प्रज्ञा प्रतिष्ठानहरूको भागबन्डा मिल्यो

गत माघदेखि रिक्त प्रज्ञा-प्रतिष्ठान र गत वैशाखदेखि पदाधिकारीविहीन ललितकला प्रतिष्ठान र संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा दलीय भागबन्डाको आधारमा पदपूर्ति गरिएका छन् ।
एमाले कोटाको संस्कृति मन्त्रालयबाट स्वीकृतिका लागि गएको पदाधिकारीहरूको नामलाई प्रधानमन्त्री सुशील कोइरालाले बिहीबार अनुमोदन गरेपछि कुरा मिलेको हो ।

nepal-academyनेपाल प्रज्ञा प्रतिष्ठानमा गंगाप्रसाद उप्रेती, संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा सरुभक्त र ललितकला प्रज्ञा प्रतिष्ठानमा रागिनी उपाध्याय कुलपति नियुक्त भएका छन्।

प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा विष्णुविभू घिमिरे र सदस्यसचिव जीवेन्द्रदेव गिरी छन्। उप्रेती यसअघि प्रज्ञा-प्रतिष्ठानमा उपकुलपति र गिरी प्राज्ञ परिषद् सदस्य थिए। त्यसैगरी प्राज्ञ परिषद्मा प्रा. दिनेशराज पन्त, अमर गिरी, ज्ञानु पाण्डे, नर्मदेश्वरी सत्याल, श्रवण मुकारुङ, उषा ठाकुर, मातृका पोखरेल, हेमांगराज अधिकारी रहेका बताइएको छ ।

academy chancellers
क्रमशः उप्रेति, सरूभक्त र उपाध्याय

संगीत नाट्यको उपकुलपतिमा शम्भुजित बास्कोटा र सदस्यसचिवमा गणेश रसिक छन्। प्राज्ञ परिषद्मा रमेशरञ्जन झा, पुष्कर गुरुङ, पवित्रा घर्तीमगर, उन्नति शिला बोहरा, उदय श्रेष्ठ र माधव प्रधान छन्।

ललितकला प्रज्ञा-प्रतिष्ठानका उपकुलपतिमा शारदा चित्रकार र सदस्यसचिवमा नवराज भट्ट छन् भने प्राज्ञ परिषद्मा सुष्मा राजभण्डारी, निमा घ्याम्जो बल, धनबहादुर याक्खा, सुबोधचन्द्र दास, रमेश श्रेष्ठ र नारदमणि हार्तुम्छाली छन्। संस्कृतिमन्त्री भीमप्रसाद आचार्यको संयोजकत्वमा रहेका तीन अलग-अलग सिफारिस समितिको सिफारिसलाई प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्रीले स्वीकृति दिएपछि नियुक्ति हुने व्यवस्था छ।

स्वीकृत नामावली सत्तारूढ कांग्रेस र एमालेबीचको बाँडफाँडपछि तय भएको हो भने मुख्य प्रतिपक्षी एमाओवादीलाइ चित्त बुझाउने प्रयास पनि भएको छ ।