बितेको पाँच वर्षमा बैदेशिक रोजगारीको शिलशिलामा २० लाख भन्दा बढी युवाहरु विदेश पलायन भएका छन| विदेशिने युवाहरुको संख्या प्रत्येक बर्ष बढिरहेकोले सरकारले केहि बर्ष यता ल्याएको युवा केन्द्रित स्वरोजगारका विभिन्न कार्यक्रम समेत प्रभावकारी नभएको देखिएको छ| यो तथ्यांकले आन्तरिक बजारमा रोजगारीको चरम अभाव रहेको पुष्टि गरेको छ|
सरकारी अनुमति लिएरै बिदेसिने पाँच वर्षमा २० लाख नाघेका छन्| यसबाहेक अवैध तरिकाबाट रोजगारीको खोजीमा मुलुक छाड्नेको संख्या पनि ठूलो रहने गरेको छ| सरकारको स्वीकृति नलिई वैदेशिक रोजगारीमा जानेको वास्तविक तथ्यांक छैन|
वैदेशिक रोजगार विभागले दिएको जानकारीअनुसार पाँच वर्षयता बिदेसिनेमा पुरुष र महिला दुवै बढेका छन्| तथ्यांकले रोजगारीको खोजीमा विदेश जाने महिलाको संख्या बढ्दो भए पनि पुरुषको तुलनामा भने संख्या नगन्य नै छ| गएको पाँच वर्षमा सरकारी अनुमति लिएर २० लाख ६ हजार एक सय ८७ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् भने महिलाको संख्या एक लाख तीन सय २६ जनामात्र छन्|
वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०६६/६७ मा दुई लाख ८४ हाजर ३८ जना पुरुष र १० हजार महिला कामदार वैदेशिक रोजगारीमा गएका थिए| यो संख्या २०७०/७१ मा आइपुग्दा ह्वात्तै बढेको देखिएको छ|
आव २०७०/७१ मा चार लाख ९२ हजार सात सय २४ जना पुरुष र २९ हजार एक सय ५४ जना महिला कामदार बिदेसिएको सरकारको तथ्यांक छ| अहिले सबैभन्दा धेरै नेपाली कामदार मलेसियामा छन्| मलेसियामा करिब सात लाख नेपाली रहेका छन्| त्यसपछि कतार, संयुक्त अरब इमिरेट्सलगायतका खाडी मुलुकमा जाने बढी छन्| सरकारी अनुमति लिएर जानेको संख्या अहिलेसम्म ३५ लाख नाघेको छ|
कामको खोजीमा युवा बिदेसिने क्रम बढे पनि नेपालले दक्ष कामदार भने पठाउन सकेको छैन| बिदेसिने ८० प्रतिशत कामदार अदक्ष रहेका छन्| दुई प्रतिशत हाराहारीमा मात्र दक्ष कामदार बिदेसिने गर्छन्|
विदेसिनेमा अधिकांश ग्रामीण क्षेत्रका अशिक्षित युवा भएकाले उनीहरूले न्यून तलबमा जोखिमपूर्ण काम गर्नुपरेको हो| चुनौतीपूर्ण काम गर्नुपरेकाले कामका क्रममा मृत्यु हुनेको संख्या पनि बढ्दो क्रममा छ| हाल सरदरमा दैनिक चारवटा लास नेपाल आउने गरेको छ| अंगभंग हुनेको संख्या पनि दैनिक औसतमा चारदेखि पाँचवटा छ|