प्रगतिशील साहित्यकारहरुको साझा संगठन प्रगतिशील लेखक संघको नवौं राष्ट्रिय सम्मेलनले कवि तथा समालोचक अमर गिरीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । राजधानीमा शुक्रबारदेखि दुई दिनसम्म चलेको सम्मेलनले ९१ सदस्यीय राष्ट्रिय परिषद् र ४५ सदस्यीय केन्द्रीय समिति समेत चुनेको हो ।संघका उपाध्यक्षमा मातृका पोखरेल, गोपाल ठाकुर, सत्य पहाडी, शशिधर भण्डारी र हीरामणि दुःखी चुनिएका छन् । महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः मित्रलाल पंज्ञानी, आरएम डंगोल र विष्णु भण्डारी निर्वाचित भए ।
केन्द्रीय सदस्यहरुमा डा. रविलाल अधिकारी, डा. कृष्णराज अधिकारी, केशव सिलवाल, डा. नेत्र एटम, अर्जुन खालिङ, निमेश निखिल, तेजविलास अधिकारी, लक्ष्मी माली, विन्दा मैनाली लगायत चुनिएका छन् । त्यसैगरी राष्ट्रिय परिषद् सदस्यमा राजकुमार राई, डीडी अधिकारी, डा. यदुनन्दन उपाध्याय, वन्दना ढकाल, विभूति भट्टराई, मुरारि पराजुली, प्रमोद धिताल, विष्णु ज्ञवाली, चिरन पुन लगायत चुनिए ।
शनिबारै बसेको नवनिर्वाचित राष्ट्रिय परिषद्को बैठकले १५ सदस्यीय सचिवालय गठन गरेको छ । सचिवालयमा पदाधिकारीसहित चन्द्रा थानी, जयन्ती स्पन्दन, सङ्गीतश्रोता, पुण्य गौतम विश्वास, विजयराज आचार्य रहेका छन् । अध्यक्षमा निर्वाचित भएपछि बोल्दै नवनिर्वाचित अध्यक्ष अमर गिरीले आफ्नो कार्यकालमा प्रकाशन, प्रशिक्षण र अन्तक्रिर्यात्मक कार्यक्रमहरु गर्ने र संस्थालाई बलियो बनाउन प्रयत्न गर्ने दाबी गरे । उनले भने, ‘प्रगतिशील लेखक संघका अगाडि थुप्रै चुनौतीहरु खडा छन्, तिनलाई चिर्दै हामीले साहित्यका क्षेत्रमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने अवस्था छ ।’ गिरी यसअघि संघमा महासचिव र सल्लाहकार रहिसकेका हुन् ।संघले नवौं सम्मेलनका अवसरमा मोहनविक्रम सिंह, हरिबहादुर श्रेष्ठ, चैतन्य, निनु चापागाईं र प्रदीप नेपाललाई वरिष्ठ स्रष्टा सम्मान प्रदान गरेको थियो । सम्मानित स्रष्टालाई प्रमुख अतिथि तथा संघका पूर्वअध्यक्ष आनन्ददेव भट्टले सम्मानपत्र प्रदान गरेका थिए ।
तीन-तीन वर्षमा हुने राष्ट्रिय सम्मेलन अघिल्लो वर्ष संघका अध्यक्ष घनश्याम ढकालको निधन भएपछि एक वर्ष ढिला गरेर भएको हो । सम्मेलनमा देशभरिका चार सय जना लेखकहरुमो सहभागिता रहेको थियो ।श्यामप्रसाद शर्माको अगुवाइमा २००९ सालमा वीरगञ्जमा स्थापित प्रगतिशील लेखक संघ नेपालका सबै वामपन्थी र प्रगतिशील लेखकहरुको साझा संस्था हो ।