुन्छ, त्यसपछि जाउँला नि ।’ अर्को कुरा, हाम्री छोरी क्षितिज अस्वस्थ छिन् । उनको रेखदेख गर्नुपर्ने भएकाले पनि लामो समय घर छोडेर हिँड्न मिल्दैन दुवै जना ।
भूमिगत कालमा छँदा पुलिस मेरो घरमा खानतलासी गर्न आएछन् । सोही क्रममा पार्टीसँग सम्बन्धित कागजपत्र लुकाएर हतारहतार फर्कंदा उनी गोठको भर्याङबाट चिप्लिएर लडिन् । उनी आठ महिनादेखिकी गर्भवती थिइन् । त्यसरी लड्दा गर्भभित्रको बच्चालाई पनि असर गरेछ । उसको मस्तिष्कमा ठूलै घात हुन पुगेछ । जन्मिसकेपछि हामीले उनलाई सही अवस्थामा ल्याउन निकै प्रयास गर्यौँ । उपचार गरायौँ । तर, सफल भएनौँ । क्षितिजसहित हाम्रा तीन सन्तान छन्– प्रशान्त र स्वागत ।
हाम्रो दाम्पत्य सम्बन्धको विश्लेषण गर्दा एकदमै सफलतम पाउँछु म । यो सम्बन्धलाई कसैसँग दाँज्न सक्दिनँ । मप्रति उनको जुन लगाव र देन छ, कुनै जन्ममा पनि तिर्न सक्दिनँ । म अहिले जुन स्थानमा छु, उनकै कारण सम्भव भएको हो । केही दिनअघि हाम्रो बिहेले २८औं वर्ष पार गर्यो । त्यस दिन म कोलम्बियाबाट फर्किरहेको थिएँ । अनि भावुक थिएँ । उनलाई तुरुन्तै भेटिहाल्न सम्भव थिएन । फेसबुकमा स्ट्याटस लेखेँ– ‘हेर्दाहेर्दै २८ वर्ष बितेछन् । जहाँ थुप्रै पीडादायक र अविस्मरणीय क्षण छन् । र, यसबीचमा तिम्रो साथ पाउनुलाई आफ्नो सौभाग्य ठानेको छु । तर, तिम्रो भागमा सधैँभरि त्याग र पीडा मात्र पर्यो । त्यस कारणले म आफूलाई दु:खी ठान्छु । तर, पनि तिमीले साथ दिइरहेकी छौ । सधैँ यसैगरी साथ दिनू है ।’
प्रस्तुति : विशाल राई