पेटमा झुन्डिएको मुटु

सामान्य मानिसको मुटु कहाँनेर हुन्छ, सबैलाई थाहा छ । अनि, मुटु बाहिर देखिंदैन यो पनि सबैलाई जानकारी छ । तर, चीनका २४ वर्षीय झिलियांगको मुटु छातीमा नभएर पेटमा छ । अनि, उनको मुटु पेटमा बाहिरै धड्किरहेको देखिन्छ ।

सामान्य मानिसको मुटु धड्किएको चाल मात्र पाइन्छ । तर, झिलियांगको मुटु हुनुपर्ने ठाउँमा त छैन नै, पेटमा भएको मुटु धड्किएको पनि बाहिरै देखिन्छ ।

heart misplacedझिलियांगमा ‘कोनजेनिटल कार्डियक एक्सपोजर सिन्ड्रोम’ नामक रोगका कारण यस्तो भएको हो । यस रोगबाट पीडित ९० प्रतिशत व्यक्ति जीवित रहन सक्दैनन् । तर, झिलियांग ती १० प्रतिशत व्यक्तिहरु मध्येका एक हुन्, जो जीवित रहेर मुस्किलमा बाँचिरहेका छन् ।

झिलियांगका बाबुआमालाई विश्वासै थिएन कि उनी यति लामो समय बाँच्न सक्छन् । तर, अब भने उनलाई सफल शल्यक्रियाको जरुरी छ ।

केही समयअघि झिलियांगले एक समाचार पढे, जसमा उनको जस्तै समस्या भएका एक व्यक्तिले शल्यक्रियापछि स्वस्थ्य जीवनयापन गरेका खबर थियो र ती व्यक्तिको मुटु पनि पुरानै अवस्थामा फर्किएको समाचारमा जनाइएको थियो ।

उक्त समाचार पढेपछि झिलियांगले आफ्नो कपाल काट्ने पेशा त्यागे र उनी ‘वुहान’ आए । वुहान आएर उनले चिकित्सकलाई सम्पर्क गरे । चिकित्सकले अहिले झिलियांगको उक्त समस्यालाई शल्यक्रिया मार्फत समाधान गर्ने तयारी गरेका ‘डेली मेल’ले जनाएको छ ।