बाढीपिडितको लागी ईयूद्वारा सहयोग प्रदान

नेपालका विभिन्न ठाउहरुमा बाढी पहिरोबाट पिडितहरुको लागी युरोपिययन युनियन (ईयू)ले ३ करोड २२ लाख ९३ हजार (२ लाख ५० हजार युरो) Euसहयोग स्वरूप उपलब्ध गराएको छ । ईयूले हालै नेपालको पश्चिमी क्षेत्रमा आएको प्राकृतिक प्रकोपबाट भएको क्षति न्यूनीकरण गर्न र बाढीपहिरोमा परेका परिवारको जीवनयापन सहज बनाउन सहयोग दिइएको जनाएको छ ।

नेपालका लागी युरोपियन युनियनका राजदूत रेन्स्जी टिरिकले ईयूबाट प्राप्त सहयोग प्राकृतिक विपत्तिबाट बढी प्रभावित व्यक्ति तथा परिवार, महिला र सामाजिक रूपमा तिरस्कृत र उत्पीडित समुदायको उत्थानमा उपयोग हुने बताए । मानवीय सहायताका रूपमा प्राप्त सहयोग केयर नेपाल र नेपालका गैरसरकारी संस्थाहरूको संलग्नतामा उपलब्ध गराइने पनि ईयूले जनाएको छ । सहयोग बाँके, बर्दिया र सुर्खेतका बाढी प्रभावित ६ हजार ६ सय व्यक्तिका लागि आवश्यक खाद्यान्न सहित पकाउने भाँडा, बन्दोबस्तीका सामान, घर निर्माण र व्यक्तिगत सुरक्षामा केन्द्रित रहने ईयूको दाबी छ ।

साउन अन्तिममा आएको बाढी पहिरोका कारण हालसम्म पश्चिम क्षेत्रमा १ सय २३ जनाको मृत्यु भएको छ भने १ सय १६ जना हराइरहेको र ६७ जना घाइते भएको तथ्यांक छ । ६ जिल्लाका २८ हजार ५ सय घरपरिवार प्रभावित भएका छन् ।