जव तिमी !
यो राज्यले तोकेको
सवैभन्दा सुरक्षित शहरको
अति सुरक्षित गल्लीमा निस्कन्छ्यौ
तिमीलाई चियाउँछन आँखाहरु
र्याम्पकी अर्धनग्न मोडल
क्याटवाककी नवयौवना
वा कुनै छाडा चलचित्रकी उत्ताउली नायिकाको विम्वमा ।
मध्य सडकको जँड्याहा भेट्छयौ
उ पनि मादक नजर तेर्साउँछ
सडकको माग्ने हेर्छौ
उ पनि वासनाको आश गर्छ
थोत्रो माइक्रो वा टेम्पोको ड्राइभर
कोचाकोच भीडमा छेउमै राखेर
अनाबश्यक ब्रेक अठ्याउदै अन गर्छ मोहमद रफी
“रुप तेरा मस्ताना र मेरे मनपसन्द गुलाफ तेरे सारीमे” ।
मन्त्री सँक्रमणकालको
तोकभन्दा पहिले हेर्छन तिम्रो जवानी
स्कुले बालक आँखा सन्काउँछ
तिम्रो हाकिमको के कुरा ?
तिमी भर्याङ उक्लदा
नजर ओराल्छ छातीमा
फेन्सी पसले
सस्तो मूल्य तोक्छ भित्री बश्त्रको
रातभरी भट्टी रुङनेहरुको के वयान
उ पसेकै छ कालो विचारले ।
उत्तेजना कैद छ यहाँ
जवर्जस्त रिहाई खोज्दै ।
लोकतन्त्रको सुन्दर समावेशी सँसदमा—
बर्षौ भयो बहस जारी छ
नारी सुरक्षा र अधिकारका
भर्खरै पूजा साहको मलामी फर्किएकी बशोधरा
त्रसित छे
चेकपोष्टको जुँगे हवल्दारको जिव्रो पड्काईले ।
कोर्षबाट झिकिएजस्तो लाग्छ
राजेन्द्रलक्ष्मी, झाँसीकी रानी र फुलनदेवीहरु
पुरुषत्वहीन नैतिक शिक्षा कति अपाङ्ग लाग्छ,
युद्धका हजारौं सिपाहीहरुसँग
एक्लै भीड्ने साहस पालेर पनि
यो शहरका यति भद्र भलाद्मी
मन्दिर, मस्जिद, चर्च, र गुम्वाछेउ पुग्दा
किन सिरिङ्ग आङ फुलेर आउँछ ? तिम्रो ।
होइन ? पुरषको क्यानभासमा
नारीको नाँगो चित्र बाहेक अरु केही नउत्रने भएपछि
फेमिनिष्टका उजुरी पत्रहरु च्यातेर
प्रश्न गर्दैछन् पूजा बोहोराहरु—
भगवान ! अव म आफनै छानोभित्र असुरक्षित भएपछि
यो वदनाम शहरमा
सवैभन्दा सुरक्षित स्थान कहाँ खोजँु ?
सायद अलमलमा छन्
भगवान पनि ।।
-दीपेन्द्र के.सी.