फेसबुके चुनाव

समयको परिवर्तनसँगै निर्वाचन प्रचारप्रसारको तौरतरिकामा पनि परिवर्तन आएको छ। समयको परिवर्तनसँगै विज्ञान प्रविधिको उच्चतम विकास भएको सन्दर्भमा परम्परागत तरिकाले गरिने चुनाव प्रचारको तरिकामा समेत परिवर्तन देखिएको हो।

विगतमा पर्चा, पम्पलेट, तुल, व्यानरमा सीमित भएका राजनीतिक दलहरूले यतिबेला विभिन्न सामाजिक सञ्जालमा डेरा जमाएका छन्। सामाजिक सञ्जालमा यतिखेर राजनीतिक दलका नेता तथा कार्यकर्ता निर्वाचन प्रचारप्रसार गर्ने साधन मात्रै बनाएका छैनन् अभिव्यक्तिको प्रमुख साधनसमेत बनाइआएका छन्।सहज रुपमै धेरै मतदाता र नागरिकमा पुग्ने सामाजिक सञ्जालमा देखिएको निर्वाचन प्रचारप्रसारको तौरतरिकाले परम्परागत निर्वाचन प्रचारको क्रमलाई भने ओझेलमा पारिदिएको छ।
इन्टरनेटको पहुँच नपुगेको स्थानमा समेत मोबाइल फोनको माध्यमबाट पुग्ने यो सञ्जालले राजनीतिक दल र तिनका सर्मथकलाई सहज बनाइदिएको छ।

FB n Twitterसामाजिक सञ्जालमा देखिएको चुनाव प्रचारले केहीलाई सहज बनाएको भएपनि केहीले भने यस्ता सञ्जाललाई गलत ढङ्गले प्रयोग गरेका छन्। त्यस्ता सामाजिक सञ्जालमा गरिएको निर्वाचन प्रचारमा धेरै हदसम्म सकारात्मक प्रतिक्रिया प्राप्त भएको प्रयोगकर्ताको भनाइ छ। थोरै मात्रामा भने नकारात्मक र सामाजिक मर्यादा भङ्ग गर्ने खालका प्रतिक्रियासमेत आएका छन्।

सामाजिक सञ्जाललाई ‘न्यू मिडिया’को रुपमा पनि लिने गरिन्छ। प्रविधिले जोडिदिएको सम्बन्धलाई सकारात्मक रुपमा प्रयोग गर्ने हो भने त्यसबाट सकारात्मक सन्देश प्रवाह हुन सक्छ भने नकारात्मक दृष्टिकोणका साथ हेर्ने हो भने त्यसले नकारात्मक वातावरण नै सिर्जना गर्दछ।

पछिल्ला दिनमा एकीकृत नेकपा(माओवादी), नेपाली काँग्रेस, नेकपा(एमाले), मधेस केन्द्रित दलहरू र स्वतन्त्र उम्मेदवारले समेत सामाजिक सञ्जाललाई आफ्नो चुनाव प्रचारको साधन बनाएका छन्।
सामाजिक सञ्जाल भन्ने बित्तिकै फेसबुक, ट्वीटर, गुगल प्लस, लिकंडेनलगायतलाई लिने गरिन्छ। नेपालमा फेसबुक, ट्वीटर, गुगल प्लसलगायतका सञ्जालहरू बढी मात्रामा लोकप्रिय रहेका छन्।

विगतदेखि नै सामाजिक सञ्जालमा आफ्ना गतिविधिहरू राख्न माहिर मानिनु भएका काँग्रेसका युवा नेता गगन थापा यतिबेला पनि फेसबुक र ट्वीटरमार्फत आफ्नो चुनाव प्रचार अभियानलाई तीव्रता दिइरहनुभएको छ। फेसबुकमा थापाको एक लाख ५६ हजार ४५३ साथी रहेका छन् भने ट्वीटरमा पनि ५० हजारको हाराहारीमा ‘फलोअर’ रहेका छन्।

एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई पनि सामाजिक सञ्जालमा पहिल्यैदेखि फेसबुक र ट्वीटर प्रयोग गर्नमा सिपालु मानिनुहुन्छ। उहाँको फेसबुकमा एक लाख २२ हजार ५५० साथी रहेका छन् भने ५० हजार भन्दा बढी ट्वीटर ‘फलोअर’ रहेका छन्। नेता भट्टराईले फेसबुक र ट्वीटरमार्फत आफ्नो चुनावी अभियानका गतिविधिलाई सार्वजनिक गरिरहनु मात्रै भएको छैन आम मतदातासँग मतसमेत मागिरहनुभएको छ।

यस्तै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन गतिविधिलाई उहाँका छोरा प्रकाश दाहालले सार्वजनिक गर्दै आउनु भएको छ। उहाँको फेसबुकमा २० हजारभन्दा बढी साथी रहेका छन्। यस्त्ौ एमालेका नेता रवीन्द्र अधिकारी पनि फेसबुक प्रयोग गर्नेमा अग्र पङ्क्तिमा हुनुहुन्छ। उहाँले फेसबुकमार्फत आफ्ना चुनावी गतिविधिलाई सार्वजनिक गर्दै आउनुभएको छ भने जनतासँग मत पनि माग्नुभएको छ। उहाँको पनि २० हजारभन्दा बढी फेसबुके साथी रहेका छन्।

काँग्रेसका नेता डा. रामशरण महत, अर्जुननरसिंह केसी, शेखर कोइरालालगायतका नेताहरूले पनि सामाजिक सञ्जालमा आफ्ना चुनावी गतिविधिलाई सार्वजनिक गर्दै आउनुभएको छ। एमाले नेता अधिकारीका शब्दमा धेरै नागरिकको सहज पहुँच भएकाले सामाजिक सञ्जालमा निर्वाचन प्रचारको कामलाई तीव्र पारिएको हो। “विज्ञान प्रविधिले दिएको सहजतालाई प्रयोग गर्नु अनिवार्य छ, त्यसकारण सामाजिक सञ्जाललाई मत माग्ने माध्यम बनाइएको हो”–उहाँले भन्नुभयो।

त्यस्तै एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले पनि फेसबुकमार्फत आफ्ना गतिविधिलाई सार्वजनिक गरिरहनुभ्ाएको छ। सोही पार्टीका अन्य नेताहरू पोष्टबहादुर बोगटी, कृष्णबहादुर महरा, शक्ति बस्नेत, देवेन्द्र पौडेल, महेन्द्र श्रेष्ठ, वर्षमान पुन, नन्दबहादुर पुन, रेणु दाहाल, रेणु चन्द, शालिकराम जमरकट्टेल, महेश्वर गहतराजलगायतका नेता कार्यकर्ता एवम् उम्मेदवार समेत फेसबुकमार्फत निर्वाच्ान प्रचारमा व्यस्त छन्।

एमालेका महासचिव ईश्वर पोखरेल, शङ्कर पोखरेल, विष्णु पौडेल, योगेश भट्टराई, रामेश्वर फुयाँल, निर्मल कुईंकेल, महेश बस्नेतलगायतका नेताले पनि फेसबुकमार्फत निर्वाच्ान गतिविधिलाई आम जनसमुदायसामु पुर्याखउँदै आउनुभएको छ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै वेबसाइटमार्फत आफ्ना गतिविधिहरू सार्वजनिक गर्दै आउनुभएको छ भने पार्टी अध्यक्ष झलनाथ खनालका गतिविधि उहाँका सहयोगीले सामाजिक सञ्जालमार्फत आम जनतासामु पुर्यािइआएको छ।

काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, नेताहरू डा. शेखर कोइराला, दीपकुमार उपाध्याय, बालकृष्ण खाँड, शङ्कर भण्डारी, लक्ष्मण घिमिरेलगायतका नेताहरू पनि सामाजिक सञ्जाल चलाउन सिपालु मात्र हुनुहुन्न, आफ्नो चुनावी गतिविधिलाई सोही माध्यममार्फत आम जनसमुदायमा पुर्याइरहनु भएको छ।

एमाओवादीका उम्मेदवार सरल सहयात्री पौडेल फेसबुकका कारण चुनाव प्रचारमा सहजता भएको भन्दै यसलाई सकारात्मक तवरले प्रयोग गर्न जाने धेरै फाइदा हुने धारणा राख्नुहुन्छ। यस्तै नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो फेसबुकमार्फत आफ्ना गतिविधिहरू सार्वजनिक गर्दै आउनुभएको छ। नेपाल सद्भावना पार्टी(आनन्ददेवी)का अध्यक्ष सरिता गिरी ट्वीटर चलाउन माहिर मानिनुहन्छ।

सङ्घीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठ, नेपाः राष्ट्रिय पार्टीका डा. विजय सैंजुले पनि आफ्ना चुनावी गतिविधिलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आउनुभएको छ। काँग्रेसका उम्मेदवार गगन थापा सामाजिक सञ्जालको प्रयोगलाई आवश्यकताको सिद्धान्त भएको बताउनुहुन्छ। सहज रुपमा धेरै मतदातासँग पुग्न सकिने भएकाले सामाजिक सञ्जाल प्रचार प्रसारको मुख्य माध्यम बनेको उहाँको धारणा छ।

नेपालमा फेसबुक चलाउनेको सङ्ख्या २५ लाखको हाराहारीमा रहेको बताइन्छ भने ट्वीटर प्रयोगकर्ताको सङ्ख्या १० लाखमाथि रहेको छ। फेसबुकमा धेरै सामग्री अटाउने भएका कारण यसको सङ्ख्या बढी भएको प्रयोगकर्ताको अनुभव छ। ट्वीटरमा १४० शब्द मात्रै प्रयोग गर्न पाउने व्यवस्था रहेको छ। विशेष गरी शिक्षित जमातले प्रयोग गर्ने भनेर मानिएको ट्वीटर प्रयोगकर्ताको सङ्ख्या पनि विस्तारै बढ्दै गएको छ। तर फेसबुकमा जस्तो त्यसमा आम मानिसको चासो रहेको पाइँदैन।

अरु समयमा सामाजिक सञ्जाल प्रयोग नगर्नेहरू समेत यतिबेला त्यसैको सहारा लिन बाध्य भएका छन्। यसले सामाजिक सञ्जालहरूको महत्वलाई अझ बढाइदिएको छ। यस्ता सञ्जालमा निर्वाचनको पक्षमा भएका गतिविधि जस्तै विपक्षमा भएका गतिविधिको समेत उत्तिकै प्रचारप्रसार भएको छ। यो नकारात्मक पक्ष हो।जे होस्, सामाजिक सञ्जाल प्रयोग गर्ने सन्दर्भमा देखिएको उत्साहलाई भने सकारात्मक नै मान्नुपर्दछ।