सोसल मिडियाको प्रयोग सम्बन्धविच्छेदको एउटा मूख्य कारण बन्न थालेको छ । एक अमेरिकी अध्ययन अनुसार सोसल मिडियाको बढ्दो प्रयोगले सम्बन्धविच्छेदका घटना बढेका हुन् । सोसल मिडियामा साथीहरुबीचको सम्बन्धले घरपरिवारको सम्बन्धमा आँच आउन थालेको अनुसन्धानकर्ताको निश्कर्ष छ ।
ट्वीटरले सम्बन्ध बनाउन तथा बचाउनका लागि अहम् भूमिका निर्वाह गरेको दाबी भइरहँदा सोसल मिडियाको बढ्दो प्रयोगका कारण पारिवारिक सम्बन्धमा नकारात्मक प्रभाव पर्न थालेको नयाँ तथ्य प्रकाशमा आएको हो । सम्बन्धमा देखिएको नकारात्मक प्रभाव सम्बन्धविच्छेदका रुपमा परिणत हुन थालेको समेत उक्त अध्ययनबाट औंल्याइएको छ ।
मिसौरी विश्वविद्यालय अन्तर्गत स्कूल अफ जर्नालिज्ममा पीएचडीका छात्र रसल क्लेटनका अनुसार ट्वीटरमा बढी सक्रिय हुनेहरुले आफ्ना साथीहरुमाझ झगडा तथा अन्य मानसिक तनावका बारेमा साझेदारी गर्ने सम्भावना बढी रहन्छ । यस्तो अवस्थामा पारिवारिक सम्बन्धमा अझ बढी अविश्वास सिर्जना भई सम्बन्धविच्छेदसमेत हुने गरेको उनको निश्कर्ष छ ।
५८१ जना ट्वीटर प्रयोगकर्तामाझ गरिएको अध्ययनमा ती प्रयोगकर्तालाई कस्तो अवस्थामा ट्वीटर चलाउने गरेको छ, कुन अवस्थामा ट्वीट गरिन्छ, कतिपटक समाचार पढिन्छ, कस्तो अवस्थामा साथीहरुलाई सन्देश पठाइन्छ जस्ता प्रश्न सोधिएको थियो । उनीहरुले आफ्नो जीवनसाथीको ट्वीटमा व्यक्र विचारका कारण विवाद हुने गरेको तथा अन्य साथीहरुसँग सम्पर्क बढ्न थालेको जवाफ दिएको बताइन्छ । विवादकै परिणामस्वरुप सम्बन्धविच्छेदलाई समेत स्वीकार गर्नुपर्ने अवस्था आएको अधिकांशको जवाफ थियो ।
उल्लेखनीय छ, यसअघि क्लेटनले फेसबुकका बारेमा गरेको अनुसन्धानमा तीन वर्षभन्दा कम समयदेखि चिनजान भएका जीवनसाथीहरुमा यस प्रकारको झगडा हुने गरेको रहस्य खुलेको थियो । साइबर साइकोलोजी, विहेभियर एण्ड सोसल नेटवर्किङ्गमा प्रकाशित नतिजा अनुसार सम्बन्धविच्छेदका लागि ट्वीटर र फेसबुकको भूमिका अलग–अलग हुन सक्छ । किनकी दुबै सोसल नेटवर्किङ्ग साइटमा अलग–अलग फिचर्स छन् । (एजेन्सी)