ओस्कारको ‘उत्कृष्ट विदेशी भाषी चलचित्र’ मा छानिनका निम्ति नेपाली चलचित्रहरूले प्रयास गर्ने भएका छन् ।
नेपालको विदेशी भाषी चलचित्र छनोट समितिले ओस्कार चलचित्र फेस्टिभलमा पुग्न इच्छुक चारवटै चलचित्रलाई हेरेको छ। नेपालबाट चलचित्र सुनगाभा, साँघुरो, बधशाला र शिरिषको फूल ओस्कार यात्राको सूचीमा पर्न सफल भएका छन्। यी नेपालमा प्रदर्शन भैसकेका चलचित्र हुन्।
चलचित्र विकास बोर्डमा हेरिएका चलचित्रको हाल समीक्षात्मक टिप्पणी भैरहेको छनोट समितिका अध्यक्ष विमल पौडेलले जानकारी दिए । छनोट समितिमा अध्यक्ष पौडेलसहित लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, राजुविक्रम थापा र लोकेन्द्र पराजुली (कपील) छन्। नेपाली छनोट समितिले ओस्कार समितिलाई सोधेको जिज्ञासाको जवाफ आएपछि यही साता चारमध्ये एक चलचित्रलाई छनोट गरिने छ।
सिफारिस गरिएको चलचित्रलाई आउँदो असोज २५ गतेसम्म अमेरिकाको लस एञ्जल्समा पठाइसक्नु पर्नेछ। नेपालबाट प्रतिनिधित्व गर्ने भनी पठाइएको चलचित्र ओस्कारको मुख्य छनौट समितिमा पुग्नेछ। त्यहाँबाट पनि छनौट भएमा मात्र ओस्कारको विदेशी भाषी चलचित्र पुरस्कारको नोमिनेशनमा पर्नेछ। त्यस नोमीनेशन लिस्टबाट ‘उत्कृष्ट विदेशी भाषी चलचित्र’ चुनिन्छ ।