परराष्ट्रमा महिला कर्मचारीको अरब फोबिया

निजामती प्रशासनको परराष्ट्र सेवामा अधिकृतको बिज्ञापनमा चार वर्षअघि पुरुष भन्दा धेरै महिलाले नाम निकालेर धेरैलाई चकित बनाएका थिए। तर अहिले विभिन्न नियोगहरुमा पोष्टिङको समयमा भने महिलाहरुको रुवाबासी चलेको छ।

पर्याप्त महिलाहरु भएपछि अब पोष्टिङको क्रममा परराष्ट्र मन्त्रालयले मुस्लिम देशहरुमा पनि महिललाई खटाउन थालेको छ। मुस्लिम देशमा काम गर्न निकै गाह्रो हुने भएकाले परराष्ट्र मन्त्रालयमा कार्यरत महिला अधिकृतहरुको चिन्ता बढेको छ। साउदी लगायतका कतिपय मुस्लिम देशहरुमा त अन्य मुलुकका राजदूतावासमा काम गर्ने महिलाहरुले समेत बुर्का लगाउनुपर्ने बाध्यात्मक नियम छ। त्यसकारण महिला कर्मचारीहरुका लागि ती अवसर भन्दा यातना बन्ने गरेको छ।

Foreign Ministry of Nepalशाखा अधिकृत रंजिता दाहाललाई हालै मन्त्रालयले मुस्लिम मुलुक कुवेतमा खटाएको छ। तर उनले आफूले त्यहा गएर काम गर्न नसक्ने भन्दै परराष्ट्रसचिव शंकर बैरागी तथा मन्त्री महेन्द्र पाण्डेसँग गुनासो गर्दै अन्यत्र सरुवा गरिदिन आग्रह गरेकी छिन्। मुस्लिम संस्कृतीमा महिलाहरुको लागि कठिन हुने भएकाले यसअघि पुरुषहरुलाई मात्र खटाउँदै आएको थियो।

उता परराष्ट्र मन्त्रालयको माथिल्लो तहमा पनि गुटबन्दी बढेको छ। भर्खर नियोगबाट फर्किएका सहसचिवहरुलाई राजदूत बनाएर पठाउने कि नपठाउने भन्ने विषयलाई लिएर सहसचिवहरुको दुई गुट खडा भएको स्रोत बताउँछ।

मन्त्रालयका सबैभन्दा सिनियर सहसचिव खगराज अधिकारी हुन्। जो दुई वर्षसम्म नयाँ दिल्लीमा कार्यवाहक राजदूतका रुपमा काम महिना दिनअघि मात्र फर्किएका हुन्। भर्खर फर्किएका व्यक्तिलाई फेरी राजदूत बनाएर पठाउदा अन्य कर्मचारीले भने अवसर नपाउने भएकाले एक थरी कर्मचारीहरु त्यसको विरोधमा लागेका हुन्। भर्खरै नियोगमा बसेर फर्किएकाहरुलाई राजदूत बनाउन नहुने भन्दै कालिप्रसाद पोखरेल लगायतका सहसचिव लागेका छन्। तर हालै डेनमार्कबाट फर्किएका सहसचिव प्रकाश सुवेदीको समूह भने ‘सिनियर मोष्ट’ सहसचिवलाई नै राजदूत नियुक्तिमा प्राथमिकता दिनुपर्ने पक्षमा छन्। राजदूत पद राजनीतिक नियुक्ति जस्तो भएकाले मन्त्रालयमा बसेको वा नियोगमा बसेको तुलना गर्न नुहने उनीहरुको तर्क छ। सरकारले मापदण्ड बनाई राजदूत नियुक्तिको तयारी थाल्दा परराष्ट्रका कर्मचारीहरु दुई गुटमा विभाजित भएका हुन्।

सरकारले राजदूत नियुत्तिमा परराष्ट्रका ६ सहसचिवले अवसर पाउने सम्भावना छ। जसमा बरिष्ठताको आधारमा खगनाथ अधिकारी, दीपक धिताल, अम्बिका लुईटेल, सेवा अधिकारी, कालिप्रसाद पोखरेल, अर्जुनकान्त मैनाली, अमृत राई अगाडि छन्। राजदूत नियुक्तिका लागि मन्त्री महेन्द्र पाण्डेले गृहकार्य सुरु भइसकेको भाषण गर्दै हिँडीरहेका छन् ।