बागलुङ समाजलाई शिक्षा र स्वास्थ्यभन्दा बृद्धाश्रम प्यारो

करीब ४ वर्ष पहिले बागलुङ जिल्ला र देशवाहिर रहे पनि बागलुङ जिल्लाको विकास र मानवीय सहयोग, विशेष गरी शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यले बेल्जियममा बागलुङ समाजको स्थापना भएको थियो ।
baglung_districtस्थापनाकालमै सहयोगका क्षेत्र किटान नहुदा, सैद्धान्तिक पक्ष र वितरणको प्रक्रियालाई व्यवस्थित नगरिएका कारण गत नोभेम्वर महिनामा सहमतिमा नयाँ कार्यसमिति चयन गरी तीव्र रुपमा सहयोग सँकलन गरिएको थियो । यसपूर्वको सँकलित रकम गत डिसेम्वर महिनामा वलेवा नारायणस्थानस्थित अन्धा विद्यालयलाई ११ सय युरो वरावरको रकम हस्तान्तरण गरेर उदाहरणीय कार्य गरेको समाजले हैसियत अनुसारको स्रोत समानुपातिक रुपमा जिल्लाभर वितरण हुने आशा गरेका सदस्यहरु त्यतिवेला चकित परे जतिवेला जनवरीको पहिलो हप्ता समितिको बैठक वसालेर भएभरको रकम ४६०० युरो निरहेघाटमा निर्माण हुने वृद्धाश्रमका लागि दिने निर्णय गरी पैसा वोकेर अध्यक्ष देवु शर्मा नेपाल उडे ।
चकित पर्नुको कारण के छ भने औपचारिक आग्रह नभएको वृद्धाश्रमका लागि भए भरको पैसा खन्याउन तयार समाज सोही जिल्लाको महेन्द्र बहुमुखी क्याम्पस -हाल नाम फेरिइ धवलागिरी- ले सहयोगको लागि गरेको लिखित र औपचारिक पत्रको अनुरोधलाई “पैसा छैन भनी भन्ने” वेवास्ता गर्ने पारा हो । धेरै रकम नभए पनि भएको रकम सवै क्षेत्रमा दामासाही र क्षेत्रीय सन्तुलन मिलाई गर्ने स्थापनाकाल देखिको दर्शनलाई वर्तमान समितिले धोती लगाइदिएपछि यहाँका बागलुङेहरु “बृद्धबृद्धाको आशीर्वादले बागलुङ समाजको पुण्य हुने भो” भन्दै चोक चोकमा व्यँग्य गर्न थालेका छन् भने कतिपय बागलुङेहरु शिक्षा र स्वास्थ्य भन्दा बृद्धाश्रमको महत्व बढी देख्ने समितिका वर्तमान पदाधिकारी र बृद्धाश्रम निर्माण समितिका अध्यक्ष मणिभद्र कँडेलको राजनैतिक विचार एउटै हुनुले हो कि भन्दै आशंका पनि व्यक्त गर्दैछन् ।
– दीपेन्द्र के. सी.