संसार द्रुत गतिमा परिवर्तनशील छ । पछिल्लो दशकमा हाम्रो जीवनलार्इ प्रत्यक्ष असर गर्ने थुप्रै आविष्कार भएका छन् । जस्तो की, ठूला कम्प्युटर पकेट साइजमा बनेका छन्, कागजी खातको ठाउँ इलेक्ट्रोनीक मिडियाले‚ टेलिफोनको ठाउँ मोवाइल फोनले‚ ठूला टी.भी.को ठाउँ एल.सी.डी/एल.र्इ.डी. मोनीटरले‚ कंक्रीड भवनको ठाउँमा सीसाका महल र पत्रको ठाउँ इमेलले लिएको छ । इन्टरनेटको बहुआयामीक विकाससँगै फेसबुक‚ यु-ट्युब‚ स्काइप‚ वाइ-फाइ‚ मेमोरी स्टीक जस्ता आविष्कारले हाम्रो दैनिक जीवनलार्इ बदलिदिएको छ । यस अतिरिक्त डिजिटल क्यामेरा‚ जि.पी.एस. उपकरण‚ आइ-फोन लगायतका स्मार्ट फोनले पनि हाम्रो जीवन पद्धतिमा ठूलो प्रभाव पारेको छ ।
हामीले धेरै पाएका छौं । त्यसमाथि‚ वैज्ञानिक र अनुसन्धानकर्ताहरू अरू थुप्रै आविष्कारका निम्ति दिलोज्यानले लागी परेका छन् । निकट भविष्यका संभावित आविष्कार र नौला पद्धतिबारे यहाँ चर्चा गरिन्छ ।
७. खाना चक्की- बढ्दो जनसंख्याको पेट भर्न जमीनको उत्पादकत्व बढाउनुपर्ने र मासुको माग बढीरहेको छ । अर्कोतर्फ, खाना पकाउने कामको भारबाट मुक्ती पनि चाहिएको छ । यी मानव चाहनाको समाधानका रूपमा खोजी भैरहेको छ- ‘पौष्टिक खाना चक्की’ को ।
यस्तो ट्याबलेट वा क्याप्सुल बनोस् जसमा एक स्वस्थ मान्छेको आवस्यकतानुसार पौष्टिक तत्त्व होस् । यस्तो ‘खाना चक्की’ निलेपछि खाना-नास्ताको झन्झट रहँदैन तर मानव शरिरलार्इ आवस्यक शक्तिदायक प्रोटीन, कार्बोहाइड्रेट, भिटामीन, खनिज पदार्थ आदी मिल्छ ।
हालसम्म प्रयोगमा आएका खानाको सट्टाका चक्कीले प्रतिगोटा ९ क्यालोरी शक्ति दिन्छ । एक जना मान्छेलार्इ औसत प्रतिदिन २००० क्यालोरी आवस्यक हुन्छ । त्यस हिसाबले, आजसम्मको रचनामा सयौं बेस्वादका चक्की खानुपर्नेसम्मको प्रगति भएको छ ।
६. स्वचालित कार- यात्रामा खान, पिउन, लेख्न, फोनमा कुरा गर्न, खेल्न होस् वा मेक-अप गर्न होस्, स्वचालित कार भए कति सजिलो हुन्थ्यो ?
आश्चर्यजनकरूपमा, सूचना प्रविधिको हस्ती गुगलका वैज्ञानिकहरू गुगल नक्सा र विशेष सफ्टवेयरको भरोसामा यान्त्रीक सफर गर्ने प्रविधिको विकास गर्दैछन् । हिजोआज, गुगलले स्वचालित कारको परीक्षात्मक प्रयोग गरिरहेको समाचार सार्वजनिक भइरहेका छन् ।
५. एयर-कण्डीसन ड्रेस- ज्यादा जाडो भयो वा उग्र गर्मी भने वातानुकुलित कोठामा बसेर सुविधा लिन सकिन्छ । कस्तो होला ? न जाडो न गर्मी हुने काइदाको पोशाक लगाउन पाए ! हिउँ होस् वा चरा खस्ने गर्मी, एयर-कण्डीसन जोडिएको पोशाक लगाएर घरबाहिर आनन्दले हिंड्न पाए क्या मज्जा आउँथ्यो !
करिब १० वर्ष अगाडि नै जापानमा यस्तो ज्याकेट बनाइएको थियो जसभित्र सानो खालका पङ्खाहरू राखिएका थिए र त्यस्तो ज्याकेट कम्प्युटरको यु.एस.बी. मा जोडेपछि सक्रिय बन्थ्यो । त्यसअघि, ज्याकेटमा पानीका साना साना पोका राखेर रासायनिक प्रतिक्रियाबाट शितल रहीरहने बनाइएको थियो । तर यस्ता ज्याकेट लोकप्रिय हुन सकेका छैनन् । रूचिकर वातानुकुलित पोशाकको खोजी जारी छ ।
४. उड्ने कार– कार र जहाजको समिश्रण अर्थात रोडमा गुड्ने जहाज (जसमा उड्ने ‘विकल्प’ हुन्छ) को मानव सपना झण्डै शताब्दी पुरानो हो । थुप्रै साइन्स-फिक्सन र फिल्महरूमा उड्ने कारका परिकल्पना गरिएका छन् । प्रति-गुरूत्त्वाकर्षण प्रविधिको रूपान्तरण गरी उड्ने कार बनाउने गहन अनुसन्धान भइरहेको छ । बितेको १५ बर्षमा नासा लगायतका संस्थाहरूले प्रति-गुरूत्त्वाकर्षणको संभावित योजनाहरूमा केही सफलता प्राप्त गरेका छन् । तैपनि‚ कार उडानको मानव चाहना अझैसम्म मानवीय प्रविधिको पहुँच बनिसकेको छैन ।
३. समुद्रमुनिको सहर- प्राचीन ग्रीसमा अटलान्टीस सहर समुद्रमुनि धसीएको कथा छ। तर अब समुद्रमुनि सहर बनाउने प्रयास शुरू भएको छ । हुन त समुद्रभित्र जलमग्न सहर बसाइ हाल्नु पर्ने मानवीय बाध्यता भइसकेको छैन । तैपनि यस्तो उत्साह शुरूभएको आधा शताब्दी भैसकेको छ ।
फ्रान्सका समुद्री कालिगढ ज्याक इभ कुस्तोले १९५० को दशकमा समुद्रभित्रको फोटोग्राफी‚ टेलिभिजन क्यामेराको प्रयोग र सामुद्रीक जीवनबारे थुप्रै अध्ययन र आविष्कार गरे । कुस्तो र यु.एस. जलसेनाले गरेका अध्ययनले मानव पानीमुनि बसार्इं गर्न सक्ने र काम गर्न सक्ने जनाएका छन् ।
दुबर्इको समुद्री क्षेत्रमा पानीमुनि ‘हाइड्रोपोलिस’ नामक आरामदायी होटलको निर्माण गर्ने योजना सार्वजनिक भैसकेको छ । जुन समुद्रको २० मीटर गहिरार्इको सतहमा बनाउने मानचित्र बनाइएको छ ।
२. नोकर रोबोट- यन्त्र-मानव अर्थात रोबोटको प्रयोग धेरै क्षेत्रमा हुँदै आएको छ । अहिलेको ठूलो चाख हो- कहिले बन्ला घरायसी काम गर्ने नोकर रोबोट ! यसैकारण जापानको अर्न्तराष्ट्रिय खाद्य मेशीनरी र प्रविधि प्रदर्शनीमा हरेक वर्ष कम्पनीहरूको भीड लाग्छ । घरायसी कसीङ्गर बढार्नेदेखि तलाउ सफा गर्ने सम्मका रोबोटहरू बनीसकेका भए पनि शौखीन मान्छेहरू चर्पी सफा गर्ने‚ रोटी बनाउने र मालिकको चाकरी गर्ने रोबोट माग गरिरहेका छन् ।
१. मंगलमा मान्छे- चन्द्रमामा मान्छेले पाइला टेकेको ४२ वर्ष पुरा भैसकेको छ । त्यसपछि अमेरीकी र रूसी अन्तरिक्ष अभियानको गन्तव्य रातो ग्रह मंगल बनेको छ । जर्मन-अमेरिकन रकेट वैज्ञानिक डा. वेर्नहर भोन ब्राउनले सन् १९४६ मा नै ‘मंगल योजना’ को खाका बनाएका हुन् जसमा अन्तरिक्ष यात्रीहरूको मंगल यात्राबारे महत्वाकांक्षी अभीष्ट तर्जुमा गरिएको थियो ।
हालसम्म मंगलमा पठाइएका रूसी‚ अमेरिकी र युरोपेली यानहरूमा रोबोटको प्रयोग गरिएको छ । खासमा, युरोपेली स्पेस एजेन्सी र अमेरिकी अन्तरिक्ष कम्पनी नासाले मंगलमा मानव उतार्ने लक्ष्य राखी अन्वेषण र अध्ययन गरिरहेका छन् ।