युरोपेली मुलुक नेदरल्याण्डसमा आयोजना गरिएको ‘एम्बेसी फेस्टिबल’ मा सहभागिता जनाउदै नेपाली दूतावास ब्रसेल्सले नेपाल प्रवर्द्वन गरेको छ । नेपाली कला संस्कृति झल्किने गीत र नृत्यका साथै मेलाका आगन्तुकलाई पर्यटन प्रवर्धनात्मक सामाग्री बाडेर महोत्वस मनाइएको हो । प्रत्येक वर्ष आयोजना गरिने महोत्सवमा नेपालले पहिलोपटक सहभागिता जनाएको हो ।
‘लाईफ आइ लाइव’ नामक सस्थाले शनिवार हेगमा आयोजना गरेको उक्त महोत्सवमा अष्ट्रेलिया, अमेरिका, फ्रान्स, चीन, भारत लगायत विश्वका ४३ मुलुक सहभागी थिए । कला संस्कृतिको आदानप्रदान एंव आपसी सम्वन्ध प्रगाड बनाउने मुख्य उद्वेश्यका साथ आयोजना गरिएको महोत्सवमा विदेशी कूटनीतिज्ञहरूका साथै हजारौले अवलोकन गरेका थिए ।
महोत्सवस्थलमा नेपालका लागि एक नेपाली मल्ड़प र तीन वटा स्टल रहेका थिए । नेपाली मल्ड़पमा नेपाली हस्तकलाका सामाग्री प्रदर्शन गर्नुका साथै आगन्तुकहरुलाई दूतावास प्रतिनिधिहरुले नेपालको पर्यटनबारेमा जानकारी गराउदै सम्वन्धित पर्चाहरु वितरण गरेका थिए । त्यसैगरि अन्य तीन स्टलमा नेपाली कपडा, खाना एंव नेपाली कला सस्कृति झल्किने अन्य बस्तुहरुको प्रदर्शनी एंव बिक्रीवितरण गरिएको थियो ।
महोत्सव स्थलको केन्द्रमा निर्माण गरिएको रंगमंचमा अन्य जस्तै नेपालले पनि सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेको थियो । नेपालको मौलिक पोशाकमा सजिएर नेदरल्याण्डस स्थित नेपाली कलाकारहरुले ‘रुम्जाटारको ढाकाटोपी..’,’जुन जस्तै झलल..’, ‘मै छोरी सलल..’ जस्ता गीतहरुमा निकै लोभलाग्दो तरिकाले प्रस्तुत गरिएको मारुनी, चुड्का र तीज नृत्यलाइ दर्शकहरुले निकै रुचिपूर्वक हेरेका थिए । कार्यक्रममा लाखे नाच र लोक दोहोरी पनि प्रस्तुत गरिएको थियो ।
विश्वका थुप्रै देशहरु सहभागी बृहत कार्यक्रममा हुने सहभागिता राष्ट्रको निम्ति उपयोगी हुने बताउदै नेपाली दूतावास बेल्जियमका कार्यवाहक राजदूत घनश्याम भण्डारीले भने ‘महोत्सवले नेपाली कला संस्कृति र पहिचान कायम राख्नु मद्दत पुगेको छ ।‘ युरोपियन युनियनमा रहेका मुलुकहरु मध्ये नेदरल्याण्डसबाट उल्लेख्य मात्रामा पर्यटकहरु नेपाल जाने गरेको बताउदै उनले थपे ‘पर्यटन प्रवर्द्वनमा समेत टेवा पुगेको छ ।‘
दूतावास बेल्जियमले नेपाल प्रवर्धनात्मक कार्यहरु गर्दै आइरहेको छ । महोत्वस सम्पन्न गर्नको लागि एनआरएनए नेदरल्याण्ड, अन्तर्राष्ट्रिय कलाकार समाज लगायत अन्य संघ सस्थाहरुले सहयोग गरेका थिए ।