बहुमतीय प्रकृयामा गए आन्दोलन: प्रचण्ड

सत्तारुढ नेपाली काग्रेस र नेकपा एमालेले संबिधानसभाको बैठकबाट बहुमतीय प्रकृया अनुरुपको मस्यौदा लेखन प्रकृया Prachand-1आरम्भ गर्न दबाब दिईरहेको बेला विपक्षी एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले आन्दोलनको लागि तयार रहन आब्हान गरेका छन्| संविधानसभा बाहिर रहेको मोहन वैद्य नेतृत्वको नेकपा माओवादी र जनजाति समूहहरुसँग मिलेर संयुक्त आन्दोलन अघि बढाउने गृहकार्यका लागि राजधानीको एउटा पार्टी प्यालेसमा बोलाइएको बैठकमा उनले त्यस्तो भनाइ राखेका हुन्|

सो बैठकलाई सम्बोधन गर्दै एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले भने ‘संयुक्त आन्दोलनको कार्यक्रम तय भएको छ, यसलाई सफल बनाउन हामी सबैले आआफ्नो ठाउँबाट पुरै तागत लगाउन जरुरी छ, आउने दिनमा यो राष्ट्रको नेतृत्व गर्ने एउटा वैकल्पिक शक्ति बन्ने आँट र दृष्टिकोण सहित हामीले आफूलाई तयार पार्नु जरुरी छ|’ उक्त छलफलपछि संयुक्त रुपमा आन्दोलन अघि बढाउने तयारी तीनै पक्षले गरेका छन्|

सत्तापक्षीय दलहरुले शुक्रबार बस्ने संविधानसभाको बैठकबाट बहुमतीय प्रकृया आरम्भ गर्न संविधानसभाका अध्यक्षलाई दबाब दिने रणनीति लिएका छन्| तर सहमतीय प्रकृया मिच्न खोजिए संविधानसभामै कडा प्रतिकार गर्ने निर्णय बिहीबार बसेको पार्टीको पोलिटब्युरो बैठकले गरेको एकीकृत माओवादीका एकजना नेता अग्नि सापकोटाले बताए|

सत्तापक्षीय दलहरुसँग वार्ता र सम्वाद समेत टुटेको पछिल्लो अवस्थामा बिहीबार एकीकृत माओवादीको नेतृत्वमा रहेको ३० दलीय मोर्चाले मोहन बैद्य नेतृत्वको नेकपा माओवादी र पदमरत्न तुलाधार नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन समितिसँग संयुक्त छलफल गरेको थियो| यसअघि फरक फरक दिनका लागी आव्हान गरिएको आमहडताल संयुक्त रुपमा गर्ने सहमति गर्दै तीनै पक्षले भावी आन्दोलनका कार्यक्रमहरु तय गर्न एउटा १९ सदस्यीय कार्यदल गठन गरेका छन्|

प्रचण्डले पहिचान सहितको संघीयता लगायतका परिवर्तनका एजेण्डा जोखिममा परेकाले पछिल्लो परिस्थितिमा संविधानसभा भित्र वा बाहिर रहेका शक्तिहरुमा खासै अन्तर नरहेको बताउदै ‘हामी को संविधानसभा भित्र छौँ, को बाहिर छौँ, त्यो त्यति धेरै ठूलो कुरा होइन, जनताले बलिदान गरेर प्राप्त भएका उपलब्धि खोसिने कुराले चिन्तित छौँ|’ उनले भने |

संविधान जारी गर्ने समयसिमा सकिन लगभग एक हप्ता बाँकि रहँदा सत्तापक्षीय र विपक्षी दलहरु बिच टकराव बढ्दै गएको देखिन्छ|